१२ घण्टाभित्र जेठ २ मा फर्केलान् ओली ? यी हुन् नेपाल पक्षका सम्भावित कदम
नेताहरु भन्छन् : नयाँ पार्टीको कुरा अर्को चरणमा हुन्छ

यदि प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेल र सुवास नेम्वाङलाई हतार हतार सिंहदरबार नपठाएको भए माधवकुमार नेपालसहितका सांसदको राजीनामा यतिबेला स्वीकृत भइसक्थ्यो। 

तर सिंहदरबारमा पौडेल र नेम्बाङसँग करिब एक घण्टा लामो वार्तापछि उठेका नेता नेपालले त्यहीँ लेखा समितिको हलमा आफूपक्षीय सांसदहरुसँग तीन घण्टा बैठक गरे। नेता योगेश भट्टराईका अनुसार तीन घण्टा त्यस बैठकले ओलीलाई अबको १३ घण्टामा जेठ मा फर्किने समय दियो। उनीहरुको निर्णयको १३ घण्टाभित्र ओली ‘यु टर्न’नभए एमालेको फुट पक्का हुनेछ।

ओलीको विश्वासको मतको परीक्षा एकातिर छ भने २०५४ सालमा विभाजनको हबिगत भोगिसकेका एमालेका सांसदहरुले लिने भनेको ‘कठोर निर्णय’ अर्कोतिर । 

सामूहिक राजीनामा गर्ने निर्णयसहित भर्चुअल बैठकबाट बिदा भएका नेताहरु आज संसद सचिवालयमा उपस्थित त भए तर राजीनामा बुझाएनन्। अर्थात माधव नेपाल आफूले पनि राजीनामा खल्तीमा हाले भने अरुलाई पनि खल्तीमा हाल्न लगाएर घर पठाए। 

संसद सचिवालयमा पत्र दर्ताको तयारी थाल्दा नथाल्दै ओलीले नेपाललाई फोन गरेका थिए। त्यसपछि दौडिँदै पौडेल र नेम्बाङ संसद सचिवालयमा पुगेर माधव नेपालसँग वार्ता गरे।

केहीबेर पौडेल र नेम्वाङको कुरा सुनेर निस्किएका नेपालले पुनः आफू पक्षीय सांसदहरुको भेला गरे । सांसद योगेश भट्टराईका अनुसार भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम ओलीलाई दिएर बैठक सकिएको छ।



दुई बुँदा

बिहान ९ बजेसम्म ओलीले आफूहरुका २ बुँदा पूरा गर्ने प्रतिवद्धता नजनाए कठोर निर्णय गर्ने चेतावनी भट्टराईले दिएका छन् । ती दुई कठोर निर्णयमा एउटा सामूहिक राजीनामा र अर्को विश्‍वासको मतमा फ्लोर क्रस। नेपाल समूहले सर्वोच्च अदालतको फागुन २३ को निर्णयानुसार २ जेठ ०७५ मा फर्किने र आगामी निर्णय सहमतिका आधारमा हुनुपर्ने शर्त राखेको छ । 



गत वैशाख ७ र ९ गतेको होटल मेरियटको घण्टौँ वार्तामा नमिलेको यो विषय भोलि ओलीले सहजै मान्लान् त ? यो प्रश्नले धेरैलाई सताएको छ। ‘अझै पनि माधवकुमार नेपालबाट प्रधानमन्त्रीलाई सम्पर्क समन्वय गरेर ०७५ जेठ २ को अवस्थामा फर्किने गरी निर्णयमा पुग्ने धेरैको राय आयो। त्यही कोणबाट नेता नेपाललाई जिम्मेवारी दिएर पठाएका छौँ', एकजना सांसदले भने। 

उनका अनुसार बैठकमा सबैले एक मत राखेका थिए। वैशाख ९ गते होटल मेरियटबाट निस्किएर सोझै जनकपुरधाम पुगेका नेपालले भनेका थिए,‘बालुवाटारको बालुवा पेलेर तेल निस्कँदैन ।’ 

विभाजनको डिलमा पुगेको एमाले बचाउन गरिएको यो अन्तिम प्रयास फेल खायो भने के हुन्छ ? भन्ने प्रश्नमा ती सांसद भन्छन, ‘भोलि १०-११ बजे राजीनामा हुन्छ । सबै तयार हुनुहुन्छ। अझै पनि मिलनबिन्दु खोज्ने अन्तिम प्रयास गर्न नेपाललाई सबै साथीहरुको अनुरोध रह्यो । यदि जेठ २ मा फर्कने संकेत प्रधानमन्त्रीले नदिए राजीनामा आउँछ।’

नयाँ पार्टी खोल्नेबारे अहिले चर्चा नभइसकेको उनले बताए । आजको बैठकमा भोलिको विषयमा मात्र केन्द्रित रहेको उनले बताए। ‘नयाँ पार्टी त अर्को चरणको कुरा हो। अहिले चाहिँ हामी भोलिका लागि निर्णयमा पुग्यौं,’ उनले भने,‘नयाँ ढंगले जानुपर्यो भने अर्कै परिस्थितिको विकास हुन्छ, त्यसपछि नयाँ ढंगले योजना बन्छ ।’

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार २१:१३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया