खरिपाटी तालिम केन्द्रमा आइसोलेसन बनाउन विद्युत प्राधिकरणको प्रस्ताव

नेपाल विद्युत प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९ बाट संक्रमितहरुको उपचारका लागि आइसोलेसन केन्द्र निर्माणका लागि सरकार समक्ष प्रस्ताव गरेको छ ।

सरकारले गत वर्ष कोरोना भाइरसको संक्रमण फैलिएको समयमा प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएको थियो । त्यहाँ चीनको हुबेई प्रान्तबाट नेपालीहरुलाई स्वदेश फर्काएर १४ दिनसम्म राखिएको थियो ।

तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्न सकिने भएकाले आइसोलेसन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । 

शाक्यका अनुसार, प्राधिकरणका कर्मचारी संक्रमित भएमा उनीहरुलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

‘तालिम केन्द्र परिसरभित्रका भवनहरुमा रहेका ६६ वटा कोठामा १ सय ३३ वटा बेडहरु राख्न सकिन्छ, गत वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डसना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, शाक्यले भने । 

शाक्यका अनुसार तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ । बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरुमा सिलिन्डरसमेत राख्न सकिन्छ । आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छ ।



तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन् । त्यहाँ २४ वटा बेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा बेड राख्न सकिन्छ । स्टाफ क्वार्टर भवनमा ११ कोठा छन् । त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वार्टर भवनका ३ कोठामा ३ वटा बेड राख्न सकिन्छ । 



  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १०:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया