नयाँ सरकार : उपेन्द्रले खुट्टो उचाले, महन्थले राष्ट्रपतिलाई चिठ्ठी पठाए
जसपाका शीर्ष नेताको आफ्नै दाउ, एक हुने सम्भावना छैन

प्रधानमन्त्री केपी शर्मा ओली संविधानत: पदमुक्त भएपछि अहिले नयाँ सरकारका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र समूहले संयुक्त दौडधूप सुरु गरेका छन्। 

ओलीले संसदमा विश्वासको मत गुमाएपछि सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छिन् । 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पाउन सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेश गर्न आग्रह गरेकी छन्। 

त्यसअघि नै सोमबार संसदबाट बाहिरिएलगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको यादव समूहले नयाँ सरकार निर्माण प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका थिए। 

तीन दलको समेत आग्रहपछि दोस्रो ठूलो दल नेपाली कांग्रेस, अर्को दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) यादव समूहले सत्ताको बागडोर लिने कोसिस गरिरहेका बेला महन्थ ठाकुर त्यसमा बाधक बनेका छन्। जसपाका प्रथम अध्यक्षसमेत रहेका ठाकुरले हिजै राति एक वक्तव्य निकालेर ओली सरकारले नै मधेस आन्दोलनका मुद्दा फिर्ता र अन्य माग सम्बोधन अघि बढाइसकेको अवस्थामा नयाँ सरकार निर्माणका कुनै प्रयासमा आफ्नो संलग्नता नहुने बताइसकेका छन्। 



जसपामा उपेन्द्र–बाबुराम भट्टराई समूह नयाँ सरकार बनाउने अभियानमा छ। उपेन्द्र कांग्रेस-माओवादीसँग मिलेर शक्तिशाली मन्त्री हुने योजनामा छन्। अर्कातिर बाबुराम भने कांग्रेस र माओवादी दुवैलाई हातमा लिएर सकेसम्म आफैँ प्रधानमन्त्री हुने दाउमा छन्। 

तर ३२ सांसदसहितको जसपा सिंगै कुनै एक पक्षतिर नउभिएसम्म अहिले तत्कालै ओलीको विकल्पमा सरकारको सम्भावना टर्दै गएको छ। ठाकुरले हिजै प्रष्टसँग अहिले आफ्नो एजेन्डा मधेसका मुद्दाको सुनुवाइ रहेको बताइसकेका छन्। 



उता बाबुरामले भने नयाँ सरकार तत्काल बनाउन पहल गर्नुपर्ने बताउँदै दलहरूलाई एकजुट हुन भनेका छन्। उनले नयाँ वैकल्पिक सरकार बनाउने क्रममा राष्ट्रपति संस्थाको दुरुपयोग हुन सक्ने जिकिर पनि गरेका छन्। 

महन्थ बाधक 

नयाँ सरकार बनाउने उपेन्द्र-बाबुरामको योजनामा महन्थ ठाकुर बाधक बन्ने देखिएको छ। हिजो मात्रै उपेन्द्रले शेरबहादुर र पुष्पकमल दाहालसँग मिलेर संयुक्त वक्तव्य निकाल्दै राष्ट्रपतिलाई नयाँ सरकार निर्माण प्रक्रिया अघि बढाउन भनेका थिए। 

तर उनको यो वक्तव्य र सरकारमा जाने निर्णयलाई अध्यक्ष ठाकुरले व्यक्तिगत निर्णयको संज्ञा दिएका छन्। ठाकुरले यसबारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र नै लेखिसकेको दाबी उनीनिकट एक नेताले गरेका छन् ।

उपेन्द्र यादवको पार्टीको नभएको भन्दै उनले व्यक्तिगत निर्णयलाई मान्यता नदिन आग्रहसहित ठाकुरले राष्ट्रपतिलाई पत्र पठाएका हुन्। विद्युतीय माध्यमबाट पठाइएको उक्त पत्रमा उनले आफू नै पार्टीको आधिकारिक र पहिलो अध्यक्ष भएको दाबी गरेका छन्। 

‘जसपाको नाममा भएको उपेन्द्र यादवको हस्ताक्षर उनको व्यक्तिगत हो, त्यसले पार्टीको प्रतिनिधित्व गर्दैन', उनको पत्रबारे जसपाका एक नेताले भने, 'अहिले पनि पार्टीको आधिकारिक र पहिलो अध्यक्ष म नै हो। पार्टीले अहिले कुनै पनि पक्षको सरकारमा सहभागी हुने निर्णय गरेको छैन। त्यसैले जसपा अहिले गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी हुन सक्दैन।'

ठाकुरले सोमबार राति निकालेको विज्ञप्तिमा अहिले पनि आफूले ओली सरकारलाई नै साथ दिएको संकेत गरेका थिए। यही सरकारले आफ्ना माग पूरा गर्दै गएकाले सरकार फेरबदलको खेलमा आफू नलाग्ने ठाकुरले भनेका थिए। उनले आफ्नो अहिलेको एजेन्डा मधेस आन्दोलन र आफ्ना बाँकी माग सम्बोधन गराउने नै रहेको पनि उल्लेख गरेका छन्। 

जसपामा विवाद 

ओलीले विश्वासको मत गुमाएपछि सोमबार राति जसपा प्रथम अध्यक्ष ठाकुरले प्रेस वक्तव्य निकालेर जसपा केपी ओलीको विकल्पमा अर्को सरकार गठनमा नलाग्ने स्पष्ट पारेका थिए। उनले राष्ट्रपतिले दिएको तीन दिनको समयभित्र आफ्नो दल कतै नलाग्ने लिखित जानकारी शीतल निवासमा दर्ता गराएका हुन्। 

तर उनले चिठी सार्वजनिक गरेलगत्तै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले नयाँ सरकारका लागि एकतावद्ध भूमिका खेल्नुपर्ने बताएका थिए। 

'अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन : मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो', उनले भनेका थिए, 'त्यस निम्ति सबै संकिर्ण दलीय/गुटीय सोचभन्दा माथि उठ्नै पर्छ । वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ।’

जसपाले राष्ट्रिय भूमिका निभाउनुपर्ने भन्दै उनले अब बल दलहरूको कोर्टमा आएकाले लोकतन्त्र रक्षा गर्दै कोरोना लगायत राष्ट्रिय समस्याको हल गर्न नयाँ सरकारको आवश्यकता औंल्याएका थिए। जसपाबाट मिलेमा उनी आफैँ पनि प्रधानमन्त्री हुने दौडमा छन्। 

डा. भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा अझै प्रश्न उठाएका छन्। उनले वैकल्पिक सरकार बन्न नदिन चलखेल हुन सक्ने भन्दै सतर्क हुन दलहरूलाई आग्रह गरेका छन्। राष्ट्रपति संस्थाको अझै दुरुपयोग हुन सक्ने उनको शंका छ। 

'सतर्क रहौँ, चलखेल नहोस्, वैकल्पिक सरकार बन्‍न नदिने, संसद विघटन गर्ने, प्रायोजित चुनाव गर्ने, त्यसनिम्ति राष्ट्रपति संस्था दुरूपयोग गर्ने र राजपा फुटाउने हुन सक्छ', उनले भनेका छन्, 'ख्याल रहोस् मधेसी जनता/नेता भेडाबाख्रा होइनन्। जसलाई हरियो घाँस देखाएर बलि चढाउन सकियोस्,वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून्।'

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १२:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया