हाम्रो गर्धनमा खुकुरी हान्न लागेको थाहा पाउँदा पाउँदै कसरी भोट हाल्ने ?
'ओलीले बोलाए सम्पूर्ण राष्ट्र एकढिक्का भएर कोरोनाको विरुद्ध लडौँ भन्थेँ'

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिएपछि आफैं विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओली हिजो आज सांसद जोड घटाउमै व्यस्त छन् । आगामी २७ गते विशेष अधिवेशनमार्फत विश्वासको मत लिने तयारी गरिरहँदा ओली आफ्नै पार्टीबाट मत पाउनेमा विश्वस्त छैनन् । उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि अन्य साना दलसँग सहयोगको याचना गरिरहेका छन् । 

ओलीले आफूहरुलाई असजिलो पार्दै गए, उनलाई पनि सहजै नछाड्ने नीति लिएर एमाले भित्रकै ओली इतर समूह अघि बढेको छ । २८ फागुनमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले बालुवाटारबाट गरेको निर्णय बदर गर्दै जेठ २ को अवस्थामा नफर्किए ओलीसँग मिल्ने सम्भावना बन्द भइसकेको नेताहरुले सार्वजनिक गरेका छन् । 

२७ गते नजिकिँदै जाँदा एमालेभित्र के के हुँदैछ ? नेपाल पक्ष कसरी अघि बढ्छ ? यस्तै विषयमा केन्द्रित रहेर नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सांसद विरोध खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

नेकपा एमाले विभाजन भएकै बुझ्ने त होला नि होइन ?

उहिल्यै भएको । अदालतले पुन:स्थापना गरेपछि २८ फागुनमा एकलौटी बैठक राखेर विभाजन त केपी कमरेडले उहिल्यै गरिसकेकै हुन् । 

ओली सरकार ढाल्न मोर्चाबन्दी पनि सुरु भइसकेको छ । उहाँ जेठ २ मा फर्कनेतिर देखिनुहुन्न । खास कुरा के हो ? 



हाम्रो आफ्नो सरकार हो, किन ढाल्नु र ? आफ्नो पार्टीको सरकार ढाल्ने भन्ने विषय नै आउँदैन नि । उहाँले मलाई तिमीहरूको भोट चाहिँदैन भनेर निष्काशन गर्ने निर्णय लिनुभयो भने त उहाँले आफैंले आफैंलाई ढालेको भइहाल्यो नि । हामीले ढालेको हुँदैन ।

ओली सरकार ढाल्नकै लागि सामूहिक राजीनामाको विषय उठेको छ नि ? 



बैठक बोलाएर केपी ओलीले भोट चाहियो भन्नुभयो भने आफ्नै पार्टीलाई भोट हाल्न परि गो । होइन, तिमीहरुलाई निष्काशन गर्छु भन्नु भयो भने त्यसपछि बिचार गरौंला । गर्दन थाप खुकुरी हान्छु भन्नुभयो भने गर्दन थापेर बसिरहने कुरा त आएन नि ।

यही अवस्थामा ओलीलाई विश्वासको मत दिन तपाईंहरु तयार हुनुहुन्छ ? 

सुरुमा त उहाँले विश्वासको मत नै माग्नुभएको छैन । हामीलाई थाहा नै छैन । बोलाउनुभएकै छैन । बरु, अरुको घरमा देउसी भैलो खेल्दै हिँड्नु भा छ । हिजो मात्रै शेरबहादुरजीको मा गएर देउसी भैलो खेल्नुभयो क्यारे । केही समय अगाडिदेखि महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउसी भैलो खेलिरहनु भएको छ । ‘भन भन भाइ हो भोट देऊ है’ भनेर । तर, पार्टी बैठक बोलाएर यस्तो अवस्था छ है भनेको त मलाई  थाहा छैन ।

सरकारलाई कुनै सहयोग नगरी ओली विरुद्धमा लाग्नुभयो भन्ने उहाँको आरोप छ नि ?

सहयोग भनेको त एक हातको ताली हैन होला नि । उहाँलाई हाम्रो आरोप पनि दर्ज गरिदिनुस् न भन्यो भने बैठक नै नबोलाउने, बोलाए पनि एकलौटी बोलाउने, मनपरि निर्णय गर्ने, निर्णय सुधार्नुस् भन्दा नमान्ने अनि तपाईं भन्नुहोस् त असहयोग उहाँले गर्नु भो कि हामीले ?

सर्वोच्चले फैसला गरेर एमाले पुन:स्थापित गर्‍यो । पुन:स्थापित एमालेको बैठक बसौंभन्दा नबसेर गुटको मात्र बैठक बस्ने । उहाँले के भन्नुभयो भन्दा पनि के गर्नुभयो भन्नेतिर हेरौं न । 

हिजो तपाईंकै समूहका नेता सुरेन्द्र पाण्डेले त प्रधानमन्त्रीलाई विश्वासको मत दिने भन्नुभयो । तपाईंहरु के गर्नुहुन्छ ? आधिकारिक निर्णय के हो ?

खै, अब त्यो बारेमा सुरेन्द्रजीलाई नै सोध्नुहोस् । म सबैको भारी बोकेर हिँड्न सक्दिन नि । आधिकारिक निर्णय केही भइसकेको छैन । अनेकौं विकल्पमा सल्लाह भइरहेको छ । २७ गते आउन धेरै बाँकी छ । अनेकौं प्रसंग आइरहेका छन् ।

आफ्नो पार्टी आफ्नो सरकारलाई जोगाएर भोट हाल्ने पहिलो प्राथमिकतामा हो । त्यो प्राथमिकतामा केपी ओलीले तिमीहरूको भोट मलाई चाहिँदैन, कांग्रेसको र फोरमको भोट भए पुग्छ भन्नुभएको छ, अहिलेसम्म । अब, होइन चाहिन्छ भन्नुभयो भने पहिलो कुरा विश्वासको मत दिने, आफ्नो सरकार र पार्टी जोगाउने भन्ने हो । 

त्यसो भए ओलीले आत्मालोचना गरेर तपाईंहरुलाई बोलाएर एकपटक छलफल गर्नुभयो भने विश्वासको मत सजिलै दिनुहुन्छ ?

अध्यक्ष उहाँ हो नि त । म अध्यक्ष होइन नत्र म बैठक बोलाउँथे । पार्टीका साथीहरुलाई एक ठाउँमा ल्याएर समस्याको हल गर्ने प्रयास गर्थें । कोरोनाको विषयमा सर्वदलीय बैठक बोलाउँथे, सम्पूर्ण राष्ट्र एकढिक्का भएर कोरोनाको विरुद्ध लडौं भन्थे ।

अहिले सरकारको नेतृत्वमा बसेको पार्टीले कोरोनाविरुद्ध कसरी लड्ने भन्ने तयारी गरेकै देखिएन । सर्वदलीय बैठकमा सरकार वा राजनीतिक झन्झटहरू छन् तिनको समाधान कसरी गर्ने लगायतका विषयमा छलफल हुन्थ्यो । अनि त्यहीं निष्कर्ष निस्कन्थ्यो । त्यही अनुसार हिँडे हुन्थ्यो । त्यो प्रयास त म कतै पनि देखिरहेको छैन । अनि कहाँ हुन्छ ?

अब त मिलनबिन्दुमा जाने भन्दा पनि संकट वा विभाजनकै दिशातर्फ अग्रसर भएको देखिन्छ हैन ?

अहिले मलाई तपाईंले फोन गर्नुभएको हो, मैले त होइन । तपाईंलाई मसँग गफ गर्न मन लायो, तपाईंले गर्नुभयो  । मलाई गफ गर्न मन लागेको भए म गर्थें नि त । त्यस्तै हो अहिलेको राजनीतिक अवस्था पनि । देशमा संकट आएपछि देशको प्रधानमन्त्रीले सबैलाई बोलाउने हो ।

प्रधानमन्त्रीले नै बोलाएर देशमा भएको संकटविरुद्ध कसरी लड्ने यस्तो हालत भयो सबै पार्टीले आआफ्नो ठाउँमा एकजुट भएर लाग्नुपर्यो भन्नुपर्ने हो । तर, सरकारमा बसेका एक जना मन्त्रीलाई मैले सोधें, ‘सर्वदलीय बैठक बोलाएर कोरोना विरुद्धको अभियानमा लड्न किन ढिला गरिरहेको भनेर’ उहाँले त ‘सर्वदलीय बैठक किन बोलाउने, पैसा खर्च गर्ने हामी, औषधी किन्ने हामी, सरकारले सबै गर्ने अनि जस अरुलाई दिने ? औषधी किन्न कांग्रेसले पैसा हाल्छ ?’भन्नुभयो । मैले उहाँलाई धन्यवाद दिएर हिँडे । यो सोचले ल्याएको अवस्था हो अहिलेको ।

प्रधानमन्त्रीविरुद्ध ‘फ्लोर क्रस’ गर्नुभन्दा पनि त्यसअघि नै राजीनामा दिनु उत्तम विकल्प हो, भनेर छलफल अघि बढेको सुन्छौं त हामी ? 

धेरै विकल्पहरूमा छलफल छ भनिहालेँ नि मैले । पहिलो त भोट हाल्ने नै विकल्प हो । भोट हाल्न त उहाँ (प्रधानमन्त्री) ले चाहिँदैन, ढोकाबाटै छिर्न दिन्न भन्नुभएको छ । भोट हालेपछि भोलिपल्ट निकाल्ने भन्ने निर्णय भएको छ ।

अस्ति १२ गतेको बालुवाटारको बैठकले २७ गतेको भोट लिने अनि निकाल्ने निर्णय गरेको रैछ, नत्र त्यही दिन निकाल्ने तयारी रैछ । साथीहरुले अहिले किन निकाल्नु, २७ गतेको भोट लिऔं अनि निकालौंला भनेछन् । त्यो भएपछि भोट पनि आउँछ निकाल्न पनि पाइन्छ, अहिले निकालेर त हाम्रै भोट घट्छ भन्नुभएछ । भनेपछि अनि भोट हालेको भोलिपल्ट हाम्रो गर्धनमा खुकुरी हान्न लागेको थाहा पाउँदा पाउँदै कसरी भोट हाल्ने ? यस्ता धेरै समस्या छन् र धेरै विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प, भोट हाल्ने । दोस्रो विकल्प, नहाल्ने हो भने किन नहाल्ने । कसरी नहाल्ने ? अनुपस्थित भएर नहाल्ने कि, फ्लोर क्रस गरेर नहाल्ने कि, अथवा आफ्नै पार्टीविरुद्धमा फ्लोर क्रस किन गर्ने भन्ने हो । केपी ओलीलाई हामी चाहिएका छैनौं जस्तो देखिएको हुनाले ल हामीले सामूहिक राजीनामा दियौं, हामीले बाटो खुला गरिदियौं भनेर दिने हो कि लगायतका अनेकौं विकल्प छन् ।

विकल्पमाथि छलफल भइरहँदा हामी पनि सकिने भयौं, अब तपाईंलाई नि सजिलो पार्दैनौं भन्न खोजेको हो ? 

उहाँलाई हामी पार्टीमा बसेको घाँडो भइरहेको छ । हामीले राजीनामा दियौं भने त बालुवाटारमा दीपावली भइहाल्छ नि । उहाँलाई जेजे सजिलो हुन्छ त्यही-त्यही गर्दिंदै जाने हो हामीले र ? 

प्रधानमन्त्रीले त फेरि संसद विघटन गर्नसक्ने संकेत दिनुभएछ नि ?

होला, उहाँले के सोच्नुभएको छ त्यो त हामी बुझ्दैनौं । विघटन गर्नुस्, ३ वर्ष चलाउनुस् । हामीले ५ वर्ष चलाउनुस् भनेर भनेकै छौं । पार्टी पुन:स्थापना भएपछि अध्यक्ष उहाँ नै हो । अनि पुन:स्थापना केपी ओली अध्यक्ष मात्र भएको होइन, महासचिव मात्र भएको होइन । उपाध्यक्ष पनि स्थापित भएको हो, वरिष्ठ नेता, उपमहासचिव सबै स्थापित भएको हो । पुन:स्थापित हुँदा खेरी म पनि स्थापित भएकै हो ।

तर, उता पक्ष (ओली पक्ष) को व्याख्या अध्यक्ष र महासचिव स्थापित भएको हो, अरु सबै होइन, अनि यो एमाले पुन:स्थापित गरिदिएको भनेको हाम्रा लागि हो, तिमीहरूका लागि होइन भन्ने छ । हामी त्यसको विरुद्धमा छौं । हामी आफ्नै ढंगले कमिटीहरु बनाएर हिँडिरहेका छौं । उहाँहरु एमालेलाई विग्रहमा लाने, भएका साथीहरुलाई कारबाही गर्ने जस्तो काममा हुनुहुन्छ ।

एउटा कुरा के भने, बिरुवा हुर्काउन बढाउन गाह्रो हुन्छ तर, त्यो काट्न सजिलो छ नि । पार्टीमा पनि निष्काशन गर्न सजिलो छ, तर एक-एक जना मान्छे जम्मा गरेर यो पार्टी बनाउन कति गाह्रो भएको थियो ? हुर्किसकेको पार्टीलाई एक छप्का हानिदिएपछि के हुन्छ ? विरुवा जस्तै हो । बहादुरी भनेको पार्टी बचाउने, त्यसलाई देशकै ठूलो पार्टी बनाइराख्ने हो । भएका पार्टीका मान्छेलाई कारबाही गर्ने निष्काशन गर्ने त्यो बहादुरी होइन । 

तपाईंहरु पनि समानान्तर कमिटी गठन गर्दै हिँडेको, पार्टीविरुद्ध लागेको भन्नुहुन्छ त ?

तपाईंको प्रश्नै गलत छ, हामी समानान्तर कमिटी बनाउँदै हिँडेका होइनौं । उहाँले बस्न नदिएपछि कार्यकर्ता माझ गएका हौं ।

उहाँले बैठकमै नबोलाएपछि हामी के गर्ने ? फागुन २३ गते अदालतले निर्णय गरेपछि २८ फागुनमा उहाँ (प्रधानमन्त्री) ले गुटको बैठक राख्नु भयो । सबै निर्णय गराउनु भयो ।  अनि हामी राजनीतिक गर्ने मान्छे के गुच्चा खेलेर बस्छौं त ? हामीले बनाएको एमाले हामी जोगाउन हिँड्यौं ।

तपाईंहरुको घरमा मैले ढुंगा हानेपछि तपाईंले मलाई पिट्न आउनुभएको हो कि, तपाईंले मलाई पिटेपछि मैले ढुंगा हानेको हो । २८ फागुनको बैठकमा उहाँले एकलौटी निर्णय गरेपछि हामीले त्यो गलत भयो भन्यौं । उहाँले त्यो सही छ, मैले गर्‍या मान्ने मान्छे मात्र मेरो पार्टीमा अट्छ भन्नुभयो, त्यसपछि एमाले हाम्रो पनि पार्टी हो भनेर हामी कार्यकर्ता माझ गयौं । 

२३ फागुनमा सर्वोच्चले एमाले ब्युँताएपछि पनि तपाईंहरु पेरिसडाँडाबाट धुम्बाराही वा बालुवाटार नगई होटलतिर जानुभयो । त्यो कुराले पो अध्यक्ष बिच्किएका हुन कि ? 

यस्ता कुरातिर नलागौं । जस्तो कि, तपाईंले अहिले मसँग कुरा गर्नुभयो । अब तपाईं एमाले वा माधव गुटको हुनुभयो ? दलीय व्यवस्थामा हिजो देउसी भैलो खेल्न देउवाकोमा गएको के ? उहाँ कांग्रेस प्रवेश गर्नुभयो त्यसो भए ? हिजो देउसी भैलो खेल्न त जानुभएको थियो । महन्थ ठाकुरसँग दिनदिनै कुरा गरिरहनुभएको छ, उहाँ फोरम हुनुभएको हो ? 

माधव नेपालले राजेन्द्र महतोलाई भेट्दा दक्षिणपन्थीसँग भेटेको हुने, केपी ओलीले भेट्दा क्रान्तिकारीसँग भेटेको हुने ? माधव नेपाल र शेरबहादुर भेटेको षडयन्त्र हुने, ओली-देउवा भेट्दा प्रगतिका लागि हुने ? यस्तो पनि हुन्छ । 

प्रधानमन्त्री जेठ २ मा  फर्कनुभएन भने २७ गते के हुन्छ ?

उहाँले पार्टी नै चलाउने हो भने, वा एमालेको माया छ भने फर्कनै पर्‍यो । यो एक वर्षको नयाँ पार्टी हो र भन्या । ०२८ सालदेखि आएको पार्टीको इतिहास हो । यस्तो अवस्थामा कतिवटा अध्यक्ष भए ? कतिवटा महासचिव भए ? हामीले पार्टी र देशमा परेका समस्यालाई कसरी समाधान गर्‍यौं । झलनाथ र केपी ओलीको चुनाव भएको थियो । झलनाथले जित्नुभएको थियो । केपी ओलीले जसरी सबैलाई निष्काशन त उहाँले गर्नुभएन । माधव नेपाल महासचिव हुनुहुथ्यो, कसैलाई निष्काशन गर्नुभएन ।

अहिले ओली अध्यक्ष हुँदा सबैलाई निष्काशन गर्ने ? विरुद्धमा हुने बित्तिकै जसको हातमा डन्डा छ त्यसैले कारबाही गर्ने मात्र समाधान त होइन । नत्र, यसअघि नै यो पार्टी सकिन्थ्यो होला नि हैन ?

जो छ उसले आफ्नो पक्षको मान्छे राख्ने अरुलाई निकाल्ने गर्दा के होला ? जो पावरमा भयो त्यसले विरोधीहरुलाई ध्वस्त पार्ने हो भने यहाँसम्म आइपुग्दै आइपुग्दैनथ्यो नि । नेतृत्वको क्षमता भनेको त पार्टीभित्रको अन्तविरोधलाई समाधान गर्ने, आत्मालोचना गर्ने, जुनसुकै समस्या आए पनि पार्टीमा छलफल गरेर निकास निकाल्ने हुनपर्ने थियो । त्यो समाधान गरेर अघि बढ्ने नेता, नेता हुन्छ । बिरुवा हुर्काउन गाह्रो छ, काटिदिन के गाह्रो भयो र ?

पार्टी र देशको अभिभावक भएको हिसाबमा प्रधानमन्त्रीले यसको समाधान कसरी गर्नुपर्यो त अब ? 

यो समस्याको निराकरण भनेको, अघि नै भनेजस्तो कोरोनासँग सम्बन्धित हो भने सर्वदलीय बैठक बोलाएर के गरी कसो गरी जाने भनेर सबै पार्टीका इकाइहरु, संगठन बनाएर सम्पूर्ण जनतालाई गोलबद्ध भएर हिँडौं भन्नुपर्‍यो । मान्छे बाँच्यो भने यो देश चल्ने हो, भनेर सबै दल एकजुट हुन्छन् । वडा वडामा कमिटी बन्छन्, घर घरमा चेतना दिँदै हिँड्छन्, जथाभावि हिँडेका मान्छेलाई बाटो बाटोमा समाएर चेतना दिन्छन् । सहज हुँदै जान्छ । 

अब यदि पार्टीतिरको कुरा हो भने, पार्टीको बैठक बोलाउन पर्‍यो । बैठक बोलाएर छलफल गर्नपर्यो । मेरो गोरुको बाह्रैटक्का भन्न भएन । मेरो आदेश मान्नेजति आऊ, नमान्नेहरु नआऊ, मेरो जय-जयकार गर्नेहरु आऊ, आलोचना गर्नेहरु नआऊ भन्न भएन । पार्टीमा त मत मतान्तर हुन्छ, राय सल्लाह हुन्छ । ठिक बेठीक भन्ने कुरा हुन्छ ।

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार ८:४२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया