अस्पतालले हात उठाए, लाशको थुप्रो लाग्‍न थाल्यो तर नेताको हिसाब मिलेको छैन
डाक्टर भन्छन् : स्वास्थ्य प्रणाली फेल भइसक्यो, टुलुटुल हेर्न विवश छौँ

विश्‍व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघले एक वर्षअघि नै कोरोनाको यो भयावह रुपबारे नेपाललाई सचेत गराएका थिए। तर देशको नेतृत्व लिइरहेका दलहरु त्यही बेलादेखि सत्ताको हानथापमा लागिसकेका छन्। 

प्रमुख प्रतिपक्षी कांग्रेस मौन रहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै दलका नेताहरुले घेराबन्दी गरेका थिए। ओली एकातिरबाट सत्ताको प्रतिरक्षा गरिरहेका थिए भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अर्कोतिरबाट आक्रमण गरिरहेका थिए। 

२०७६ चैत ११ देखि सुरु भएको लकडाउनबीच तत्कालीन नेकपामा देखिएको विवादले भुसको आगोबाट डढेलोको रुप लिइसकेको थियो। आफ्नै दलका  नेताहरुसँग राजनीतिक रिङमा मुक्का खेलिरहेका ओलीले राष्ट्रसंघ र डब्लुएचओको चेतावनीलाई गम्भीरतापूर्वक लिएनन्। बरु उल्टै नेपालीको इम्युनिटी पावर बलियो रहेको भन्दै आयुर्वेदिक र घरेलु औषधिबाटै कोरोना भाग्ने ब्याख्या गरिरहे।

अर्कातिर दाहाल-नेपालले ओलीलाई घेर्ने क्रम झन् बढाइरहे। ओली प्रतिरक्षामा उत्रिरहने, दाहाल-नेपाल आक्रमण गरिरहने। बितेको एक वर्ष नेपालको राजनीतिक नेतृत्वले गरेको यही गम्भीर गल्तीको सजाय अहिले नेपालमा लाशको थुप्रो लाग्न थालेको छ।

केपी ओली, प्रचण्ड र माधवकुमार नेपालको झगडाको परिणाम आज दिनमै अढाई सयका दरले मानिसहरुको ज्यान कोरोनाले लिइरहेको छ। यदि नेकपामा झगडा हुने थिएन भने सरकारले कोरोनाविरुद्ध पर्याप्त पूर्वतयारी गर्न सक्थ्यो। तर बिडम्बना यति बेला अक्सिजन, रेमडिसिभर, कोरोनाविरुद्धको भ्याक्सिन खोज्न सरकारलाई भ्याइनभ्याइ छ। 



उपत्यकादेखि देशका कयौँ अस्पतालमा संक्रमितले धमाधम दम तोडिरहँदा नेकपाबाट एमालेमा सल्किएको विवाद अझै जारी छ। ओलीलाई सत्तामा फर्किन नदिन भन्दै माधवकुमार नेपालहरू सांसद पदबाटै राजीनामा दिन तयार छन्। अर्कातिर शेरबहादुर देउवा र प्रचण्डहरूलाई सत्तामा जान हतारो भइसकेको छ। 

कोरोनाले नागरिकको ज्यान भकाभक लिइरहँदा राजनीतिक विवादलाई उनीहरु केही महिना स्थगन गर्न तयार छैनन्। अहिलेको राजनीतिक किचलोमा संलग्न नेताहरु सिनो खान तयार भएका गिद्धको शैलीमा झगडामा उत्रिरहेका छन्। तर उनीहरु कोरोनाविरुद्धको लडाइँमा एक ठाउँमा उभिन सक्दैनन्। न त एउटा विज्ञप्ति नै निकाल्न तयार छन्। 



एमाले नेता पशुपति चौलागाईंको कोरोनाकै कारण हिजो राति निधन हुँदा सबै दलका नेताले शोक जनाए। बागमती प्रदेश सांसद चौलागाईंको निधनले दलका सबै नेता स्तब्ध भए तर हिजै अरु २२५ जनाले ज्यान गुमाउँदा दलहरूका कुनै धारणा आएनन्। उनीहरूबीच सत्ताकै हिसाब भइरहेछ।

भएनन् गम्भीर

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले हिजै कम्तीमा तीन साता सर्वसाधारणलाई घर बाहिर ननिस्की दुख: सहन भने। तर हिजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निषेधाज्ञा अवज्ञा गर्दै खुमलटारबाट बूढानीलकण्ठ पुगे। कोटेश्वरका माधवकुमार नेपाल पनि निषेधाज्ञाको मतलब नगरी सत्ताकै हिसाब मिलाउन बूढानीलकण्ठ पुगे।

यता ओलीले पनि बालुवाटारमा भेटघाट रोकेका छैनन्। आजै जसपा अध्यक्ष महन्थ ठाकुर ओलीलाई भेट्न बालुवाटार पुगे। एकातिर सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरी उठबस गराउँछ, होल्डिङ सेन्टरमा राख्छ। अर्कातिर नेताहरु बेपरवाह सत्ताको दौडमा निस्किएका छन्। 

पाण्डेले आगामी ३ हप्ता अत्यन्त कठिन हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। ‘आगामी तीन साता नेपालका लागि अत्यन्तै कठिन अवस्था छ, अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ', उनले भनेका छन्, 'दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं । जीवनको तुलनामा दुःख सानो हो।’

उनले सबै किसिमका भेटघाट बन्द गर्न भनेका छन्। तर नेताहरुबीच कोरोनाको महासंकटमा पनि दौडधूप जारी छ। खुमलटार, बालुवाटार, कोटेश्वर र बूढानीलकण्ठ वरिपरि घुमिरहेको सत्ता राजनीति कोरोनाबाट ज्यान गुमाएका नागरिक र तिनका परिवार सामु सिनो जस्तै गन्हाउन थालेको छ।  

जनस्वास्थ्यविद् र चिकित्सको चेतावनीले नेताहरुलाई छोएकै छैन। उनीहरु नागरिकमाथि परेको संकटको पूरै बेवास्ता गरेर कुदिरहेका छन्। ‘यो तीन हप्ता दुख सह्यौ भने संक्रमणको दर घट्दै जानेछ । रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ', पाण्डे भन्छन्, 'यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरौं। सरकारले कडाइ गरेको हाम्रै लागि हो। हामी सबै कडा सेल्फ लकडाउनमा बसौं।’

अहिले नेपालमा कोरोनाको अवस्था भारतको जतिकै भयावह भएको छ। अस्पताहरु संक्रमितले भरिएका छन्।  ज्यान गुमाएका संक्रमितको शव उठाउन तीन दिनसम्म लाग्ने गरेको छ। हिजै काठमाडौं महानगरपालिकाले गरेको एउटा कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले कोरोनाका कारण नेपालको स्वास्थ्य क्षेत्र 'कोल्याप्स' भइसकेको बताए। 

उनकै भनाइलाई मान्ने हो भने अवस्था त्यही छ। काठमाडौंका टेकु, टिचिङ, बलम्बु सबैतिर कोरोना संक्रमित भरिभराउ छन्। अस्पतालका प्यासेजदेखि आँगनसम्म संक्रमितले भरिएका छन्। कोरोनाका बिरामीको उपचार गराइरहेका निजी अस्पतालले अक्सिजन अभावमा धमाधम हात उठाएका छन्। 

बेडमा रहेका बिरामीलाई पनि ज्यान बचाउन नसक्ने भन्दै निकालिरहेका छन्। अवस्था यति भयावह छ तर स्वास्थ्य मन्त्रालयले संकटकाल लगाउन गरेको प्रस्तावलाई सरकारको नेतृत्वले लत्याएर बसेको छ। यही बेला सरकार कामचलाउ भएको छ। यस्तोमा राज्यका सबै संयन्त्रलाई कडाइका साथ चलाउन ओलीलाई कठिन हुने अवस्था छ। सरकार फेरबदलको यो खेलले कर्मचारी वृत्तले पनि सोचे जसरी काम नगर्ने या नटेर्ने अवस्था आएको छ।

यी घटना : जसले भयावह वर्णन गर्छन्

दैनिक ४ हजार हाराहारी कोरोना संक्रमति थपिइरहेको काठमाडौंका अधिकांश अस्पताल भरिएपछि अक्सिजनको चरम अभाव छ। अक्सिजन अभावका कारण संक्रमितहरुले धमाधम दम तोड्न थालेका छन्। बेड र अक्सिजन अभाव भएपछि बिरामीहरुको एम्बुलेन्समा डुल्दा डुल्दै ज्यान जान थालेको छ।

काठमाडौंमा कोरोनाका सक्रिय संक्रमित नै ४० हजार माथि छन्। अक्सिजन अभावमा बिरामीको ज्यान गए निम्तिने तनावबाट जोगिन अस्पतालहरुले बिरामीलाई अन्यत्र लैजान भनिरहेका छन्। 

दृश्य १ : जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अक्सिजन उपलब्ध गराउँदै आएको कम्पनीको मेसिन बिग्रिएको भनेपछि बिरामी अन्यत्र लैजान भनेको छ। उक्त कम्पनीको मेसिन बिग्रिएपछि अहिलेको अवस्थामा अक्सिजन आपूर्ति हुने सम्भावना नरहेको भन्दै हिजैदेखि बिरामीहरुलाई अन्यत्र लगेर उपचार गर्न भनेको हो।

उक्त कलेजमा भर्ना भएका २२ संक्रमित अक्सिजन सकिएपछि ज्यान जोगाउन हिजो अर्को अस्पतालमा सारियो। कलेजले अस्पताल अक्सिजन आपूर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएको भन्दै हिजो अपरान्ह ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले बिरामी पक्षलाई विकल्प खोज्न खबर गरेको थियो।

संक्रमितको संख्या बढिरहँदा अक्सिजन नपाइएपछि उपचाररत बिरामीलाई पनि डिस्चार्ज गरेर अन्तै पठाउन विवश भएको मेडिकल कलेजका डा. राजेशकिशोर श्रेष्ठले जानकारी दिएका छन्।  

दृश्य २ : गैरआवासीय नेपालीहरुको लगानी रहेको ललितपुरस्थित अत्याधुनिक नेपाल मेडिसिटी अस्पतालमा पनि अक्सिजन अभाव भएको छ। अक्सिजन अभाव भएपछि अस्पतालले विज्ञप्ति निकालेर हिजैदेखि नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको छ।

दृश्य ३ :  धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आजै सूचना निकालेर अक्सिजन अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जनाएको छ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित र कोरोना नभएका बिरामीलाई अक्सिजन चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको बताए। 'कोभिड–१९ बिरामीको उपचारमा लागिरहेका बेला सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्रै अस्पताललाई आउने भएकाले थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ, उनले भनेका छन्।

अक्सिजन अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्राण्डीले बिरामीसँग क्षमा नै मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार आएपछि थप बिरामी भर्ना गरिने महाप्रबन्धक सिंहले बताए। ग्राण्डीले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीको उपचार गर्दैछ। 

दृश्य ४ : अक्सिजन अभावमा बिरामीको ज्यान जाने क्रम पनि बढेको छ। कैलाली मात्रै अक्सिजन अभावमा हिजो १२ जनाको ज्यान गएको खबर आएको छ। अहिले कोरोना संक्रमितका आफन्तले नै अक्सिजन खोज्नुपर्ने बाध्यता छ। अक्सिजन सकिएपछि अस्पतालले बिरामीका आफन्तलाई नै बन्दोबस्त गर्न भनेपछि तनाव चुलिएको छ।

दृश्य ५ : लुम्बिनी प्रदेशको राजधानी बुटवलमा अक्सिजन र आईसीयु अभावमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाए। देशभरका अस्पताल संक्रमितले भरिभराउ भएको अवस्थामा नयाँले अक्सिजन र बेड नै पाउँदैनन्। त्यहीकारण धेरै संक्रमित होम आइसोलेसनमा छन्। उनीहरुले समयमै उपचार नपाएर प्राण त्यागिरहेका छन्। 

तर त्यहाँका मुख्यमन्त्री शंकर पोखरेल सबै ठीक ठीक रहेको शैलीमा फेसबुकका लेखिरहेका छन्। उनले फेसबुकमा लेखिरहँदा सर्वसाधारणले अनेक प्रश्न गरिरहेका छन्। 'प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरदेखि अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ। लिक्विड पनि ल्याइँदैछ', उनले बुधबार बिहान यस्तो स्टाटस फेसबुकमा लेखे। तर लुम्बिनी प्रदेशका अस्पतालमा संक्रमितले उपचार अभावमा दम तोडिरहेको आक्रोश उनको स्टाटसको कमेन्टमा हेर्न सकिन्छ।

दृश्य ६ : मुख्यमन्त्री पोखरेलले अक्सिजनको व्यवस्थापन भइरहेको बताइरहँदा उनकै राजधानीस्थित अस्पताल पीडा लाग्दो दृश्य देखियो। अक्सिजन सकिएपछि मंगलबार मध्यराति युनिभर्सल मेडिकल कलेजका कर्मचारी रुपन्देही जिल्ला प्रशासन कार्यालयको गेटमा गुहार लगाउन पुगे।

अक्सिजन अभावमा बिरामीको ज्यान जाने अवस्था आएपछि उनीहरु प्रमुख जिल्ला अधिकारीलाई गुहार लगाउन पुगेका थिए। उक्त मेडिकल कलेजमा २ सय २० जना कोरोना संक्रमित उपचाररत थिए। तर उनीहरुलाई अक्सिजन अपुग भएर ज्यान जोखिमा पर्ने देखेपछि अस्पतालका कर्मचारीले प्रजिअको गेट ढक्ढकाउन बाध्य भए।

दृश्य ७ :  गत आइतवार नै राजधानीका मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारत मैत्री, दीर्घायु अस्पतालले अक्सिजन सकिएपछि बिरामीको उपचार गर्न नसक्ने जनाए। तर ती अस्पतालको चेतावनीलाई स्वास्थ्य मन्त्रालयले गम्भीरतापूर्वक लिँदै लिएन। राजधानीका कयौँ उद्योगहरुमा रहेका अक्सिजन सिलिन्डर संकलनमै पनि सरकारले चासो दिएन। 

प्रहरीले देशभरबाट ५ हजार थान अक्सिजन सिलिन्डर बटुलेर सम्बन्धित अस्पताल र अक्सिजन उत्पादक कम्पनीलाई बुझायो। तर यो त सानो समाधान थियो। सरकारको तर्फबाट पर्याप्त अक्सिजन सिलिन्डर व्यवस्थापन नहुँदाको संकट भयावह भइसकेको छ। 

दृश्य ८ : कोरोना संक्रमण सुरु भएयता पहिलो पटक नेपालमा एकै दिन २२५ कोरोना संक्रमितले ज्यान गुमाए। जसमा ज्यान गुमाउने करिब आधा संख्या अक्सिजन अभाव झेल्ने थिए। पछिल्लो समय मृत्यु हुनेमा अक्सिजन अभाव खेप्नेहरू छन्। नेपालमा कोरोनाबाट मृत्यु हुनेहरु ४ हजार ८४ माथि पुगेका छन्। 

दृश्य ९:  उपत्यकाकै भक्तपुरमा पनि अक्सिजन चरम अभाव भएको छ।  अक्सिजन अभावले त्यहाँ उपचाररत बिरामीहरु संकटमा परेका छन्। भक्तपुर अस्पताल, नेपाल कोरियामैत्री अस्पतालसहितका अक्सिजन हाहाकार भएको छ। ती अस्पतालले पनि नयाँ संक्रमित भर्ना गरेर उपचार थाल्न नसक्ने अवस्था भएको छ।

भक्तपुर अस्पतालमा मंगलबार साँझदेखि अक्सिजन सकिएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम दुई दिनदेखि अक्सिजनको खोजीमा थिइन् तर उनले कहीँबाट निकाल्न सकिनन्। उनले अक्सिजनका लागि कोभिड-१९ रोकथाम तथा नियन्त्रण केन्द्रीय कमाण्ड, जिल्ला प्रशासन कार्यालय भक्तपुरदेखि अक्सिजन उत्पादक कम्पनीसम्म गुहार लगाइन्। तर कहीँबाट अक्सिजन निकाल्न नसकेको उनले बताइन्। 

दृश्य १० : थापाथलीस्थित नर्भिक अस्पतालले अक्सिजन आपूर्ति हुन नसक्ने अकल्पनीय घटनाको चेतावनी दिएको छ। अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले बुधबार विज्ञप्ति नै निकालेर सरकारले तोकेको कोटाको अक्सिजन नपाएको गुनासो गरेका छन्। 

‘पछिल्लो समय कोभिड संक्रमण बढेसँगै अस्पतालमा प्राण वायु बनेको अक्सिजन अभाव बढेको छ', उनले भनेका छन्, 'राज्यको अनुदार नीतिले झन् समस्या बल्झाएको छ। तोकिएको कोटाको अक्सिजन समेत पाएका छैनौँ। यही संकट बढिरहे अकल्पनीय घटना हुन सक्ने अनुमान सजिलै गर्न सकिन्छ ।’

दृश्य ११ : नेपालगञ्जमा कोरोना संक्रमण सबैभन्दा भयावह छ। त्यहाँ लाशको लाइन लगाउन थालिएको छ। सेनालाई शव व्यवस्थापन थेगिनसक्नु भएको छ। यता काठमाडौंको आर्यघाटमा विद्युतीय शवदाह गृहले नथेगेर बागमती किनारमा दाउराको चिता बनाइएको छ। 

सुरुमा बनाइएका ४ वटा चिताले नधानेपछि अब ८ हुँदै एकै  चोटी १२ वटासम्म शव जलाउने गरी चिता बनाउन थालिएको व्यवस्थापनमा खटिरहेका विष्णु कार्की बताउँछन्। दिनमै ५० भन्दामाथि शव आउन थालेपछि आर्यघाटमा व्यवस्थापन चुनौतीपूर्ण भएको। अर्कातिर होम आइसोलेसन र अस्पतालमा ज्यान गुमाएकाहरुको शव आर्यघाटसम्म पुर्‍याउन नेपाली सेनामाथि झन् झन् चुनौती थपिँदै गएको छ। 

  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १६:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया