ओलीसँग मिल्न जेठ २ मा फर्किनेसहित माधव नेपालका ६ शर्त, राष्ट्रपतिसँग छलफल
ओलीलाई विश्वासको मत दिन तयार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न ६ वटा शर्त अघि सारेका छन्। प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भएपछि एमालेमा ओली पक्षले नेपाल समूहसँग संवाद तीव्र बनाइरहेको छ।

बिहीबार साँझ वरिष्ठ नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै गर्दा नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल होटल मेरियटमा वार्ता गरिरहेका थिए। तीन नेताबीच होटल मेरियटमा एक घण्टा लामो वार्ताकै आसपासमा वरिष्ठ नेता नेपाल बूढानीलकण्ठबाट शीतल निवास पुगेका छन्। 

हिजै बसेको एमाले स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए। त्यहाँ करिब एक घण्टा छलफल गरेपछि ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका थिए।

माधवका शर्त 

ओलीसँगको छलफलपछि राष्ट्रपतिले वरिष्ठ नेता नेपाललाई शीतल निवास बोलाएकी थिइन्। प्रतिपक्षी नेतासँगको छलफलपछि शीतल निवास पुगेका नेता नेपालले ओलीसँग मिल्न विभिन्‍न ६ शर्त अघि सारेको उनीनिकट स्रोतले बताएको छ।

उनका एकजना सहयोगीका अनुसार नेता नेपालले ओलीलाई वैशाख २७ मा विश्वासको मत दिने तर पार्टी एकता बचाइराख्न आफ्ना ६ सर्तमाथि छलफल गरेर सहमति खोज्नुपर्ने अडान राखेका छन्। 



नेता नेपालले आफूनिकट नेता र सहयोगीहरुसँग चर्चामा ल्याएका ती ६ सर्तबारे शीतल निवासमा पनि कुरा राख्ने गरी पुगेको बताइएको छ। यसअघि अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिलाई एमालेको विवाद अन्त्यका लागि १२ बुँदे प्रस्ताव पेश गरेका थिए।

यस्ता छन् शर्त 



माधव नेपालले पहिलो सर्तका रुपमा २०७७ फागुन २८ गते बालुवाटारमा एमाले अध्यक्ष ओलीले राखेको केन्द्रीय कमिटी बैठकले नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारीको जिम्मेवारी खोस्ने सहितका निर्णय खारेज गर्नुपर्ने अडान राखेका छन्। त्यसो भएमा २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसला अनुसार एमाले २०७५ जेठ २ मा पुग्ने उनको निचोड छ 

ओली यो कुरामा तयार भएमा नेता नेपालले वैशाख २७ मा विश्वासको मत दिने प्रतिवद्धता जनाएका छन्। त्यसपछि नेता नेपालले २०७५ जेठ २ अनुसारको पार्टी कमिटी बैठक गरेर महाधिवेशन मिति तोक्नुपर्ने अडान राखेका छन्। 

अर्को सर्तका रुपमा उनले अहिले भइरहेका सबै तहका कमिटी दुवै पक्ष बसेर मिलाउने शर्त राखेका छन्। अहिले नेता नेपालले वडा तहसम्म समानान्तर कमिटी बनाइसकेका छन्। उनले त्यसका लागि ओली पक्षको संयोजक र नेपाल पक्षका सहसंयोजक बनाउने या यस्तै मोडेलको अर्को अभ्यास गर्न सकिने प्रस्ताव गरेका छन्। 

नेता नेपालले पाँचौ सर्तका रुपमा दुवै पक्ष बसेर सबै कमिटीको अधिवेशन मिति निर्धारण गर्ने प्रस्ताव अघि सारेका छन्। त्यस्तै छैटौँ सर्तका रुपमा उनले एमाले-माओवादी केन्द्र एकता र विघटनदेखि नेकपा खारेज भए यताको अवस्थाको विस्तृत अध्ययन गर्न केन्द्रीय कार्यदल बनाउनुपर्ने शर्त राखेका छन्। उनले त्यो कार्यदलको प्रतिवेदन १० औँ महाधिवेशनमा पेश गर्नुपर्ने कुरा राखेका छन्। 

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया