प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले २७ वैशाखमा विश्वासको मत लिनका लागि संसद आह्वान गरिएसँगै नेपाली राजनीतिमा नयाँ ट्विस्ट एन्ड टन्र्स देखिन थालेको छ ।
पछिल्लो समय नेताहरु अबको राजनीतिक भविष्यबारे चर्चा गर्न दिनहुँ विभिन्न वार्ता गरिरहेका छन् ।
यहीबीच बिहीबार बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा यसअघि यो समूहले गरेको नेकपा एमाले माधवकुमार नेपालसहितका नेताहरुको कारवाही फिर्ता गर्नेबारे पनि चर्चा भएको थियो ।
बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार बोलाइएको आकस्मिक स्थायी कमिटी बैठकमा कारवाही फिर्ता लिँदा थप सहज अवस्था आउन सक्नेबारे चर्चा भएको थियो ।
स्रोतका अनुसार यही विषयमा दिउँसो नक्सालमा रहेको मेरियट होटलमा नेकपा एमाले महासचिव विष्णु पौडेलले नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेसँग छलफल पनि गरेका थिए ।
‘आखिर एमाले पार्टीलाई एक बनाएर अगाडि बढाउनुको विकल्प छैन,’ बैठकमा सहभागी एक नेताले फरकधारसँग भने, ‘त्यसैले हिजो भएका गल्तीहरु सच्याएर अगाडि बढ्ने विषयमा छलफल भएको हो । हिजो माधव समूहका केही नेतालाई गरिएको कारवाही फिर्ता गर्ने विषयमा पनि छलफल भएको छ ।’
‘तर, यसबारे निर्णय भइसकेको छैन,’ ती नेताले भने, ‘आगामि बैठकमा यसबारे छलफल फेरि हुनेछ र निर्णयमा पुगिनेछ ।’
यसअघि पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै ओली पक्षको बैठकबाटै नेकपा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधिएको थियो ।
उनीहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै यी चार नेतालाई ६ महिनाका लागि पार्टीबाट निस्कासन गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।