कोभिड नियन्त्रणमा जुट्दै स्थानीय तह, गम्भीर बिरामीलाई प्रदेश अस्पतालकै भर

प्रदेश अस्पताल सुर्खेतमा हाल दैनिक ८ देखि १० जना गम्भीर प्रकृतिका कोरोना संक्रमित रिफर भएर आइरहेका छन् । ती बिरामी दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोट, हुम्ला, डोल्पालगायत जिल्लाबाट आइरहेका हुन् । 

प्रदेशका सबैजसो स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सेन्टर र भेन्टिलेटरको व्यवस्था गरेको बताए पनि गम्भीर बिरामीका लागि प्रदेश अस्पताल एक मात्र गन्तव्यस्थल बनेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतलाई कर्णालीका दुई ठूला र भरपर्दा अस्पतालको रुपमा लिइन्छ । यी अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ छन् । 

रिफर गरिएका केही संक्रमितको बाटोमै ज्यान जाने गरेको छ । केही दिनअघि मात्रै दैलेखबाट रिफर गरेर प्रदेश अस्पताल लैजाँदै गर्दा एकजना कोरोना संक्रमित शिक्षकको बाटोमा नै ज्यान गएको थियो ।  
अहिले कर्णालीमा दैनिक ५ देखि १० जनाको हाराहारीमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । जसमा अधिकांश अन्य अस्पतालबाट रिफर गरिएका बिरामी छन् । रिफर गर्दागर्दै उपचारमा ढिलाइ भएका कारण मृत्यु हुने गरेको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलले बताए । 

‘दैनिक ८ देखि १० जनासम्म गम्भीर प्रकारका संक्रमित रिफर भएर आउने गरेका छन्,’ उनले भने, ‘तीमध्ये धेरैको अवस्था रिफर गर्दागर्दै गम्भीर अवस्थामा पुगिसकेको हुन्छ । त्यसकारण धेरैजसोको मृत्यु भइरहेको छ ।’ 

स्थानीय तहले १५, २५, ५० शय्याको अस्पताल निर्माण गरे पनि गम्भीर प्रकारका बिरामीको उपचार नै नपाएर मृत्यु हुने अवस्था रोकिएको छैन । शनिबार प्रदेश अस्पताल सुर्खेतको कोभिड वार्डमा ८२ जना बिरामी छन् भने इमरजेन्सीमा ७ जना बिरामी रहेको डा. पौडेलले जानकारी दिए । जुन क्षमताभन्दा तीन गुणा बढी हो । स्थानीय तह, जिल्लाले बनाएको आइसोलेसन कक्षले धेरै मात्रामा ठूला अस्पतालको चापलाई कम गरे पनि मृत्युदर भने दैनिक बढिरहेको छ । 

स्थानीय तह तथा जिल्ला अस्पतालमा निर्माण गरिएका कोभिड अस्पतालमा सबै सेवा–सुविधा नहुँदा बिरामी रिफर गर्नुपर्ने अवस्था आउने गरेको डा. पौडेल बताउँछन् । भौगोलिक विकटताका कारण रिफर भएका बिरामी अस्पताल आउँदै गर्दा मृत्यु हुने गरेको उनको भनाइ छ । ​



स्थानीय तहका कोभिड अस्पताल 

कोरोना भाइरसको दोस्रो लरह फैलिएसँगै स्थानीय तह यसको रोकथाम र नियन्त्रणमा जुटेका छन् । प्रदेशका सबै पालिका आ–आफ्नै तरिकाले रोग नियन्त्रणमा लागेका हुन् । उनीहरु एम्बुलेन्स, अक्सिजन, आइसोलेसन, भेन्टिलेटरसहितका सामग्रीको जोहोमा लागेका छन् । 



प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोभिड अस्पतालको सुरुवात गरेको छ । अस्पतालमा अक्सिजनसहित डाक्टर, नर्सको व्यवस्थापन गरिएको बताइएको छ । 
नगरपालिकास्थित (कटकुवा स्वास्थ्य चौकीमा) निर्माण गरिएको कोभिड अस्पताल आवश्यकताअनुसार ५० शय्याको बनाउने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । 

यस्तै, सुर्खेतकै सिम्ता गाउँपालिकाले ५० बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । गाउँपालिका वडा नम्बर ४ स्थित बजेडीचौर स्वास्थ्यचौकीमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टरको स्थापना गरेको हो । 

सुर्खेतकै चौकुने गाउँपालिकाले पनि अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । अक्सिजनका लागि गाउँपालिकाले ६ वटा सिलिण्डरसमेत खरिद गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । सुर्खेतकै गुर्भाकोट नगरपालिकाले पनि २५ बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । 

सल्यानको वनगाडकुपिण्डे नगरपालिकाले पनि अक्सिजनसहितको १५ शय्याको आइसोलेसन सेन्टर तयार पारेको छ । आइसोलेसनमा अक्सिजनका पाँचवटा सिलिण्डर राखिएका छन् । यसरी स्थानीय तह कोरोना नियन्त्रणमा जुटे पनि सबै स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा अक्सिजन, भेन्टिलेटर, स्वास्थ्यकर्मीको अभाव छ । 

सबै स्थानीय तह, जिल्लालाई कोभिड नियन्त्रणका लागि लाग्न पत्राचार गरिएको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले बताएको छ । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले कोरोना नियन्त्रणका लागि १० वटै जिल्लामा एक–एक करोड रुपैयाँका दरले बजेट पठाइएको र उक्त रकम सम्बन्धित जिल्लाले आवश्यकताअनुसार खर्च गर्ने बताए ।

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १९:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया