कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्न बागमती कांग्रेसको माग

कोरोना संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीसहित सबैखाले महामारीका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्न संघीय र प्रदेश सरकारसँग माग गरेका हुन् । 

प्रदेशका विभिन्न स्वास्थ संस्थामा आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको भए पनि संघीय र प्रदेश सरकारमा चरम लापरवाही, असंवेदनशीलता र अकर्मण्यता देखिएको कांग्रेसको भनाइ छ ।

जनप्रतिनिधिसँग समन्वय गर्न संयन्त्र बनाऊ 

कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसियु बेड, अक्सिजन र भेन्टिलेटरलगायत स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधि र अन्य आवश्यक स्वास्थ्य सामग्रीको तत्काल समुचित व्यवस्था गर्न माग गरेको छ । 

उसले देशका सम्पूर्ण जिल्लामा कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितको पिसिआर परीक्षणलाई व्यापक बनाउन माग गरेको छ । कोरोना संक्रमण जोखिम न्यूनीकरण अभियान स्वास्थ्यकर्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले जनप्रतिनिधिसँग सहकार्यका लागि संयन्त्र तयार गर्न कांग्रेसले सुझाब दिएको छ । 

प्रदेशका विभिन्न नाकामा स्वास्थ जाँचका लागि हेल्थ डेस्क राखी परीक्षण र शंकास्पदलाई होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्न र प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न माग गर्दै स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीका लागि बिमा एवं जोखिम भत्ता तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । त्यस्तै, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न कांग्रेस बागमती प्रदेश संसदीय दलले माग गरेको छ ।



कोरोना कोषको प्रभावकारितामा जोड 

कोरोना जोखिम न्यूनीकरणका लागि प्रदेशमा रहेको विपद् व्यवस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवं उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने कांग्रेसको भनाइ छ । 



खोप आपूर्तिलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुको आपूर्ति र आवत–जावतलाई सहज हुनुपर्ने, विदेश जानेलाई आवश्यक पिसिआर परीक्षण गर्ने अस्पतालको संख्या बढाइनुपर्ने मागसमेत गरिएको छ । 

त्यस्तै, लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक वर्ग आर्थिक एवं सामाजिक समस्यामा परेको र खाली पेटले रोगसँग लड्न नसक्ने भएकाले दैनिक ज्यालादारी गर्ने श्रमिक र विपन्न सर्वसाधारणलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ । 

विज्ञप्तिमा साना, घरेलु एवं स्वरोजगारमूलक व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउनुपर्ने, मास्क अनिवार्य लगाउने, साबुन–पानीले हात धुने, भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुत गरिनुपर्नेमा कांग्रेसले जोड दिएको छ ।  

कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्यका लागि तत्पर रहेको अवगत गराउँदै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पूर्ण नेपालीलाई कोरोना भाइस र संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन अनुरोध गरेको छ । 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार २१:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया