कोरोनासँग जुध्न निजी क्षेत्रको साथ खोज्दै प्रशासन

कोरोना भाइरस संक्रमणको नियन्त्रण गर्न मकवानपुर प्रशासन निजी क्षेत्रको साथ खोजेको छ । सरकारी स्वास्थ्य संस्थाले नधान्ने भएपछि प्रशासन धमाधम निजी क्षेत्रलाई समेटेर कोरोनासँग जुध्न खोजिरहेको छ ।

जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका-११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको डिसिसिएमसीको बैठकले उक्त अस्पतालमा आइसियु सहितको २५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले कोरोना संक्रमित बिरामीहरुको उपचारमा खटिरहेको जिल्लाको एक मात्र अस्पताल हेटौंडा अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन तत्काल हेटौंडा उपमहानगरपालिकालाई स्वास्थ्यकर्मीहरु नियुक्त गरी काजमा खटाउने निर्णय गरेको छ ।

शिवमबाट ४२ थान अक्सिजन फिर्ता 

शिवम् सिमेन्टले उद्योगसँग भएको ४२ थान ठूलो अक्सिजन सिलिन्डर फिर्ता गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई शिवम् सिमेन्टले उद्योगसँग भएको ४२ थान अक्सिजन सिलिन्डर फिर्ता गरेको प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

यस्तै जिल्लामा रहेका सबै उद्योगहरूसँग भएको अक्सिजन सिलिन्डर फिर्ता गर्न प्रशासनले अनुरोध गरेको छ । अहिले उद्योगसँग भएको सिलिन्डरको विवरण संकलन भइरहेको उनले बताए । उद्योग संघ मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरले अक्सिजन लगत संकलन गरिरहेको छ । 



अब उद्योग संघले मकवानपुरले उद्योगहरूबाट संकलित सिलिन्डरहरू भरेर एकीकृत अक्सिजन बैंक सञ्चालनमा ल्याउनेछ । यसैबीच शिवम् सिमेन्टले दिएको ४२ थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पतालाई हस्तान्तरण गरिने भएको छ ।



  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १७:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया