मास्कको मूल्यमा कालोबजारी, कच्चा पदार्थको अभाव

कोरोना महामारीको जोखिम तीव्र भएसँगै प्रदेश १ मा मास्कको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु भएको छ । 

सुनसरी मोरङ र झापामा निषेधाज्ञा जारी हुनुभन्दा दुई दिन अघिसम्म होलसेलमा प्याकेटको २ सय रुपैयाँमा पाइने मास्क अहिले ५ सय रुपैयाँमा समेत पाउन छाडिएको छ ।

८० रुपैयाँ प्रतिप्याकेट पाइने लोकल मास्क २५० मा बिक्री भइरहेको छ । 

सुनसरी मोरङमा तीन लेयर भएका मास्क उत्पादन गर्ने उद्योग ६ वटा छन् । भने दुई लेयर भएका मास्क  उत्पादन गर्ने उद्योग १० को हाराहारीमा छन् ।

कच्चा पदार्थको अभाव देखाएर मास्क उद्योगहरूले  बजारमा कृत्रिम अभाव खडा गरेको व्यापारीहरूले आरोप लगाएका छन् ।

भारतमा मास्कको अत्यधिक माग रहेको र नेपालमा उत्पादन भएको मास्क भारत पठाएर नेपालमा अभाव सृजना गरेको व्यापारीहरूको आरोप छ ।



मोरङमा ६ वटा उद्योगले औरा, रिजालको, राठी, डिजिलाइफ, टु-लिप्स र जिडिएस ब्रान्डका थ्रि लेयर मास्क उत्पादन गर्दै आएका छन् ।

एउटा उद्योगले दैनिक ७० देखि ८० हजार पिस मास्क उत्पादन गर्छ ।



दोस्रो चरणको महामारी आउनुअघि थोकमा १ रुपैयाँ ५० पैसादेखि १ रुपैयाँ ९० पैसा प्रतिगोटाका दरले बिक्री भइरहेको मास्क अहिले ४ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँ प्रतिगोटाका दरले बिक्री भइरहेको व्यापारी अमर गोश्वामि बताउँछन् । 

रिजालको मास्क उत्पादन गर्दै आएका उद्योगी नवीन रिजाल मास्कको अभाव नभएको र मूल्य पनि धेरै नभएको दाबी गर्छन् । 

अहिले सहज हुँदै गएको छ । १० दिन भित्रमा हामी एक रुपैयाँ पचास पैसामा बिक्री गर्न सक्ने अवस्थामा हुन्छौं । 

उद्योगबाट डिस्ट्रब्युटर, होलसेल र खुद्रामा पुग्दा उपभोक्ताले बढी मूल्य तिर्नु परेको उद्योगी रिजालले बताए । 

मास्क बनाउन प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात हुने गरेको छ । भारतमै महामारी बढेकाले कच्चा पदार्थ पाउन नसकेकाले मूल्य बढेको मास्क एसोसिएसन अफ नेपालले जनाएको छ ।

मोरङमा मात्रै दैनिक ३ टन इयर लुक (डोरी) को खपत रहेको मास्क एसोसिएसन अफ नेपालले जनाएको छ । 

भारतबाट आयात रोकिएपछि ४० दिन पर्खिएर चीनबाट कच्चा पदार्थ आयात गर्नुको विकल्प नरहेको उद्योगी रिजालले बताए ।

महानगरको अनुगमन 

कोरोना माहामारीको समयमा विराटनगरका व्यापारीले मास्क र सेनिटाइजर कालो बजारी गर्न थालेको गुनासो बढ्न थालेपछि नियामक निकायले अनुगमन सुरु गरेको छ । 

विराटनगर महानगरपालिका क्षेत्र भित्रका विभिन्न होलसेल औषधी बिक्रेता तथा खुद्रा औषधी बिक्रेता फार्मेसीहरूमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा गुणस्तरहीन सेनिटाइजर र एमआरपी नभएको मास्क व्यापारीले बेचेको भेटेपछि सर्जिकल पसलबाट ३ हजार थान मास्क र ५ लिटर सेनिटाइजर बरामद गरेको छ ।

अनुगमनका क्रममा विराटनगर हस्पिटल चोक, जलजला चोक, लगायत नगर क्षेत्रका विभिन्न स्थानमा रहेका कलश फर्मा, उज्ज्वल फर्मा, लोटस फर्मा र थोक बिक्रेता श्री सर्जिकल, ड्रग इम्पोरियम गरी एक दर्जनभन्दा बढी औषधी पसलको अनुगमन गरिएको थियो ।

अनुगमनमा अधिकांश औषधी पसलमा मास्क र सेनिटाइजरको मूल्य निर्धारण नगरेको गुणस्तरीय मास्क, सेनिटाइजर समेत नरहेको पाइएको छ । गुणस्तरहीन सेनिटाइजर एमआरपी नभएको मास्क जफत गरिएको विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले बताइन्  ।

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १२:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया