\
बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा लागि आज उम्मेदवारी मनोनयन हुँदैछ । जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवार मनोनयन तोकेको हो ।
उपनिर्वाचनमा सहभागी हुन चाहने दलहरूले आज उम्मेदवारको मनोनयन गर्नुपर्नेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले एमालेको माधव नेपाल समूहको समेत समर्थनमा संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।
आयोगले बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने आयोगको तयारी छ ।
यसअघि नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूह तर्फबाट रामबहादुर थापा बादल निर्वाचित भएका थिए । उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारबाही गरेर खाली भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो ।
विपक्षी गठबन्धनले उम्मेदवार तय गरेपनि सत्तारुढ एमालेले भने आफ्नो उम्मेदवारबारे निर्णय गरिसकेको छैन । बिहीबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन ।
राष्ट्रियसभाको उपनिर्वाचनका लागि सम्बन्धित प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।