नेपालमा कोभिड संक्रमण सुरु भएपछि मेडिकल ल्याबहरूको व्यापार बढेको छ । सामान्य अवस्थामा थोरै व्यापार गर्ने निजी क्षेत्रका ल्याबहरुले पनि कोरोना भाइरस संक्रमण भए नभएको यकिन गर्न गरिने पिसिआर परीक्षणबाट राम्रो व्यापार गरेको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत वैशाख २३ गतेसम्ममा ल्याबहरुले १० लाख ५४ हजार २२६ नमुनाको पिसिआर परीक्षण गरेका छन् । यो संख्या सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित ल्याबहरूको मात्रै हो । अस्पतालका ल्याबहरुले गरेको परीक्षणको संख्या भने यो तथ्यांकमा समावेश छैन ।
नेपालमा कोभिड संक्रमण फैलन सक्ने भन्दै सरकारले पहिलो पटक २०७६ सालको चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेर पिसिआर परीक्षण गर्न सुरु गरेको थियो । सुरुमा सरकारी ल्याबहरूले निःशुल्क परीक्षण गरेका थिए । पछि निजी क्षेत्रबाट सञ्चालित ल्याबहरूलाई पनि पिसिआर परीक्षण गर्ने अनुमति दिइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ को असार ८ गते एउटा निर्देशिका जारी गरेर निजी क्षेत्रका ल्याबहरूले पिसिआर परीक्षण गर्न पाउने बाटो खुला गरेको थियो । सो निर्देशिकामा निजी क्षेत्रका ल्याबहरूले स्वाब संकलन गर्न नपाउने र सरकारी ल्याबहरूले संकलन गरेको स्वाब मात्रै परीक्षण गर्न पाउने भनिएको थियो ।
तर, २०७७ कै साउन १५ गते मन्त्रालयले निजी ल्याबहरूलाई पनि स्वाब संकलन गरेर परीक्षण गर्न पाउने गरी पहिलो पटक मूल्य पनि तय गरेको थियो । सो मूल्य अनुसार स्वाब पिसिआर गरेको प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको थियो ।
सरकारले पिसिआर परीक्षण शुल्क प्रतिनमुना ५ हजार ५ सय रुपैयाँ तोके पनि निजी क्षेत्रका ल्याबहरूले सोभन्दा सस्तोमा पिसिआर गराउने घोषणा नै गरेका थिए । त्यसपछि मूल्य क्रमशः घट्दै गएको हो । सरकारले पछिल्लो समय पिसिआर परीक्षण गर्दा प्रतिनमुना १ हजार रुपैयाँ तोके पनि सरकारी बाहेक निजी क्षेत्रबाट सञ्चालित र अस्पतालहरूले सञ्चालन गरेका प्रायः सबै ल्याबहरूले प्रतिनुमना २ हजार रुपैयाँमा स्वाब परीक्षण गरिरहेका छन् ।
कसले कति रुपैयाँको व्यापार गरे ?
देशभर अहिले सरकारी र निजी गरी ८६ वटा ल्याब रहेको तथ्यांक सरकारसँग छ। सरकारी ल्याबहरूमा सुरुमा स्वाब परीक्षण निःशुल्क गरिएको भए पनि पछि प्रतिनमुना १ हजार रुपैयाँ शुल्क लिएर परीक्षण गर्न थालिएको छ । अहिले पनि लक्षणसहितका व्यक्तिहरूको निःशुल्क परीक्षण गराउने सरकारी निर्णय छ । यस्तै, पैसा तिर्न सक्दिन भन्ने व्यक्तिहरूलाई निःशुल्क परीक्षण गराउने सरकारको निर्णयमा उल्लेख छ ।
सुरुमा निःशुल्क परीक्षण गरिएको र अहिले पनि केही नमुनाको परीक्षण शुल्क नलिई परीक्षण गराउने गरिएका कारण सरकारी ल्याबहरूले कति रुपैयाँको व्यापार गरे भन्ने यकिन छैन ।
सरकारी ल्याबहरूले प्रतिनमुना १ हजार रुपैयाँको दरले शुल्क लिएका छन् भनेर आँकलन गर्दा र निजी क्षेत्रका ल्याबहरूले प्रतिनमुना २ हजार रुपैयाँको दरले मात्रै शुल्क लिएका छन् भनेर मान्दा पनि पिसिआर परीक्षणबाट ल्याबहरूले यो अवधिमा १ अर्ब ४५ करोड ३३ लाख ७८ हजार रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।