ओली-नेपाल सहमतिले एमालेमा उत्साह, नेता-कार्यकर्ता खुसी
नेताहरु भन्छन् : अब विवाद गौण भए, मिलेर अघि बढौँ

राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमामा बहुमत पुर्‍याउन नसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारको दाबीबाट पछि हटेका छन्। यी दुई दल बहुमत जुटाउन असफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुने भएका छन्। 

वैशाख २७ गते प्रतिनिधिसभामा आफ्नो पक्षमा ओलीले विश्वासको मत पुर्‍याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते बेलुकी ९ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आग्रह गरेकी थिइन्। 

त्यही आह्वान अनुसार कांग्रेस-माओवादीले नयाँ सरकार गठनको लगातार प्रयास गरेका थिए।  तर उनीहरुको प्रयासले फेल खायो। कांग्रेस माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका निम्ति राष्ट्रपतिलाई आग्रह गरेका थिए। तर जसपाको बहुमत पक्ष (महन्थ ठाकुर) समूहले केपी ओलीलाई नै सहयोग गर्ने भएपछि यो गठबन्धन सरकार बनाउन असफल भएको छ।

‌ओलीले असन्तुष्ट वरिष्ठ नेता नेपालसँग वार्ता गरेर राजीनामा रोक्न सकेपछि कांग्रेस-माओवादीले बहुमत पुर्‍याउन नसकेको हो। ओलीले नेपालसँग पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजान तयार भएको बताइएको छ।

यसअघि एमालेको असन्तुष्ट पक्ष नेपाल समूहका सांसदहरुले राजीनामा दिएर विपक्षीलाई बहुमत पुर्‍याउन सहयोग गर्ने तयारीमा थिए। तर ओलीले नेपाल समूहका मागमा लचकता देखाउँदै एक कदम पछाडि हटेपछि विपक्षीको सरकार बनाउने योजना तुहिएको छ। संविधानको ७६(२) अनुसार सरकार गठन गर्न विपक्षी दलहरु असफल भएपछि ७६ (२) अनुसार अब पुनः प्रधानमन्त्रीमा केपी ओली नै नियुक्त हुने भएका छन्। 

पार्टी जोगाउन भन्दै बिहीवार बिहान ओलीले पार्टीको स्थायी कमिटीको बैठकबाट नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि चैत १६ र १९ मा गरिएको ६ महिने निलम्बन फुकुवा गरेका थिए। ओलीले चार नेतामाथिको कारबाही फुकुवा गरेपछि चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली-नेपाल करिब पाँच घण्टा लामो वार्ता चलेको थियो। 



कार्यदल 

ओली-नेपाल वार्तापछि विवाद मिलाउन कार्यदल गठन गरिने भएको छ। उक्त भेटबाट बाहिरिदै नेता नेपालले तत्कालका लागि राजीनामा दिने विषय टरेको र पार्टी विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिएका थिए। 



आफूले वैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‍याई नयाँ ढंगले अघि बढाउनेबारे छलफल भएको समेत नेता नेपालले जानकारी दिए। 

'फागुन २८ गते र त्यसपश्चात भएका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउन हामीले कुन तरिका अवलम्बन गर्ने भन्‍ने छलफल जारी राख्ने कुरा भएको छ,’ नेता नेपालले भने, ‘राजीनामा दुई-चार दिनलाई टर्यो। कार्यदल बन्छ। मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ।’

उत्साह

अहिलेसम्म दुवै पक्षको गतिविधिले एमाले फुट्ने अनुमान धेरैको थियो। तर ओली-नेपाल वार्तापछि आएको निर्णयसँगै एमाले नेता कार्यकर्तामा उत्साह देखिएको छ। धेरैले पार्टी जोगिने भन्दै खुसी व्यक्त गरेका छन्। यसले पार्टीका बाँकी कुरासमेत मिल्ने भन्दै उनीहरुले उत्साह प्रकट गरेका छन्। 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउन शुरुदेखि पहल गरेका नेता गोकर्ण विष्ट अहिले खुसी छन्। ओली र नेपालबीचको सहमतिले ल्याएको सकारात्मक मोडलाई आम पार्टी पंक्ति र समर्थक/शुभेच्छुकको चाहना अनुरुप परिणाममा पुर्‍याउन लाग्न आग्रह गरेका छन्। 

नेता विष्टले भनेका छन्, 'पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव कुमार नेपालबीचको आजको भेटवार्ताले पैदा गरेको सकारात्मक मोडलाई आम पार्टी पंक्ति र समर्थक/शुभचिन्तकको चाहना बमोजिम परिणाममा पुर्‍याउन लागि परौँ।'

त्यस्तै नेता योगेश भट्टराईले पार्टी एकता सबैको चाहना भएको भन्दै आज अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्ताले परिस्थितीलाई सकारात्मक दिशा दिएको प्रतिक्रिया दिएका छन्। 

'आजको थालनीलाई तार्किक निष्कर्षमा पुर्‍याउन, पार्टीमा सबैको सम्मानजनक अवस्था सिर्जना गर्न र नेकपा एमालेलाई थप एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ साबित गर्ने कार्यभारमा सबैलाई गोलबन्द गरौं, नेता भट्टराईले भनेका छन्, 'एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौँ। धैर्य गरौँ।'

एमाले केन्द्रीय सदस्य विष्णु रिजाल एमाले एकता जोगिएको भन्दै पार्टी अध्यक्ष ओली र नेता नेपालबीच पार्टीलाई सहमतिमा अघि बढाउने समझदारीसँगै विवादहरु गौण भएको भन्दै खुसी व्यक्त गरेका छन्। 

'अन्तत: नेकपा (एमाले)को एकता जोगिएको छ। अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई सहमतिमा अघि बढाउने समझदारी भएसँगै विवादहरू गौण भएका छन्', नेता रिजालले भने, 'एमाले फुटेमा फाइदा लिउँला भनेर मुख मिठ्याउनेहरू निराश बनेका छन्। पार्टीमा विवाद हुन्छ, सम्वाद हुन्छ र समाधान पनि हुन्छ।'

नेता रिजालले पार्टीभित्र विवाद, संवाद हुने र समाधान पनि निस्कने बताएका छन्। उनले भनेका छन्, 'पार्टी र सरकारलाई प्रभावकारी बनाउनुमा देश, जनता र हामी कार्यकर्ताको भविष्य निर्भर छ। हामी एमालेका नेता-कार्यकर्ताले आफ्नो भविष्य एकताबद्ध एमालेभित्र खोज्नुपर्छ।'

एमाले केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि खुसी व्यक्त गरेका छन्। दुई नेताबीच वार्ताबाट सहमतिमा ल्याउन बुधबार राति नेता नेपालसँग लामो समय संवाद गरेका नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत छोटो शब्दमा खुसी व्यक्त गरेका हुन्। उनले भनेका छन्, 'जे भो राम्रो भो थप राम्रो  हुँदै जान्छ।'

त्यस्तै एमालेकै नेता मेटमणि चौधरीले पनि नेताहरुमा देखिएको उदारता र लचकताले पार्टी एकता जोगिएको भन्दै खुसी व्यक्त गरेका छन्। नेता चौधरीले भनेका छन्, 'नेताहरूमा देखिएको उदारता र लचकताले पार्टी जोगिएको छ। नेकपा (एमाले) जेठ २ गतेमा फर्किने र कार्यदल बनाउने सहमति भएको छ।'

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार २२:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया