कोरोना संक्रमितका लागि अब ‘डोर टु डोर’ सेवा : पार्वत गुरुङ
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै  कोभिड संक्रमितका लागि सरकारले ‘डोर टु डोर’ स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन् ।

छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएकालाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन् । उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर’ सेवा सञ्चालन गरिने आश्वासन दिए ।

उनले भने, ‘परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने  हामी ‘डोर टु डोर’ सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिनेछ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्नेछ ।’

उनले महामारीको समयमा सञ्चारगृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव दिए । मान्छेहरूलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण हुने गरेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चारगृहहरुलाई गाइडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए । त्यसका लागि सबै सञ्चारगृहलाई समावेश गरी मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘कोभिडबाट सकियो अब केही छैन । अक्सिजन छैन । बेड छैन । सिलिन्डर छैन । आइसियु छैन । बेडको बारेमा अब तपाईंहरुले चिन्ता नगर्नुहोस् । स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरूको व्यवस्थापन गरेको छ । त्यसमा सम्पर्क गर्ने ।’

जुनसुकै कुराको पनि विरोध गर्ने र आलोचना गर्ने संस्कार रहेको भन्दै समाचार बिक्री गर्ने सोचमा नभई समाजलाई सकारात्मक परिर्वतन गर्नुको साथै वर्तमान अवस्थामा कोभिड मुक्त बनाउने सोचमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले कोभिड रोकथाम तथा नियन्त्रणका कार्यमा सरकारले सबैसँग समन्वय गरेर जाने बताए ।





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १७:८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया