पछिल्लो ३ दिनमा हवाईमार्ग हुँदै विदेशिने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।
कोभिड १९ संक्रमणको दोस्रोे लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज बिहीबार राति १२ बजे देखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुको चाप बढेको हो ।
पछिल्ला दुई दिनमा यात्रुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्रो मुलुक उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो ।
सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थित विदेशी दूतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर टेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तीमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुको चाप बढेको बताइएको छ ।
उडान रोकिएपछि विदेशमा रहेका नेपाली स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीले पनि निर्धारित उडान अघि सारेको बताए । कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिक आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्ति विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौं । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसँग छ ।’ तर, विद्यार्थी, कामदार र अरु व्यावसायिक मान्छेहरु कति आवतजावत गर्छन भन्ने डाटा भने राख्ने नगरिएको उनको भनाइ छ ।
‘वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि समग्रमा यात्रुको आवागमन घटेको देखिन्छ,’उनले भने, ‘केही दिनसम्म यात्रुको आवागमन घटेको थियो ।’ पछिल्ला दिनमा यात्रुको चाप बढेपछि विभिन्न एयरलाइन्सले अतिरिक्त उडान गरेको सुन्नमा आएको छ ।’
भट्टराईका अनुसार बिहीबार राति १२ बजेभन्दा अगावै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने जहाज भोलि बिहानसम्म २ वटासम्म आउनेछन् ।
हवाईमार्गबाट वैैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छाडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् ।
२० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना, १८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुँदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना, १८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिए ।
यात्रुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी, अन्य एयरलाइन्सले पनि उडान थप गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।