गण्डकी प्रदेश : मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको चार दलको भनाइ

गण्डकी प्रदेशमा मुख्यमन्त्रीको दोस्रो कार्यकालका लागि पृथ्वीसुब्बा गुरुङको नियुक्ति असंवैधानिक भएको विपक्षी चार दलले बताएका छन् । गण्डकी प्रदेशसभाका विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले यस्तो बताएका हुन् । 

चारवटै दलहरुले संयुक्त विज्ञप्तिमार्फत गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका हुन् । बहुमतको मुख्यमन्त्री बन्नुपर्नेमा प्रदेश प्रमुखले अल्पमतका व्यक्तिलाई मुख्यमन्त्री बनाएको उनीहरुको दाबी छ । 

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता समाजवादीका धनमाया लामाले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार बन्नुपर्नेमा संवैधानिक व्यवस्था विपरीत धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्ति गरिएको बताएका छन् ।

चार दलको संयुक्त विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने १५ सदस्य भएको नेपाली कांग्रेस, १२ सदस्य (सभामुख समेत) भएको नेकपा माओवादी केन्द्र, तीन सदस्य रहेको राष्ट्रिय जनमोर्चा र दुई सदस्य रहेको जनता समाजवादी पार्टीको ‘लेटरहेड’मा लेखेर कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्न निवेदन दिएपनि सोअनुसार नभएको उल्लेख छ ।

विज्ञप्तिमा बहुमतसहित दाबी गरिएकाले पोखरेललाई मुख्यमन्त्री बनाउनुपर्नेमा चार दलको पत्रलाई बेवास्ता गर्दै १६८ को उपधारा २ लाई छलेर ३ अनुसार गुरुङलाई मुख्यमन्त्री बनाइएको आरोप लगाइएको छ । 

प्रदेश प्रमुखले गलत प्रक्रियाबाट मुख्यमन्त्री बनाएको उनीहरुको आरोप छ । विज्ञप्तिमार्फत चारवटै दलले संविधान, कानुन, विधि र प्रक्रिया मिच्ने प्रवृत्तिविरुद्ध एकताबद्ध र निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार ८:५९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया