मिलानमा फर्किएको खुसी

आइतबार सिरी ‘ए’ अन्तर्गतकाे खेलमा एट्लान्टा र सासोउलोले १-१ को बराबरी खेलेपछि इन्टर मिलानले ४ खेल अगावै लिग उपाधि पक्का गर्‍यो ।
इन्टरको यो उपाधिसँगै पुरा मिलान सहरले खुसी मनायो । सबैले इन्टरको खुलेरै तारिफ गरे । 

यो किन पनि खास छ भने मिलानले लिग उपाधि आफ्नो सहर फिर्ता ल्याउन दशक कुर्नु पर्‍याे  । पछिल्लोपटक सन् २०१०-११ को सिजनमा एसी मिलानले लिग उपाधि जितेको थियो ।  ११ वर्षपछि लिग उपाधि हात पारेको मिलानले लगातार ९ वर्षसम्म युभेन्टसले टुरिनमा कब्जा गरेर राखेको खुसीलाई मिलान फर्कायो । 

इन्टरले लिग उपाधि फिर्ता ल्याउन धेरै मेहेनत गरेको छ । उसले रोमेलु लुकाकु, एलेक्सिस सान्चेज, क्रिस्चियन एरिक्सन जस्ता नाम चलेका खेलाडी भित्र्याउन ठुलै रकम खर्चिएको छ । 

सन् १९१० मा पहिलो पटक लिग उपाधि हात परेको इन्टरका लागि यो १९ औं लिग उपाधि थियो । इन्टरले १० वर्षपछि सहरमा खुसी मात्र फर्काएन, सहरी प्रतिद्वन्द्वी एसी मिलान भन्दा बढी लिग उपाधि हात पा¥यो । यो उसका लागि गर्व गर्न लायक विषय हो । एसीले १८ लिग उपाधि चुमिसकेको छ ।

इन्टर मिलानको इतिहास 

इन्टर स्थापना हुनुअघि नै एसी मिलानले चर्चा कमाउन थालेको थियो । यसका साथै उसले ३ लिग उपाधि हात पारेकाे थियो । 



सन् १८९९ मा स्थापना भएको एसी मिलानले पहिलो लिग उपाधि सन् १९०१ मा हात पारेको थियो । त्यसपछि उसले सन् १९०६ र ०७ मा लगातार दुई लिग उपाधि जित्यो । 
सन् १९०८ मा विदेशी खेलाडी ल्याउने विषयमा भएको सामान्य विवादका कारण एसी मिलानबाट छुट्टिएका केही सदस्यले इन्टर मिलानको स्थापना गरेका थिए ।

इन्टरले स्थापना भएको दुई वर्षपछि नै अर्थात् सन् १९१० मा लिग उपाधि उचाल्यो । यद्यपि नाम कमाउन भने धेरै समय लागेको थियो । इन्टरको स्थापनासँगै मिलान सहरका समर्थक दुई किस्सामा बाँडिए । कोही पुरानै क्लब एसी र कोही नयाँ क्लब इन्टरको पक्षमा लागे । यी दुई क्लब इटालीका नामी प्रतिद्वन्द्वी बने, सहरी प्रतिद्वन्द्वी र मिलान डर्बीका नामले चिनिन थाले । 



स्थापनासँगै इन्टरले एसीको भन्दा बढी चर्चा कमाउन थाल्यो, उसले लिग उपाधि  जितिरहँदा एसीले भने लिग उपाधि जित्न ४ दशकभन्दा बढी कुर्नु पर्‍याे । 
एसीले सन् १९५१ मा चौथो लिग उपाधि जित्दा इन्टरले लिग उपाधि ५ पुर्‍याइसकेको थियो । 

फुटबल क्लब इन्टर नाजियोना मिलानोको नाममा स्थापना भएको क्लबले फासिस्ट सरकार सामु आफ्नो नाम प्रयोग गर्न पाएन । उसले सन् १९२२ मा आफ्नो नाम परिवर्तन गरेर सोसिएटा स्पोर्टिभा एम्ब्रोसियान राख्यो । सन् १९४३ मा उ पुरानै नाममा फर्कियो । 

१९५० को दशकमा दुई मिलानबीच उपाधि जित्ने प्रतिस्पर्धा नै चलेको थियो । यो दशकमा एसीले ४ र इन्टरले २ लिग उपाधि हात पारे । यो समयमा यी दुई क्लबसँगै इटालियन फुटबलको केन्द्रमा रह्यो मिलान सहर । सन् २००४-११ सम्म इन्टर र एसी मिलानले लिग उपाधि अन्त जान दिएनन् । 

यो अवधिमा इन्टरले २००६-१० सम्म लगातार ५ लिग उपाधि हात पार्दा एसीले सन् २००४ र २०११ मा २ लिग उपाधि जित्यो । सन् २००५ को लिगमा भने कुनै विजेता घोषणा भएन । 

सन् २०१० मा इन्टर ट्रेबल  जित्ने पहिलो इटालियन क्लब बन्यो । उसले यो वर्ष सिरी ‘ए’, इटालियन कप र च्याम्पियन्स लिग जितेको थियो ।

साझा घरेलु मैदान

इन्टर र एसी मिलानले एक अर्कालाई जति नै ठुलो प्रतिद्वन्द्वी ठाने पनि एउटा कुरामा भने उनी समान छन् । र त्यो हो उनीहरूको घरेलु मैदान ।
सन् १९४७ देखि दुबै क्लबले सान सिरोलाई घरेलु मैदानका रूपमा प्रयोग गरिरहेका छन् । 

मैदान एउटै भए पनि यसलाई दुबै टिमका समर्थकले फरक फरक नाम दिएका छन् । इन्टरका समर्थकले गुसियम्पा र एसीका समर्थकले सान सिरोकै नामले चिन्छन् । 

याे सामग्री एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे हाे ।


 

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १३:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया