प्रदेश २ : महामारीका कारण जनजीवन अस्तव्यस्त, मन्त्रीहरु भने निरीक्षण र शिलान्यासमा मस्त

प्रदेश नम्बर २ मा कोरोनाको दोस्रो भेरियन्ट तीव्र गतिले फैलिरहेको अवस्थामा यसको नियन्त्रण र रोकथाम तर्फ कुनै ध्यान नदिई विभागीय मन्त्रीहरु भने निरीक्षण र शिलान्यासमा व्यस्त देखिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारका मन्त्रीहरु यसको पहलतर्फ ध्यान केन्द्रित नगरी निरीक्षण र शिलान्यासमा व्यस्त देखिएका हुन् ।
 
यस प्रदेशमा अहिले दैनिक डेढदेखि दुई सयसम्मको हाराहारीमा संक्रमित थपिँदै गइरहेका छन् । एकातर्फ प्रदेशका अस्पतालमा आइसियु र भेन्टिलेटरको व्यवस्थापन हुन सकिरहेको छैन भने अर्कोतर्फ मन्त्रीहरु भने निरीक्षण र शिलान्यासमा व्यस्त छन् ।
 
प्रदेशका अधिकांश सरकारी अस्पतालमा भेन्टिलेटर भए पनि तिनलाई सञ्चालन गर्ने जनशक्ति नहुँदा बिरामीले अनाहकमा ज्यान गुमाउनुपरिरहेको छ । महामारीका कारण बिरामीहरु स्वास्थ्य उपचार नपाएर छटपटिएर ज्यान गुमाइरहेको बेला प्रदेशका सामाजिक विकास मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मन्दिर निरीक्षण तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री भने शिलान्यासमा व्यस्त रहेका छन् ।
 
बुधबार सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीयस्थलको निरीक्षणमा व्यस्त देखिए भने उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल प्रदेश सरकारको आर्थिक वर्ष २०७७–०७८ मा विनियोजित कल्याणपुर नगरपालिका वडा नम्बर–१ भोक्राहामा निर्माण हुन लागेको श्री शिव मन्दिर शिलान्यास कार्यक्रममा व्यस्त भेटिए ।  

सामाजिक विकासमन्त्री नवलकिशोर साहका स्वकीय सचिव राजकुमारले सामाजिक विकास एवं उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय तथा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सामाजिक सञ्जालमा आफूहरुको व्यवस्ततासहितको फोटो पोस्ट गरेका छन् । 

मन्त्रीद्वय साह र रायले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका छन् भने राज्यमन्त्री मण्डलले कल्याणपुर नगरपालिका वडा नम्बर–१ भोक्राहामा शिव मन्दिर शिलान्यास गरेका छन् । 

यसअघि पनि जनता कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रमअनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्यालीलगायत सामग्री वस्तुगत सहयोग गर्न लाभग्राही छनोटसम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको थियो । 

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेश सभासदस्यमा निर्वाचित रानी शर्मा तिवारीले प्रदेश सरकारको १५ लाख रुपैयाँको बजेट ल्याएर जलेश्वर नगरपालिका–१ स्थित पगलाबाबा धर्मशालाको मर्मत सम्भार गराएकी छिन् । मर्मत सम्भारका नाममा उनले चरम अनियमितता गरिरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।





  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १८:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया