'कोरोना रोक्न कम्तीमा ४० दिन कर्फ्यु लगाउनुपर्छ'
यसैगरी संक्रमण फैलिए स्वास्थ्य संरचना 'कोल्याप्स' हुन्छ

कोरोना संक्रमणको दोस्रो लहरले नेपालका स्वास्थ्य संरचनाले थेग्नै नसक्ने संकट ल्याइसकेको छ। नागरिक त्रास र पीडामा छन् भने सरकार जिम्मेवारीबाट पन्छिँदै, भाग्न थालेको छ। केही सातामै देशभरका अस्पताल भरिभराउ छन्। एउटा बेड खोज्न पनि प्रधानमन्त्री कार्यालयकै सोर्स लगाउनुपर्ने अवस्था आएको छ। बेड र अक्सिजन अभावमा संक्रमितहरु एम्बुलेन्स र गाडीमै ज्यान गुमाइरहेका छन्। नेपाली सेनालाई शव व्यवस्थापनमा हम्मे परिसकेको छ। दिन प्रतिदिन संक्रमित थपिँदा मृतकको संख्या पनि बढ्दो छ। थप उपचारका लागि बेड अभाव भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पन्छिन थालेको छ। काठमाडौंमा अक्सिजन र बेड नपाएपछि अन्य जिल्लामा संक्रमितको उपचारका लागि लानुपर्ने अवस्था आएको छ। तीव्र गतिमा बढिरहेको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई नै तहसनहस पार्ने खतरा बढिरहेको छ। यो महामारीलाई नजिकबाट नियालिरहेका छन् जनस्वास्थ्यविद् डा. रमेश आचार्यले। अहिलेको महामारी नियन्त्रणका लागि पाँच कुरामा ध्यान दिनुपर्ने जनस्वास्थ्यविद् डा. आचार्य बताउँछन्। उनैसँग फरकधारले गरेको संवाद : 

स्वास्थ्य मन्त्रालयले भनेअनुसार अहिले नै स्थिति नियन्त्रण बाहिर गइसकेको हो ? 

स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १०/१५ हजारको हाराहारीमा आरटी पिसिआर गरिरहेको छ। जसमध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ। संक्रमितमध्ये १० देखि १५ प्रतिशत आइसियु र भेन्टिलेटरमा छन्। देशैभरि १० देखि १५ प्रतिशत नागरिकलाई आइसियु र भेन्टिलेटर चाहिने अवस्थामा यदि देशभर २० हजारको पिसिआर गर्‍याे भने २० देखि २५ प्रतिशत नागरिकलाई आइसियु र भेन्टिलेटर आवश्यक पर्नेछ। यस्तो अवस्था आयो भने स्वास्थ्य प्रणाली नै 'कोल्याप्स' हुने अवस्था आउँछ।

स्वास्थ्य संरचना नै कोल्याप्स हुन लागेको हो भने अब यसलाई कसरी बचाउन सकिन्छ ?

स्वास्थ्य प्रणालीलाई बचाउने हो भने पाँचवटा कुरामा ध्यान दिनुपर्छ। पहिलो कामको रूपमा  कन्ट्याक्ट ट्रेस, कन्ट्याक्ट र क्लोज कन्ट्याक्ट गरेर उनीहरूलाई कडाइका साथ आइसोलेसनमा राख्नुपर्छ । उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ नआइ घर बाहिर जान दिनुभएन।

दोस्रो काम परीक्षण बढाउनुपर्छ। आरटी पिसिआर २० हजारबाट होइन, दैनिक ५० हजारबाट सुरु गर्नुपर्‍यो। जसमध्ये पिसिआर विधिबाट ३० हजार र एन्टिजेन विधिबाट २० हजार  परीक्षण गरियोस्। एन्टिजेन पनि ८० देखि ९० प्रतिशत प्रभावकारी छ। यो चाहिँ कन्ट्याक्ट ट्रेसिङ, कन्ट्याक्ट र क्लोज कन्ट्याक्ट ट्रेसिङमा परेकालाई गर्नु आवश्यक छ।



तेस्रो काम नेपाल-भारत सीमा पूर्ण रूपमा बन्द गर्नुपर्छ। नेपालमा संक्रमण बढ्नुको कारण भारतबाट आएका भारतीय र नेपाली नागरिक नै हुन्। उनीहरूलाई कडाइका साथ सुरक्षित होटलमा वा कहाँ राख्नुपर्ने हो तत्काल कदम चालिनुपर्छ। उनीहरूलाई गाउँपालिका र नगरपालिकासम्म जान दिनु भएन। 

सीमा आसपासमा होटेल वा कतै राखेर पिसिआर परीक्षण गरेर मात्र पठाउनु पर्याे। पिसिआर नेगेटिभ भएकाहरूलाई सम्बन्धित पालिका नगरपालिकाको क्वारेन्टिनमा बस्ने र पोजिटिभ भएकाहरूलाई आइसोलेसनमा बसाउने गरी व्यवस्था गर्नुपर्छ। 



चौथो  भाइरस संक्रमणको प्रमुख हब भनेको अस्पताल तथा सरकारी कार्यालय हुन्। त्यसकारण सरकारी अफिसहरू पूर्ण रूपमा बन्द गर्नुपर्यो। र अस्पतालमा आउने नागरिकका लागि कोभिड र ननकोभिडको लागि छुट्टा छुट्टै व्यवस्था गर्नुपर्छ। सबै जिल्लामा कोभिडका लागि मात्रै भनेर अस्पताल तोक्नुपर्याे। अहिले सबै अस्पताललाई कोभिड अस्पताल बनाएर सिमित अस्पताललाई मात्र ननकोभिड अस्पताल बनाउनु पर्याे।

पाँचौ भनेको मास्क नलगाइ हिँड्ने वा फेसनको रूपमा मास्क देखाएर मात्र हिँड्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। उनीहरूलाई कम्तिमा ९० दिन जेल हाल्ने कानुन ल्याउनुपर्छ। उनीहरूलाई थुनेपछि मात्र अरू सतर्क रहन्छन्। यस्तो गरियो भने जुन चोक तथा गल्लीमा हुने भीडभाडसमेत बन्द गर्न सकिन्छ। अत्यावश्यक नाममा पास दिने काम बन्द गर्नुपर्छ। 

अहिलेको निषेधाज्ञाले संक्रमण झन् बढेको देखिन्छ नि ? 

निषेधाज्ञाले संक्रमण बढाएको होइन। यसले त घरभित्र भएका संक्रमतिलाई अस्पतालसम्म पुर्‍याएको मात्र हो। महामारी नियन्त्रणका लागि एक दुई साता निषेधाज्ञा गरेर हुँदैन। यसका लागि कम्तिमा पनि ४० दिन पूर्ण रूपमा निषेधाज्ञा गर्नुपर्छ। एक साता दुई साता गरेर हुँदैन।

४० दिन कर्फ्यु जस्तो लकडाउन हुनुपर्छ। यसका साथै अस्पताल, सार्वजनिक क्षेत्र, सडक, बाटोघाटो, अफिस आदि जहाँ सम्भावित कोरोना भाइरस रहन सक्ने क्षेत्रमा प्रत्येक दिन डिसइन्फेक्सन गरियो भने पनि संक्रमणको जोखिमबाट बच्न सक्छौँ। केही दिनको असहजतापछि हामी मुलुकभित्र सहज रूपमा आफ्नो जीविकोपार्जन गर्न सक्छौँ। 

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १८:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया