नेपालमा अहिले कोरोना महामारीको दोस्रो लहरको संक्रमणका कारण देशभरको स्वास्थ्य व्यवस्थामा जटिलता उत्पन्न भएको छ । अस्पतालहरुमा आइसियू र उपचारकक्षको अभाव देखिएको छ भने अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ ।
यस्तो अवस्थामा जनस्वास्थ्यमा देखिएको विकराल अवस्थाको समाधानका लागि सबै क्षेत्र जुट्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा आफै फिल्डमा उत्रिएका छन् । शर्मा कोरोना रोकथाम र उपचारका लागि रुकुम पश्चिममा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेका हुन् ।
सोही क्षेत्रका संघीय सांसद शर्मा कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि अक्सिजन सिलिन्डर र औषधि जुटाउन लागि परेका छन् ।
शर्माले आफ्नो जिल्लामा रहेका विभिन्न अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी जुटाउनका लागि पहल गरिरहेका छन् । महामारीको बेला जनताको बीचमा पुगेका शर्माले विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध पनि गराएका छन् ।
शर्माले हिजो शुक्रबार मात्रै चौरजहारी र सानीभेरी अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । चौरजहारी अस्पतालमा ५० वटा अक्सिजन सिलिन्डर र आवश्यक औषधि उपलब्ध गराएका शर्माले सानीभेरी अस्पतालमा थप बेडको व्यवस्थापनमा सहयोग गरेका छन् ।
महामारीका बेला सबैजना बिनाबर्दीको सेना भएको भन्दै शर्माले स्थानीय स्तरमा स्वास्थ्य सुविधा उपलब्ध गराउने पहल थालेका हुन् । शर्माले रुकुम पश्चिमका अस्पतालहरुमा आवश्यक स्वास्थ्य व्यवस्थापनका लागि सबै तयारी भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।