एमाले मिलाउन दौडधूप, माधव पक्षीय नेता बालुवाटारमा, पोखरेल शीतल निवासमा

सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन दुई पक्षबीच दौडधूप जारी छ। बुधबारदेखि सुरु भएको दौडधूपले अहिले तीव्रता पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा विश्वासको मत लिने भएपछि एमाले मिलाउन जोड गरिएको हो। 

मंगलबारदेखि नै वार्ताका लागि कुदिरहेका एमालेका दोस्रो तहका नेताहरु बुधबारदेखि सघन वार्तामा थिए। बिहीबार पटक पटक वार्तामा बसेका एमालेको दुई पक्षका नेताबीच आज पनि वार्ता जारी छ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षका गोकर्ण विष्टसँग कुरा गरेका थिए। बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि वार्ताको दौडधूप सुरु भएको हो। 

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली-नेपाल पक्षका नेताहरु वार्तामा जुटेका हुन्। ओलीले २७ गते अघि नै कुरो मिलाउने गरी पहल थालेपछि अहिले बालुवाटारमा दुई पक्षका नेताहरुबीच सहमतिको विकल्प खोज्न छलफल भइरहेको छ।

बालुवाटार स्रोतका अनुसार माधव पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटारमै बसेर छलफल गरिरहेका छन्। विष्ट दिउँसै बालुवाटार पुगेर ओलीसँग कुरा गरेका थिए। 

उनीहरुसँगै ओली पक्षीय नेताहरु अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बालुवाटारमै बसेर वार्ता गरिरहेका छन्। तत्काल मिल्नका लागि नेता नेपालले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। 



जसमा सबैभन्दा पहिले ओली २०७५ जेठ २ मा फर्किनुपर्ने अडान राखिएको छ। यति भएमा ओलीलाई वैशाख २७ मा विश्वासको मत दिन सकिने कुरा नेपालले राखेका छन्।

पोखरेल शीतल निवास



बालुवाटारमा वार्ता भइरहेका बेला उपप्रधानमन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

पोखरेल नेपाल पक्षलाई मिलाउने कुरामा एमालेभित्र अनुदार नेताका रुपमा चिनिन्छन्। वरिष्ठ नेता नेपालसँग हिजो छलफल गरेपछि राष्ट्रपतिले पोखरेललाई बोलाएकी हुन्। 

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २०:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया