ओलीलाई नै साथ दिने महन्थ ठाकुरको घोषणा

संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमबारबाट प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भइसकेका छन् । 

संघीय संसदले ओली पदमुक्त भएको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार साँझ नै दियो । यसपछि राष्ट्रपति भण्डारीले सोमबार राति नै संविधानको  धारा ७६(२) अनुसार बहुमत जुटाएर सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिसकेकी छिन् । 

नयाँ सरकार निर्माणका लागि निर्णायक देखिएको संसदको चौथो दल जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले ओलीलाई नै साथ दिने भएको छ । 

जसपाका एक अध्यक्ष महन्थ ठाकुरले सोमबार राति नै विज्ञप्ति जारी गर्दै आफूहरुको माग केपी ओलीले नै सम्बोधन गरिरहेकाले उनको विपक्षमा नजाने घोषणा गरेको छ । 

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बसेको जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणका लागि ओलीलाई नै समर्थन गर्ने भएको हो ।  

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो’ ठाकुरले विज्ञप्तिमा भनेका छन् । 



नयाँ सरकार गठनमा लाग्दा  झन अस्थिरता हुने र आफ्ना एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने दावी उनले गरेका छन्। 

सोमबार संसदमा भएको मत विभाजन अनुसार ठाकुरको पक्षमा १५ मत छ। सोमबार नै प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा आएको मतको अंक गणित अनुसार विपक्षी दललाई नयाँ सरकार गठनका लागि १२ मतको कमी देखिन्छ । 



बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दलहरूलाई ३ दिनको समय दिएकी छिन् । 

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार ६:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया