होटल मेरियटमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र विष्णु पौडेलबीच एक घण्टा लामो वार्ता
नेता पाण्डे भन्छन् : कुराकानीको सुरुवात भएको छ, आशा गरौँ

सत्तारुढ नेकपा एमालेको विवाद निर्णायक मोडतर्फ अघि बढिरहेका बेला दोस्रो तहका नेताहरु संवादमा जुटेका छन्।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद एकअर्कालाई समाप्त गर्ने दिशामा अघि बढिरहेका बेला बिहीबार साँझ तीन नेताबीच एक घण्टा लामो गोप्य वार्ता भएको छ।

काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा एमालेका असन्तुष्ट माधव नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र ओलीनिकट नेता विष्णुप्रसाद पौडेलबीच वार्ता भएको हो। 

एमालेमा विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईसहित पार्टीलाई कुनै पनि हालतमा विभाजनमा जान नदिने अडानमा छन्। त्यही अनुसार यी नेताहरु संवादमा जुटिरहेका छन्।

याक एन्ड यतिमा तीन नेता

होटल मेरियटमा भएको वार्ताअघि होटल याक एन्ड यतिमा एमालेका दुई पक्षका तीन नेताबीच भेटवार्ता भएको थियो। त्यहाँ विष्णु पौडेल, योगेश भट्टराई र घनश्याम भुसालबीच करिब २ घण्टा वार्ता भएको खुलेको छ। 



मध्यान्ह ​साढे १२ बजेदेखि साढे २ सम्म याक एन्ड यतिमा तीन नेताबीच वार्ता भएको हो। त्यहाँको वार्तापछि नेताहरु साँझ नाग पोखरीको होटल मेरियटमा पुगेका थिए। याक एन्ड यतिमा नेता योगेश भट्टराईले पौडेललाई एमाले बचाएर लैजानुपर्ने बताउँदै निर्णायक भूमिका खेल्न आग्रह गरेका थिए। 

वार्ताको शिलान्यास भयो : पाण्डे



त्यसपछि होटल मेरियटमा सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र विष्णु पौडेल वार्ताका लागि जुटेका थिए। नेताहरुबीचको वार्ताबारे प्रतिक्रिया दिँदै नेता पाण्डेले कुराकानीको शिलान्यास भएको बताए।

'हामीबीच करिब एक घण्टा लामो वार्ता भएको छ', उनले फरकधारसँग भने, 'यसलाई हामीले कुराकानीको शिलान्यास भनेका छौँ। अहिलेलाई राम्रो नराम्रो केही नभनौँ तर शिलान्यास अर्थात् सुरुवात भएको छ। हामी छलफलमै छौँ।'

नेता पाण्डेले अहिले भएको कुराकानीले तत्कालै निचोड दिन सक्नेबारे केही भनेनन्। 'कुराकानी खुला रुपमा भएको छ। तर वैशाख २७ अघि नै सबै कुराको निचोड आउँछ भन्‍ने छैन', उनले भने, 'तर केही राम्रो हुने विश्वाससहित हामी छलफलमा जुटेका छौं। तपाईंलाई यति भनौँ अहिले हामीबीच संवाद सुरुवात भएको छ।'

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि दुई पक्षबीच संवाद बढिरहेका बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ। 

सरकारले जारी गरेको निषेधाज्ञाबीच तीन नेताहरुले वैशाख ७ मा र ९ मा ओली-नेपाल वार्ता भएकै होटलमा पुगेर करिब एक घण्टा वार्ता गरेका हुन्। ओलीको स्पष्टीकरण सामना गरिरहे पनि पछिल्लो समय नेता भुसाल र पाण्डे पार्टी विभाजन गरेर जाने पक्षमा छैनन्।

यता एमालेमा राम्रो प्रभाव पारिरहेका पौडेल पनि दोस्रो तहका नेताहरुसँग निरन्तर छलफलमा छन्। पौडेलले ओलीलाई नेता नेपालसँग वार्तालाई निरन्तरता दिएर सहमति खोज्न भन्दै आएका छन्। 

बुधबार मात्रै नेता पाण्डेले वैशाख २७ गते ओलीलाई आफूहरुले विश्वासको मत दिने बताएका थिए। 'हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। अरु के भन्छन् तर हामी सबैले विश्वासको मत हाल्छौँ', उनले भनेका थिए, 'वैशाख २७ अघि हामी सामूहिक राजीनामा दिँदैनौँ। विश्वासको मत दिन्छौँ भनेपछि हामीले राजीनामा दिने कुरा हुँदै भएन।'

उनले नेपाल पक्षमा रहेका सबै सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका थिए। नेता भुसालले पनि एमाले विभाजन गरेर अर्को पार्टी निर्माणको कदम नेपाली कम्युनिष्ट आन्दोलनकै लागि सबैभन्दा घातक हुने बताउँदै आएका छन्। उनले पनि एमाले मिल्न सक्ने सबै उपायमा ओली-नेपाल कुरा हुनुपर्ने मत राख्दै आएका छन्। 

बुधबार मात्रै नेपाल पक्षका एकजना नेता योगेश भट्टराईले एमाले महासचिव ईश्वर पोखरेललाई सिंहदरबार पुगेर भेटेका थिए। सिन्धुलीका सांसद गणेश पहाडीसहित पुगेका उनले पोखरेललाई एमाले विभाजनको डिलमा पुगिसकेकाले निर्णायक पहल चाहिएको बताएका थिए। 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १९:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया