महाधिवेशनको मुखमा रहेको नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । कांग्रेसले अहिलेसम्म अद्यावधिक गरिएका ४५ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको हो ।
१४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसार प्रक्रिया पुर्याएर विवादरहित रुपमा प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण प्रविष्ट गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइटबाट कांग्रेसले सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण पार्टीको वेबसाइटमा गएर जुनसुकै बेला हेर्न सकिने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार सुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका नवीकरण र नयाँ सदस्यसहितको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासोको सम्बोधनपछि प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने कांग्रेसले जनाएको छ । कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।