प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच होटल मेरियटमा तेस्रो वार्ता हुने
दुई पक्षका तीन नेताबीच ब्रिफिङपछि यस्तो सहमति

नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भोलि (शुक्रबार) होटल मेरियटमा तेस्रो वार्ता हुने भएको छ।

प्रधानमन्त्रीले यही वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेपछि एमालेका दुइटा समूहबीचको गम्भीर छलफलपछि दुई नेता भेट्न लागेका हुन्। 

यसअघि वैशाख ७ र ९ गते नागपोखरीस्थित होटल मेरियटमै दुई नेताबीच भेटवार्ता भएको थियो। ती दुवै भेटमा मन माझामाझ भए पनि ओली-नेपालले सहमतिको विन्दु भेट्टाउन सकेका थिएनन्। 

ती वार्तामा नेपालले ओलीलाई २०७५ जेठ २ मा फर्किन भनेका थिए भने ओलीले नेपाललाई बिनाशर्त पार्टीमा फर्किन आग्रह गरेका थिए। त्यसपछि संवादहीन अवस्था उत्पन्‍न भएको अवस्थामा बुधबार साँझ दुई नेताबीच टेलिफोन संवाद भएको थियो।

ओलीले टेलिफोन गरेपछि अहिले दुवै समूहका दोस्रो तहका नेताले संवादलाई तीव्र बनाएका छन्। बुधबारै माधव पक्षीय नेता योगेश भट्टराईले एमाले महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्टाएका थिए। 



उनले उक्त भेटमा एमाले विभाजनको डिलमा पुगिसकेको बताउँदै शीर्ष नेतालाई सहमतिमा ल्याउने कामका लागि भूमिका खेल्न आग्रह गरेका थिए। नेता पोखरेलले पनि भट्टराईलाई पार्टी फुटबाट जोगाउने गरी अघि बढ्न भनेका थिए। 

ओली-नेपाल वार्ताको पूर्वतयारीकै क्रममा दोस्रो तहका नेताहरुबीच आज होटल मेरियटमा वार्ता भएको छ। ओली र वरिष्ठ नेता नेपालबीचको विवाद एकअर्कालाई समाप्त गर्ने दिशामा अघि बढिरहेका बेला बिहीबार साँझ तीन नेताबीच एक घण्टा लामो गोप्य वार्ता भएको छ। उक्त वार्तालाई ओली-नेपाल वार्ताको पूर्वतयारी भनिएको छ।



काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा एमालेका असन्तुष्ट माधव नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र ओलीनिकट नेता विष्णुप्रसाद पौडेलबीच वार्ता भएको हो। 

उक्त वार्तामा ओलीको तर्फबाट पौडेलले आफ्नो पोजिसनबारे ब्रिफिङ गरेका थिए। त्यस्तै नेता नेपालको तर्फबाट नेता पाण्डेले पोजिसनबारे ब्रिफिङ गरेका थिए। दुवै पक्षका दोस्रो तहका नेताहरुबीच एक घण्टा लामो वार्तापछि ओली-नेपाल फेरि मेरियटमा जुट्ने सहमति भएको हो।

वार्ताको शिलान्यास भयो : पाण्डे

तीन नेताबीचको वार्ताबारे प्रतिक्रिया दिँदै नेता पाण्डेले कुराकानीको 'शिलान्यास' भएको बताए। 'हामीबीच करिब एक घण्टा लामो वार्ता भएको छ', उनले फरकधारसँग भने, 'यसलाई हामीले कुराकानीको शिलान्यास भनेका छौँ। अहिलेलाई राम्रो नराम्रो केही नभनौँ तर शिलान्यास अर्थात् सुरुवात भएको छ। हामी छलफलमै छौँ।'

नेता पाण्डेले अहिले भएको कुराकानीले तत्कालै निचोड दिन सक्नेबारे केही भनेनन्। तर यसले फेरि ओली-नेपाल वार्ताको सम्भावनाको भने उनले संकेत गरे। 

'कुराकानी खुला रुपमा भएको छ। तर वैशाख २७ अघि नै सबै कुराको निचोड आउँछ भन्‍ने त लाग्दैन', उनले भने, 'तर केही राम्रो हुने विश्वाससहित हामी छलफलमा जुटेका छौं। तपाईंलाई यति भनौँ अहिले हामीबीच संवाद सुरुवात भएको छ। केही सकारात्मक परिणाम यसले दिन सक्छ।'

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि दुई पक्षबीच संवाद बढिरहेका बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ। यी तीन नेताको छलफलपछि ओली-नेपालले फेरि बसेर सहमतिका बिन्दु खोज्ने भएका हुन्। 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार २१:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया