अक्सिजनको माग थेग्न नसक्ने  उत्पादक कम्पनीको चेतावनी
‘तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट देखापर्छ’

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।

कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आइपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए ।

उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले वृद्धि हुने चेतावनी दिए । उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले अहिले काठमाडौं उपत्यकामा मात्रै ८ वटा प्लान्ट सञ्चालनमा रहेको र २ वटा प्लान्ट मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष तिमिल्सिनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रीमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आह्वान पनि गरे ।

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधारण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् ।



सर्वसाधारण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा निस्किएका छन् ।

मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधारण आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।



  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १४:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया