आफैँलाई बिर्सिएर बिरामीको सेवा गर्छन नर्स, संक्रमित हुने उत्तिकै डर
भन्छन् : सबैथोक त्यागेर सेवामै तल्लीन छौँ
फरकधार / २७ बैशाख, २०७८

विश्व कोरोना भाइरसबाट आतंकित भइरहेको छ। विभिन्न देशमा भाइरसको दोस्रो भेरियन्ट फैलिएको छ। नेपालमा पनि दोस्रो भेरियन्टको संक्रमणसँगै धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।



महामारीको समयमा नर्स अहोरात्र खटिरहेका छन्। डाक्टरसँगै फ्रन्टलाइनमा बसेर खटिने उनीहरूलाई भने धेरैले वेवास्ता गरेका छन्। अस्पतालले डाक्टरलाई क्याबिनको व्यवस्था गरिदिने तर स्टाफ नर्सको स्वास्थ्य सुरक्षालाई भने खासै ध्यान नदिएको उनीहरू गुनासो गर्छन्। 

नोबेल अस्पताल सिनामंगलमा कार्यरत नर्स हुन् सरिता बानियाँ। उनी हाल अस्पतालको कोभिड वार्डमा खटिएकी छन्। दिनमा १२ देखि १३ घण्टासम्म कोभिड बिरामीसँग समय बिताउँछिन् उनी। एउटा सिफ्टमा २ जना नर्सले १३ जना बिरामीको हेरचाह गर्छन्। दुई जना नर्समध्ये एक जनाले सात देखि आठ घण्टा पिपिइ सुट लगाएर काममा खटिन्छन्। खाना, पानी तथा शौचालय सबै थोक त्यागेर सेवामा लागि पर्छन्।



सरिता बानियाँ, नोबल अस्पताल सिनामंगल काठमाडौं

यसरी १२ घण्टा कोभिड वार्डमा काम गरेर घरमा आउजाउ गर्दा घरका परिवारलाई समेत खतरा हुने उनी बताउँछिन्। ‘भोक प्यास निन्द्रा सबै त्यागेर बस्छौँ। एकदमै जोखिम मोलेर काम गर्दैछौँ। हामीसँगै काम गर्ने एक जना साथीलाई कोभिड पोजेटिभ देखिएको छ। यस्तो अवस्थामा कति साथीले त जागिर छाडेर गइसक्नुभयो। यस्तोमा हामीले काम गर्नु परिरहेको छ। हामी निकै जोखिममा छौँ।’

उनका अनुसार अस्पताल प्रशासनले समेत उनीहरूको स्वास्थ्यमा लापरवाही गरिरहेको छ। गत साता उनीहरूले आफ्ना माग सम्बोधनका लागि आवाज उठाएका थिए। अस्पतालले हाल कोभिड पोजेटिभ देखिएकी नर्सलाई भने आइसोलेसनको व्यवस्था गरेको छ। अस्पतालमा कार्यरत ८ नर्समध्ये हाल ४ जना नर्स कोभिड वार्डमा खटिएका छन्। 

भेरी अस्पतालमा कार्यरत शिला शर्मा कामले थाकेकी हुन्छिन्। काममा दिनरात नभनी लाग्नुपर्दछ। उनी लगायत उनका साथी दैनिक सात देखि दस घण्टासम्म पिपिइ सुट लगाएर बिरामीको सेवामा खटिरहेका छन्।  नेपालगञ्जको गर्मीमा पिपिइ लगाइ काम गर्दा जिउ पसिनैपसिना हुन्छ। उनी भन्छिन्, ‘एक जनाले ३० जनासम्म बिरामी हेर्नु परेको थियो। अहिले स्टाफ थपिएकाले अलिकति प्रेसर कम भएको छ।’

शिला शर्मा, नर्सिङ अधिकृत भेरी अञ्चल अस्पताल

सँगै काम गरेका साथी संक्रमित हुँदा डर लाग्छ। घरमा गए पनि जति सक्दो छिटो काम सकेर बिरामीलाई हेरौँ भन्ने हुन्छ उनलाई। उनी भन्छिन्, ‘साथी संक्रमित हुँदा चिन्ता लाग्छ। कतै अलि अप्ठयारो परिस्थिति आउँछ कि भनेर।’ 

अस्पतालको नर्सिङ अधिकृत समेत रहेकी उनलाई आफूसँगै काम गर्ने अन्य नर्सको पनि ख्याल गर्नु पर्ने हुन्छ।   साथीको संक्रमण फैलने अथवा बढ्ने चिन्तासँगै कामको प्रेसर कसरी मिलाउने भन्ने अर्को तनाव थपिन्छ। अस्पतालमा अहिले १० भन्दा धेरै नर्स फ्रन्टलाइनमा खटेर काम गरिरहेका छन्।

हाल यसरी नै फ्रन्टलाइनमा बसेर खटिने अर्की नर्स हुन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी बेली पौड्याल। उनले कोरोनाको पहिलो लहरमा पनि फ्रन्टलाइनमा बसेर काम गरेकी थिइन्। टेकु अस्पतालमा अहिले बिरामी राख्ने ठाउँ छैन। भन्टिलेटरदेखि सामान्य आइसोलेसनको लागि पनि बेड छैन। यस्तो अवस्थामा बहिर छिँडीमा राखेर हुन्छ कि कसरी हुन्छ सकेसम्म बिरामी उपचारमा जुटेको छ टेकु अस्पताल। 

बेली पौड्याल, नर्स, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

उनी भन्छिन्, ‘बिरामी थपिएका छन्। अस्पतालमा बेड छैन। आउने बिरामीमध्ये धेरैको अवस्था दयनीय छ। डरैडरमा काम गर्नुपरिरहेको छ। ’ उनका अनुसार काममा खटिँदा खानादेखि शौचसम्म केही गर्न पाइँदैन। सातदेखि नौ घण्टासम्म निकै समस्या हुन्छ। ‘दिनको सिफ्टमा काम गर्दा त त्यति समस्या हुँदैन। रातिको सिफ्टमा भने धेरै बेर काम गर्नुपर्ने हुन्छ’ उनले भनिन्।  कोही साथी बिरामी भइ हालेमा समय थपेर गरेर काम गरिरहेका हुन्छन्। 

बिरामीको सेवामा फ्रन्ट लाइनमा बसी काम गर्दा आफूसँगैका साथी संक्रमित हुँदा निकै डर लाग्ने गरेको उनीहरू बताउँछन्। कहिले कहीँ त बिरामीको स्याहार गर्दागर्दै आफैलाई केही हुने हो कि भन्ने डर लाग्छ। त्रिवि शिक्षण अस्पतालकी एक नर्स (नाम खुलाउन नचाहेको) भन्छिन्, ‘काम गर्दा आफ्नो ज्यानलाई बिर्सिएर काम गर्ने गरेका छौैँ ’ उनी भन्छिन्।

  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार ९:०:४६,   अन्तिम अपडेट : बैशाख २७, २०७८ साेमबार ११:५५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया