बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा एकै पटक कोरोना संक्रमण देखिएको छ। कोरोना पुष्टि भएका उनीहरु विवाह भोजमा सहभागी भएको खुलेको छ।
सङ्क्रमित अधिकांश गाउँमै भएको विवाह भोजमा गएका थिए। गाउँमा कोरोना फैलिन थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो । बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएको थियो। जसमध्ये २५ जनामा शुक्रबार कोरोना देखिएको हो।
उक्त विवाहमा करिब ४ सयजना सहभागी भएको खुलेको छ। विवाहमा सहभागी एकजना ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्युपछि गाउँमा थप त्रास छाएको छ। वृद्धाको मृत्युपछि गाउँमा कोरोना परीक्षण गरिएको थियो।
विवाह भोजमा सहभागी दुलाहा पक्षका आफन्त र अन्य गाउँका अधिकांश बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले बताएका छन्। गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएका बेला विवाहलगायत भिड हुने कार्यक्रम नरोकिँदा संकट बढेको उनले बताए।
बिहेका नाममा मानिसहरुले अनावश्यक भिड गरेर हेलचेक्रयाइँ गर्दा कोरोना फैलिएको जानकारी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले दिएका छन्।
गाउँपालिकामा कोरोना फैलिएपछि थप सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए। सरकारको निर्देशन र स्वास्थ्य मापदण्ड पालनाको बेवास्ता हुँदा गाउँभरी कोरोना फैलिन पुगेको हो। जलजला गाउँ र अन्य गाउँमा पनि कोरोनाको जोखिम बढेको छ। त्यहीकारण गाउँभरी पिसिआर परीक्षण गरिँदैछ। कोरोना फैलिएपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ ।
संक्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेसनमै राखिएको अध्यक्ष मगरले बताए। सङ्क्रमितलाई ज्वरो आउने र रुघा खोकी लाग्ने लक्षण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।