ओली-नेपाल समूहका ६ नेताबीच बालुवाटार वार्ता सकारात्मक
सहमतिका बिन्दु खोजिँदै, भोलि फेरि बस्‍ने

नेकपा एमालेलाई विभाजन हुनबाट रोक्न केही दिनयता जारी वार्ताले निरन्तरता पाइरहेको छ। मंगलबारदेखि नयाँ शिराबाट जारी वार्ताले विस्तारै सकारात्मक मोड लिन थालेको छ। 

शुक्रबार साँझ ६ बजेदेखि दुई घण्टासम्म ओली र नेपाल पक्षका ६ नेताबीचको वार्ताले सकारात्मक दिशा पक्रिएको हो। वार्तामा सहभागी एकजना नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा वैशाख २७ गते विश्वासको मत एकजुट भएर हाल्ने कुरामा सहमति नजिक पुगेको छ।

उक्त वार्तामा पार्टीलाई एक ढिक्का बनाउने उपाय र विकल्पहरूको खोजी भएको थियो। वार्तामा आगामी वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नेपाल पक्षका ६ बुँदे माग सम्बोधनबारे छलफल भएको हो। तर सहमतिमा पुग्न अझै केही दिन लाग्न सक्ने एकजना नेताले बताएका छन्। 

बालुवाटार वार्ता शनिबार पनि निरन्तरता दिने गरी टुंगिएको छ। वार्तामा एमाले अध्यक्ष ओलीको तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए। 

उता वरिष्ठ नेपाल समूहबाट स्थायी कमिटी सदस्य योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी भएको बताइएको छ। यी नेताहरुबीच बिहीबार पनि होटल याक एन्ड यति र होटल मेरियटमा वार्ता भएको थियो। यो वार्ताले ओली-नेपाल समूहबीच देखिएको विवादलाई समाधानको दिशातर्फ लैजान सहयोग गरेको नेताहरुले बताएका छन्।

बिहीबारको वार्तापछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पार्टीको नयाँ कार्यालय थापाथली हाइटमा भेट्ने कार्यक्रम थियो। तर अझै सहमति जुटि नसकेकाले केही सकारात्मक सन्देशसहित दुई नेता थापाथली प्रवेश गर्ने भएका छन्। 





  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार २२:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया