काठमाडौंबाट अन्यत्र सार्न थालियो संक्रमित बिरामी

यतिबेला काठमाडौंका अस्पताल कोरोना संक्रमित बिरामीले भरिभराउ छन्। बिरामीलाई बेड नपाएर अस्पताल बाहिरै राखेर उपचार गरिरहेका दृश्य देखिन्छ।

कतिपय बिरामीले बेडको पर्खाइमा बस्दाबस्दै ज्यान समेत गुमाउनु परेको छ। काठमाडौं उपत्यकाका कोभिड डेडिकेटेड अस्पतालदेखि निजी अस्पतालसम्म सबै भरिएका छन्। 

राम्रो उपचार हुने भन्दै काठमाडौं आउने बिरामी यतिबेला भने अन्यत्र ‘मूभ’ हुन थालेका छन्। त्यसका लागि झापा र चितवनका अस्पताल टार्गेटमा परेका छन्। 

झापाको बिएण्डसी अस्पतालमा सोमबार मात्रै काठमाडौंबाट एयर लिफ्ट मार्फत पाँच जना गम्भीर खाले बिरामी लगिएका छन्। काठमाडौंमा आइसियू र भेन्टिलेटर नपाएपछि ती बिरामीलाई बिर्तामोडमा रहेको बिएण्डसीमा ल्याइएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

बिएण्डसीले ५० बेडको आइसियू बनाएको छ। बिरामीको चाप बढेको खण्डमा अझै आइसियू र भेन्टिलेटर थप गर्ने प्रतिबद्धता बिएण्डसीले जनाएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए।



झापाका विभिन्न अस्पतालमा अहिले १७८ जनाको संक्रमित बिरामीको उपचार भइरहेको छ। आफूहरूको पहिलो प्राथमिकता भनेकै बिरामीको राम्रो उपचार गर्नु रहेको प्रजिअ तिमल्सिनाको भनाइ छ। 

झापामा इलाम, पाँचथर, ताप्लेजुङका बिरामी आउने गरेका छन्। झापामा अहिलेसम्म झण्डै १५०० संक्रमित छन्। तीमध्ये १९ जनाको ज्यान गइसकेको छ। 



बिएण्डसी अस्पताल, ७५ बेडको मेची अस्पताल, मनमोहन अस्पताल, बिर्ता सिटी अस्पताल, दमक अस्पताल लगायतका अस्पतालमा कोरोनो संक्रमितको उपचार भइरहेको छ। 

चितवन पनि काठमाडौंबाट बिरामी लिफ्ट गर्ने अर्को गन्तव्य बनिरहेको छ।

चितवनका विभिन्न अस्पतालमा ५० प्रतिशत भन्दा बढी बिरामी बाहिरका छन्। ती मध्ये केही काठमाडौंबाट हेलिकोप्टरमार्फत लगिएकाहरु छन्। 

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले ५० प्रतिशतभन्दा बढी बिरामी चितवन बाहिरका रहेको जानकारी दिए। आजसम्म चितवनमा ४२६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। ती मध्ये २०० भन्दा बढी चितवन बाहिरका छन्। 

प्राय गरी मकवानपुर, तनहुँ, लमजुङ, गोरखा, धादिङ, लगायत जिल्लाका नागरिक उपचारका लागि चितवनमै भर पर्छन्। तर, अहिले भने काठमाडौं, नेपालगञ्ज, भैरहवा लगायतका शहरबाट रिफर भएर आउने गरेको स्वास्थ्य कार्यालय प्रमुख तिवारीले बताए। 

देशभर अक्सिजन, आइसियू र भेन्टिलेटरको अभाव भइरहेका बेला चितवनमा भने अहिलेसम्म अभाव छैन। अक्सिजन प्रयाप्त मात्रामा छ। कोरोना संक्रमितको उपचार हुने भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसको आफ्नै अक्सिजन प्लान्ट छ। त्यहाँ अहिलेसम्म अक्सिजनको अभाव नरहेको प्रमुख तिवारीले बताए। यी तिनै ठूला अस्पतालमा बेडको समेत समस्या नरहेको उनको भनाइ छ। 

अब भने विस्तारै बाहिरका बिरामी भर्ना गर्न नसकिने अवस्था आउन लागेको उनले बताए। १४५ बेडको भरतपुर अस्पतालमा १० आइसियू २५ एचडीयू छन्। त्यस्तै २६० बेडको चितवन मेडिकल कलेजमा १६२ बेड आइसियू र ७३ बेड एचडीयू छन् भने २५ कोभिड क्याबिन छन्। 

त्यस्तै २०० बेड रहेको कलेज अफ मेडिकल साइन्सेजमा ९० बेड आइसियू ३० बेड एचडीयू छन्। चितवनका अन्य ९ वटा अस्पतालमा समेत कोरोनाका बिरामीको उपचार भइरहेको छ। 

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार ११:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया