माधव पक्षीय बैठक : ओलीले फेरि धोका दिन्छन्, नयाँ पार्टी दर्ता गरौँ
नेताहरुले भने : मिल्ने भए सम्मानजनक स्थान चाहिन्छ

नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि धोका दिने भन्दै नयाँ पार्टी दर्ता गर्नुपर्ने बताएका छन्। 

हिजोदेखि जारी जुम मिटिङमा शनिबार बोलेका करिब ४० जना नेताहरुमध्ये अधिकांशले ओलीले फेरि पनि धोका दिने भन्दै नयाँ पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने मत राखेका हुन्। 

बैठकमा सहभागी एकजना नेताका अनुसार ओलीले आफ्नो सत्ता संकटमा परेपछि लचिलो भए जस्तो देखाए पनि केही समयपछि फेरि उही दम्भ र घमण्ड गरेर पेल्न थाल्ने कुरा बैठकमा राखिएको थियो।

'ओलीले अहिले लचिलो भए जस्तो गरेका छन्। त्यो उनको सत्ता जोगाउने प्रयास मात्रै हो। मौका पाएपछि उनले फेरि दम्भ देखाएर पुरानै प्रवृत्ति दोहोर्‍याउँछन्', बैठकमा बोल्ने नेताहरुको भनाइ उद्धृत गर्दै एकजना केन्द्रीय सदस्यले फरकधारसँग भने, 'केपी ओलीसँग मिलेर जाँदा पनि उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सक्ने कुरामा विश्वास गर्नु गल्ती हुन्छ। उनी कम्युनिष्ट आन्दोलन विसर्जनतर्फ लैजाने दिशामा अघि बढेका छन्। त्यसैले अहिले उनले मिलेर जाऊँ भन्न खोजेको कुरा कृत्रिम मात्रै हो, उनले पुरानै समस्या ल्याएर अफ्ठ्यारो पार्छन्।'

बिहीबार चपली हाइटमा भएको वार्तापछि एमाले मिल्ने दिशातर्फ अघि बढेको छ। बिहीबार र शुक्रबार दुई पटक ओली-नेपाल पक्षबीच वार्ता भइसकेको छ। तर नेपाल पक्षका नेताहरुले नेतृत्वमाथि ओलीसँग भर परेर फेरि पछुताउने अवस्था आउन नदिन दबाब दिएका हुन्। 

'ओलीको मिठो कुरामा कोही भर नपरौँ, अहिले उनी संकटमा परेकाले मात्रै मिल्न खोजे जस्तो गरेका छन्', बैठकमा सहभागी अर्का केन्द्रीय सदस्यले भने, 'हामीसँग मिले जस्तो गरेर उनले पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतमसँग पनि दोहोरो भूमिका खेल्छन्। मौका पाएपछि हामीलाई धोका दिइ उनले प्रचण्डसँग फेरि मिलेर अफ्ठ्यारोमा पर्छन्, त्यसैले बरु हामीले कित्ताकाट गर्नु नै उचित हुन्छ।'



बैठकमा सहभागीमध्ये आज बोलेका ९५ प्रतिशतले अब नयाँ पार्टी खोलेर नै अघि बढ्नुपर्ने मत राखेको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले दिइन्। 'अधिकांश नेताहरुको  मत  ओलीले मिले जस्तो गरेर फेरि झुक्याउँछन्, धोका दिन्छन् भन्ने छ', उनले फरकधारसँग भनिन्, 'धेरै केन्द्रीय सदस्यहरुको मत अहिले ओलीको कुरामा अल्मलिएर बस्नु भन्दा नयाँ पार्टी दर्ता गरेर अघि बढ्न उचित हुने रहेको छ।'

झाँक्रीले कार्यदल बनाएर पार्टी मिल्न सक्ने उपाय एक पटक खोजी गर्ने सुझाव पनि आएको बताइन्। 'कार्यदल बनाएर एक पटक कोसिस गरौँ भन्ने छ', उनले भनिन्, 'तर ओलीलाई शंकाको नजरले हेरेर मात्रै पाइला चाल्न उचित हुने सुझाव नेताहरुले दिनु भएको छ।'



आजको भर्चुअल बैठकमा नेताहरुले माओवादीसहित अन्य दलसँग मिल्ने भन्दा नयाँ पार्टी नै दर्ता गरेर अघि बढ्न उचित हुने नेताहरुलाई सुझाएका थिए। 'ओलीले जुनसुकै बेला विश्वासको मत लिन संसद बोलाउन सक्छन्। त्यहाँ उनी असफल भएपछि देशलाई चुनावमा लैजान सक्छन्', बैठकमा नेताहरुले भनेका थिए, 'बरु अहिले नै नयाँ पार्टी दर्ता तयारी थालौँ। यदि चुनाव घोषणा भएछ भने विचार मिल्ने अन्य दलहरूसँग गठबन्धन गरेर लड्न सकिन्छ। ओलीको भर पर्दा हामीले फेरि पनि दु:ख पाउने निश्चित छ।

सम्मानजनक स्थितिको खोजी

बैठकमा सहभागी अर्का नेता ठाकुर गैरेले पार्टीमा सम्मानजनक एकताको परिस्थित बनाउनेबारे नेताहरुले धारणा राखेको बताए। 'पार्टीमा सम्मानजनक एकताको परिस्थिति कायम गर्ने कुरा आजको बैठकमा भएको छ', उनले भने, '२०७५ जेठ २ को पार्टीको अवस्थालाई कायम राखेर सबै कमिटीहरु, देशभरका कार्यकर्ताको सम्मानजनक सहभागितालाई सुनिश्चित गर्ने गरी पार्टी एकता कायम गर्नुपर्छ भन्ने कुरा बैठकमा भएको छ।'

उनले अहिले देखिएको समस्या एमालेको भएकाले पहिले एमालेबीच कुरा गरेर मात्रै माओवादीबाट आएकाहरुबारे निर्णय लिनुपर्ने कुरा बैठकमा नेताहरुले उठाएको जानकारी दिएका छन्। 

ओली पक्षसँग वार्ता चलिरहँदा शुक्रबारदेखि नेपाल पक्षको भर्चुअल बैठक चलिरहेको छ। वरिष्ठ नेता नेपालले ओली २०७५ जेठ २ मा फर्किन तयार भएको बताइरहे पनि केन्द्रीय सदस्यहरुले भने त्यसमा शंका जनाउँदै दबाब बढाएका छन्। 

नेपालको जवाफ

बैठक वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो ६ बुँदे शर्त अनुसार ओली अघि बढ्न तयार भएकाले वार्ता थालिएको जानकारी गराएका थिए। उनले गत आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए।

ती सर्तहरू पूरा गर्न उनले सोमबार बिहान नौ बजेसम्मको अल्टिमेटम दिएका थिए। त्यसपछि ओली लचिलो भएर वार्तामा बसेका थिए। नेपालले सर्वोच्चको फागुन २३ को फैसलाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका थिए।

पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्रै विश्‍वासको मत दिन तयार हुने अडान उनले राखेका थिए। ओली तयार नभएपछि उनको समूहले संसद नगइ विश्वासको मत दिएको थिए। 

त्यसपछि नेपालको ६ बुँदे प्रस्तावप्रति ओली लचिलो भएपछि दुई पक्षबीच बिहीबारदेखि वार्ता सुरु भएको थियो। नेपाल पक्षसँग ओलीले फागुन २८ को निर्णय खारेज गरेर २०७५ जेठ २ मा जाने प्रतिवद्धता जनाएपछि अहिले दुई पक्षबीच कार्याल निर्माणको कुरा भइरहेको छ। 

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १८:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया