दोस्रो तहका नेताको दबाब, राष्ट्रपति पनि सक्रिय, मिल्लान् ओली-नेपाल?
लगातारको छलफलपछि दुई नेताबीच फेरि सुरु भयो संवाद

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेको विवादलाई किनारा लगाउने अन्तिम प्रयास जारी छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताले निरन्तर दबाब बढाएपछि वैशाख ९ यता यही बुधबारदेखि ओली-नेपाल संवादको ढोका खुलेको छ। 

दुई नेताबीच संवाद टुटिरहेका बेला बुधबार दिउँसो माधव पक्षीय नेता योगेश भट्टराई एमाले महासचिव ईश्वर पोखरेललाई भेट्न सिंहदरबार छिरेका थिए। जहाँ सिन्धुलीका सांसद गणेश पहाडीसहित दुई पक्षका नेताबीच वार्ता भएको थियो। उक्त वार्तामा योगेशले पार्टी महासचिवको हैसियतमा विभाजनको डिलमा पुगेको एमालेलाई जोगाउने भूमिका खेल्न पोखरेललाई भनेका थिए। 

बुधबारको उक्त भेटपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेका थिए। उक्त फोनको क्रममा अध्यक्ष ओलीले भेटेर कुरा गर्न निम्ता दिएका थिए। तर नेता नेपालले फागुन २८ को निर्णय नसच्चिएसम्म वार्ता हुन नसक्ने अडान लिएपछि भेट हुन सकेन। नेपालले माओवादीबाट आएका नेताहरु स्वीकार्ने तर पार्टीलाई सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार २०७५ जेठ २ मा लैजान भनेका थिए।

दोस्रो तह सक्रिय 

यसअघि चैत २ तथा वैशाख ७ र ९ को ओली-नेपाल वार्ता पनि दोस्रो तहका नेताकै निरन्तरको छलफलपछि सम्भव भएको थियो। फागुन २३ पछि एमालेमा फर्किएका ओलीले पेलिरहने, उता नेपालले प्रतिरोध गर्दै समानान्तर अभ्यास गरिरहने अवस्थाबीच दोस्रो तहका नेतामा चिन्ता बढेको थियो। 

यही चिन्ताबीच ओलीको स्पष्टीकरण खाएका माधव पक्षीय नेता पनि पार्टी एकता बचाउन क्रियाशील भएका थिए। चैतमै माधवपक्षीय नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र ओली पक्षीय नेताहरु शंकर पोखरेल र विष्णु पौडेलबीच पटक पटक संवाद भएको थियो। पार्टी जोगाउन सकिने सबै विकल्पमा छलफल गर्दै आएका यी नेताहरु अहिले पनि त्यही अभियानमा छन्। 



ओलीले स्पष्टीकरण सोधेका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले एमाले फुटाएर बनाइने नयाँ पार्टीमा जान नसकिने बताउँदै आएका छन्। बरु पार्टीमा देखिएको संघर्षलाई अघि बढाउँदै १० औँ महाधिवेशनको तयारीमा लाग्ने रणनीति उनीहरुले बनाएका छन्। अर्का नेता गोकर्ण विष्ट पनि पार्टी एकता बचाउने पक्षमा निरन्तर क्रियाशील छन्।

यता ओली पक्षका विष्णु पौडेलले विवाद मिलाउने विषयमा नेपाल पक्षसँग धेरै अन्तरक्रिया गरेका छन्। संगठन विभाग प्रमुखसमेत रहेका उनले नेपाल पक्षका कयौँ नेतासँग यो बीचमा छलफल गरिसकेका छन्। वैशाख ७ मा होटल मेरियट भएको ओली-नेपाल वार्तामा पनि उनी जुटेका थिए। उक्त वार्ताको पृष्ठभूमि तयार पार्न पौडेल तथा नेपाल पक्षका भट्टराई तथा पाण्डेसहितका नेताहरु सक्रिय भएका थिए। 



विपक्षीको घेराबन्दी

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेमा एकताका लागि गम्भीर छलफल भएको हो। ओलीले विश्वासको मत लिने भएपछि त्यसलाई असफल बनाउन माओवादी केन्द्र र कांग्रेसले माधव नेपालको साथ खोजेका छन्। त्यसका लागि उनको पक्षका सांसदहरुलाई विश्वासको मत फेल हुने गरी फ्लोर क्रस, सामूहिक राजीनामा र संसदमा अनुपस्थित हुने विकल्पमा पनि पटक पटक छलफल भएको छ।

यही मंगलबार उपेन्द्र यादवको हात्तीवनस्थित निवास, प्रचण्ड निवास खुमलटार, देउवा निवास बूढानीलकण्ठमा समेत नेताहरुबीच छलफल भएर माधवलाई ओलीविरुद्ध लगाउने योजना प्रतिपक्षी दलले बनाएका थिए। त्यसअघि सोमबार महाराजगञ्जमा भएको वार्तापछि राष्ट्रियसभाको जेठ ६ गते हुने निर्वाचनमा एमालेविरुद्ध माधव नेपाल, प्रचण्ड, देउवा र उपेन्द्र यादवको मोर्चा बनाउने सहमति भएको थियो। 

आफूविरुद्ध माधव नेपालसमेत साथमा लिएर घेराबन्दी भएपछि ओली तर्सिएका छन्। यो घेराबन्दी आगामी चुनावका बेला गठबन्धनमा परिणत हुने चिन्ता ओलीलाई परेको छ। त्यहीकारण उनी आफैंले कारबाहीको डन्डा चलाइएका नेता नेपालसँग सम्वादका लागि लचिलो भएका हुन्। उनी अहिलेलाई नेपाल समुहमाथिको कारबाही फुकुवा गरेर एमालेलाई संसदमा एक बनाउने रणनीतिमा जुटेका छन्। तर नेता नेपालले २०७५ जेठ २ मै फर्किन दबाब बढाइरहेका छन्। 

बिहीबार के के भयो? 

माधव नेपालले जेठ २ मा फर्किए कुरा मिल्ने बताइरहेका बेला एमाले संगठन विभाग प्रमुख विष्णु पौडेलसँग संवादमा जुटे माधव पक्षीय नेताहरु योगेश भट्टराई र घनश्याम भुसाल याक एन्ड यति होटलमा संवादमा जुटे। बिहीबार मध्यान्ह साढे १२ बजेदेखि अढाई बजेसम्म तीन नेताबीच पार्टी मिलाउने विकल्पबारे छलफल भयो। याक एन्ड यतिमा नेता योगेश भट्टराईले पौडेललाई एमाले बचाएर लैजानुपर्ने बताउँदै निर्णायक भूमिका खेल्न आग्रह गरेका थिए। 

'विष्णु पौडेलसँगको संवादले मिल्न सक्ने विकल्पको ढोका खोलेको थियो। त्यसले ओली-नेपाल वार्ता अघि बढाउन पनि मद्दत गरेको छ', एक नेताले भने, 'त्यसपछि पनि नेताहरुबीच घनिभूत छलफल भएको थियो। यसले केही आशा पलाएको छ।'

अनि मेरियट भेट

याक एन्ड यतिमा जस्तै एमाले नेताहरु नागपोखरीस्थित होटल मेरियटमा पनि वार्तामा जुटे। बिहीबार साँझ तीन नेतारु विष्णु पौडेल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेबीच करिब एक घण्टा लामो वार्ता भयो।  विवाद एकअर्कालाई समाप्त गर्ने दिशामा अघि बढिरहेका बेला बिहीबार साँझ तीन नेताबीच एक घण्टा लामो गोप्य वार्ता भएको थियो। 

एमालेमा विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईसहित नेतारु पार्टीलाई कुनै पनि हालतमा विभाजनमा जान नदिने अडानमा छन्। यदि एमाले फुटेमा २०५४ सालको भन्दा गम्भीर दुर्घटना हुने भन्दै उनीहरुले लगातार संवाद गरिरहेका छन्। 

वार्ताको शिलान्यास : पाण्डे

बिहीबारको वार्तालाई नेता पाण्डेले कुराकानीको शिलान्यासको संज्ञा दिए। 'हामीबीच करिब एक घण्टा लामो वार्ता भएको थियो', उनले फरकधारसँग भने, 'यसलाई हामीले कुराकानीको शिलान्यास भनेका छौँ। अहिलेलाई राम्रो नराम्रो केही नभनौँ तर शिलान्यास अर्थात् सुरुवात भएको छ। हामी छलफलमै छौँ।'

माधव पुगे शीतल निवास 

कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठमा वार्ता गरेपछि माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे। लामो समयदेखि शीतल निवास जान इन्कार गरिरहेका उनले त्यहाँ मध्यरातसम्म बिताए। तर उनले राष्ट्रपतिसँग पनि ६ बुँदे शर्त राखेका थिए। 

उनले ओली एक्लै अघि बढ्दा अहिलेको समस्या आएको बताउँदै आफूलाई दोष नदिन भनेका थिए। स्रोतका अनुसार नेता नेपालले विश्वासको मत लिने भए पहिले ओलीले पार्टीलाई जेठ २ मा लानुपर्ने मत राखेका थिए। त्यसपछि जेठ २ मा फर्किएर पार्टी बैठक बसी अघि बढ्न सकिने नत्र भेटघाट र छलफलको अर्थ नहुने उनको तर्क थियो।

माधव नेपाल शीतल निवासमै बसिरहेका बेला प्रधानमन्त्री केपी ओली पनि दोस्रो पटक त्यहाँ पुगेका थिए। दिउँसो एमाले स्थायी कमिटी बैठक राखेपछि शीतल निवास छिरेका उनी दोस्रो पटक त्यहाँ पुगेर राति साढे १२ बजेसम्म नेपालसँग वार्ता गरे। तर दुवै नेताले राष्ट्रपतिलाई साक्षी राखेर पनि ठोस सहमति जुटाउन सकेनन्। 

तर नेता नेपाल पक्षले भने शीतल निवासमा राष्ट्रपतिसँग मात्रै संवाद भएको जनाएको छ। त्यहाँ प्रधानमन्त्री केपी ओलीसँग कुनै कुरा त के भेट पनि नभएको दाबी माधव नेपालका एक सहयोगीले गरेका छन्। 

त्यसअघि बालुवाटारमै ओलीले माधव पक्षीय नेताहरु योगेश भट्टराई र घनश्याम भुसालसँग वार्ता गरेका थिए। त्यहाँ ओलीले उनीहरुलाई फकाउने प्रयास गरे पनि सफल हुन सकेनन्। ओलीले सामूहिक रुपमा गुटसँग नभइ एक्ला एक्लै नेताहरुसँग संवादको रणनीति बनाएका छन्। भुसाल र भट्टराईलाई उनले आफ्नो पक्षमा तान्‍न गरेको प्रयास सफल भएन। तर भट्टराई र भुसाल बालुवाटारमा पार्टी बचाइराख्ने विकल्प खोज्न पसेको एक नेताको दाबी छ।

त्यसपछि शुक्रबार पनि ओलीले माधव पक्षीय नेता गोकर्ण विष्टसँग वार्ता गरे। त्यहाँ पनि उनले विष्टलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए। तर विष्टले पनि सबैलाई समेटेर लैजाँदा राम्रो हुने सुझाएका थिए। यसबीचमा नेता नेपालसँग ओलीका आर्थिक सल्लाहकार मोती दुगडले शुक्रबार भेटेका छन्।

नेपालको भनाइ 

यसैबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेसम्म केपी ओलीसँग कुनै सहमति नभएको बताएका छन्।  शुक्रबार नेता नेपालले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रतिक्रिया दिँदै सहमतिका लागि २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व  आफूहरुको  हाम्रो बटम लाइन भएको स्पष्ट पारेका छन्।

‘हामी सिद्धान्त निष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो’ नेपालले भनेका छन्,  ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौँ, तर अहिलेसम्म कुनै सहमति भएको छैन।’ 

ओली-नेपाल भेट

हिजो मेरियटमा भएको वार्तामा विष्णु पौडेलले ओलीको र सुरेन्द्र पाण्डेले नेपालको पोजिसनबारे व्याख्या गरेका थिए। त्यसपछि उनीहरुबीच ओली-नेपाललाई फेरि होटल मेरियटमै आजै भेटाउने सहमति भएको थियो। आजै दुई नेताबीच वार्ता गाउने सहमतिपछि उनीहरु मेरियटबाट उठेका थिए।

तर यसबीचमा निषेधाज्ञाको समयमा होटलमा गएर वार्ता गर्न उचित नहुने निचोडसहित दुई नेताले पार्टीको थापाथलीस्थित नयाँ कार्यालयमा भेट्ने सल्लाह गरेका थिए। आजै ओलीले नेपाललाई फोन गरेपछि भेट्ने भेन्यु थापाथली तोकिएको थियो। तर अहिलेसम्म दुई नेताबीच भेट हुन सकेको छैन।  

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा माधवकुमार नेपालसहितका नेताहरुको कारवाही फिर्ता गर्नेबारे पनि चर्चा भएको थियो । एक नेताका अनुसार बिहीबार बोलाइएको आकस्मिक स्थायी कमिटी बैठकमा कारवाही फिर्ता लिँदा थप सहज अवस्था आउन सक्ने चर्चा भएको थियो । उक्त कुराबारे नेता पौडेल र पाण्डेबीच होटल मेरियटमा पनि कुरा भएको थियो। 

यसअघि पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै ओली पक्षको बैठकबाटै नेकपा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधिएको थियो । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै यी चार नेतालाई ६ महिनाका लागि पार्टीबाट निस्कासन गरिएको थियो ।

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १६:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया