खोपमा राजनीति : सस्तो प्रस्ताव बेवास्ता, महंगोलाई अनुमति
सरकारले ४७२ रुपैयाँमा किन्ने खोप निजीले चार गुणा बढी मूल्यमा बेच्न पाउने

कोरोना भाइरस विरुद्धको खोप आयातमा निजी कम्पनीले प्रस्ताव दर्ता गराएका छन् । औषधी व्यवस्था विभागमा विभिन्न निजी कम्पनीले खोप आयातका लागि अनुमति माग गरेका थिए । जसमध्ये अहिलेसम्म दुई कम्पनीले खोप आयातको अनुमति पाएका छन् ।

जसमा हुकम डिस्ट्रिब्युसन र इमराल्ड फर्मा रहेका छन् । ती दुई कम्पनीले भारतमा बनेका कोभिशिल्ड र कोभ्याक्सिन खोप आयात गरेर बिक्रीको अनुमति पाएका हुन् ।

विभागमा चीनको र रुसको खोप ल्याउनका लागि समेत प्रस्ताव पेस गरिएको थियो । तर, ती कम्पनीले अनुमति पाएका छैनन् । यी दुई कम्पनीले सरकारले किनेको भन्दा चार गुणा बढी महँगोमा बिक्रीको अनुमति पाएका हुन् । विभागले यसलाई भने व्यावसायिक प्रयोजनका लागि अनुमति दिएको भनेको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार हुकमले ‘कोभिशिल्ड’ खोप प्रतिडोज १ हजार ७०९ रुपैयाँमा बेच्ने गरी अनुमति पाएको छ । त्यस्तै कोभ्याक्सिनको एक डोजको २ हजार ६०६ रुपैयाँमा बेच्ने गरी इमराल्डलाई अनुमति दिइएको हो ।

अब २ डोज खोप लगाउँदा ३ हजार ४१८ रुपैयाँ र ५ हजार २०० रुपैयाँ पर्नेछ । त्यस्तै रुसी खोप ‘स्पुतनिक भी’ को २ डोजको मूल्य ३ हजार ८८५ रुपैयाँ कायम गरिएको छ । तर, यो खोपले बेच्ने अनुमति दिइएको छैन ।

सस्तो प्रस्ताव अलपत्र 



त्यस्तै चीनको भेरोसेलले प्रतिडोज १ हजार ७९३ रुपैयाँमा बेच्ने गरी प्रस्ताव पेस भएको थियो । २ डोज ३ हजार ५८६ रुपैयाँमा खोप बिक्री गर्ने उसको प्रस्ताव छ । ०७७ चैत ११ गते बायोमेट्रिक्स प्रालिले विभागमा चीनको भेरोसेल खोप आयातको अनुमति मागेर प्रस्ताव पेस गरेको थियो । चैत १२ गते उक्त प्रस्ताव दर्ता गराइसकेको विभागले अहिले भने कुनै पनि कम्पनीको प्रस्ताव नपरेको जनाएको छ । 

चीनले सिनोभ्याक्स लाइभ साइन्स कम्पनीको ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । जुन खोपको पहिलो डोज लगाइसकेका छन् ।



उसले ३५ दिनभित्रमा १० लाख डोज खोप आयात गरेर बिक्री समेत गरिसक्ने व्यहोराको पत्र विभागमा पठाएको थियो । तर, अहिलेसम्म अनुमति पाएको छैन । विभागका सूचना अधिकारी केसीले कानुनसम्मत तरिकाले अनुमति दिएका बाहेक कुनै पनि प्रस्ताव नपरेको दाबी गरे ।

यसअघि भेरोसेल खोप अनुदानको घोषणा गरेको लामो समयपछि मात्रै नेपालले खोप ल्याएको थियो । विभागकै अधिकारीहरू यसलाई भारतीय खोपलाई सहज बजार बनाउन खोजेको बताउँछन् । एक अधिकारीले चीनबाट अनुदानमा आएको भेरोसेल खोप सरकारले चाहेर पनि रोक्न नसकेको र थप खोप आउन नसक्ने बताए ।

भारतीय खोपका लागि सहज बजार बनाउन थुप्रै गिरोह सक्रिय रहेका कारण चिनियाँ खोपले अनुमति नपाएको ती अधिकारीको भनाइ छ । 

स्पुतनिक खोपलाई सरकारले अहिलेसम्म अनुमति दिएको छैन । अनुमति पाएको खण्डमा रुसले खोप उपलब्ध गराउन तयार रहेको जनाउँदै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले खोप आयातको अनुमति दिने अधिकार विभागसँग मात्र रहेको बताए । 

‘कुन खोपलाई अनुमति दिने कुनलाई नदिने भन्ने सबै अधिकार विभागसँग छ । हामीले त कूटनीतिक पहल मात्रै गरिदिने हो’, प्रवक्ता गौतमले भने । केही एजेन्टहरूको चलखेलका कारण खोप आयातमा ढिलाइ भएको उनले स्वीकार गरे ।

सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गरेर नेपालको परिवेश सुहाउँदो जुनसुकै खोपलाई पनि अनुमति दिन कुनै समस्या नहुने उनको भनाइ छ । 

सबै नागरिकलाई सरकारले नै निःशुल्क रूपमा खोप दिने बताउँदै उनले भने, ‘यदि कोहीसँग पैसा छ र उसले म राज्यलाई सहयोग गर्न चाहन्छु भन्यो भने त्यस्ताले निजीबाट किनेर खोप लगाउन सक्छन् । त्यसकै लागि हामीले निजीलाई पनि अनुमति दिएका हौं ।’

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार ७:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया