प्रदेश २ का विभिन्न अस्पतालमा जनशक्ति थपिए
प्रदेश मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी

प्रदेश २ सरकारले कोरोना महामारीसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पतालमा जनशक्ति थपेको छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुर, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थपेको हो ।

जसअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा मात्रै करारमा १२८ जना जनशक्ति थपिएको छ । यहाँ आइसियू सञ्चालनका लागि ६८ जनालाई भर्ना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १९ जना थप जनशक्ति उपलब्ध गराइएको छ भने सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ८ जना जनशक्ति थपिएको छ ।
 
सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगंवा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोना महामारीसँग जुध्न थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा ३३ जना जनशक्ति उपलब्ध गराएको छ ।

नवौँ तहका माइक्रोबायोलोजिस्ट ३ जना, सातौँ तहका मेटिकल टेक्नोलोजिस्ट ९ जना, सहायक पाँचौँ तहका ल्याब टेक्निसियन ४ जना, सहायक चौथो तहका ल्याब असिस्टेन्ट ३ जना, कम्प्युटर अपरेटर ३ जना, सवारीचालक २ जना, सेक्युरिटी गार्ड ३ जना, कार्यालय सहयोगी ३ जना र स्विपर ३ जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२–३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५–१५ जना गरी कुल ४१७ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।



मन्त्रिपरिषद् बैठकले कोरोना महामारीसँग जुध्न प्रदेश सरकारका मन्त्रीहरुलाई जिल्ला–जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्रीसमेत निर्धारण गरेको थियो ।  

जसअन्तर्गत सप्तरी जिल्लाका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र बारा तथा पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिइएको छ ।
 
जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धित जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पुलको रुपमा काम गर्ने भएका छन् ।



  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १९:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया