हेटौँडामा निषेधाज्ञा प्रभावकारी नभएको भन्दै प्रहरी प्रशासनको चर्को आलोचना भएपछि बिहीबारबाट प्रहरीले सक्रियता बढाएको छ ।
प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने सवारीसाधन र व्यवसायीलाई कारबाही थालेको छ । बिहीबार प्रहरीको चेकिङ टोलीले निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकल–स्कुटर ७३, अटो १८, ट्याक्सी ३ र सुमो १ गरी जम्मा ९५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालका अनुसार निषेधाज्ञामा अटेर गरी पसल सञ्चालन गर्ने ५ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको छ ।
मकवानपुरका ४ स्थानीय तहमा आइतबार राति १२ बजेबाट निषेधाज्ञा जारी छ । मकवानपुर प्रशासनले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले हेटौँडा उपमहानगरसहित थाहा नगरपालिका, भीमफेदी र मनहरी गाउँपालिकामा निषेधाज्ञा लगाएको छ । प्रहरीले हेटौँडा बजार प्रवेश गर्ने नाका हेटौँडा–५ क्याम्पाडाँडा, हेटौँडा–१ चौकीटोल, हेटौँडा–१० राप्तिपुल र हेटौँडा–४ कर्राका साथै बुद्धचोक, सीमाचोकमा पनि चेकजाँचमा कडाइ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।