बादलको उपस्थितिमा माधव पक्षको आपत्ति, कार्यदलमा नस्वीकार्ने
नेताहरुले भने : यो विवाद पूर्व एमालेको हो, अरुको उपस्थिति उचित हुन्न

नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरुले शुक्रबार सिंहदरबारमा भएको ओली पक्षसँगको वार्तामा नेता रामबहादुर थापा बादलको उपस्थितिलाई लिएर आपत्ति जनाएका छन्। 

शनिबार बसेको माधव नेपाल पक्षीय भर्चुअल बैठकमा सहभागी नेताहरुले अहिले देखिएको विवादमा एमालेभित्रको भएकाले पछिल्लो समय आएका नेताहरुलाई बैठकमा सहभागी गराइएको भन्दै आपत्ति प्रकट गरेका छन्। 

बैठकमा सहभागी केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार अहिलेको विवाद पूर्वएमालेबीचको भएकाले त्यही अनुसार समाधान खोजिनुपर्ने मत नेताहरुले राखेको जानकारी दिएका छन्। 

एमालेमा आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसहितलाई स्वागत गर्न तयार भएपनि दुई पक्षबीचको वार्तामा सहभागी गराइनु उचित नहुने उनीहरुको राय थियो।

'अहिलेको समस्या भनेको एमालेको समस्या हो। उहाँहरु (रामबहादुर थापा बादल) लाई हाम्रो बैठकमा राखिनु उचित हुँदै। अरु हिसाबले उहाँ एमालेमा आउनुभएको छ, त्यो राम्रो कुरा हो', गैरेले नेताहरुले  बैठकमा उठाएको कुरा सुनाउँदै भने, 'उहाँहरु एमालेमा आउनु भएको छ स्वागतयोग्य कुरा हो। तर पूर्व एमालेको आन्तरिक समस्या हल गर्ने विषयमा बादलको उपस्थिती किन गरियो? यसबारेमा नेताहरुले प्रश्न उठाउनु भएको छ।'

बैठकमा सहभागी नेताहरुले कार्यदलमा ओली पक्षबाट माओवादीबाट आएका नेताहरुलाई राखिनेबारे पनि नेतृत्वको ध्यानाकर्षण गराएका थिए। 'एमालेको विवाद मिलाउने बैठकमा उहाँहरुको सहभागितालाई लिएर नेताहरुले प्रश्न उठाउनु भएको छ। यसका साथै उहाँहरुलाई कार्यदलमा राख्ने कुरामा पनि सहमत हुन नसकिने धारणा छ', गैरेले भने, 'एमालेको विवादमा उहाँहरुलाई राखिनु जरुरी विषय होइन। बरु विवाद मिलिसकेपछि उहाँहरुको भूमिकाबारेमा छलफल गर्न सकिन्छ।'



दुई पक्षको विवाद मिलाउन ओली पक्षले बादल समूहबाट टोपबहादुर रायमाझीलाई कार्यदल सदस्य बनाउने तयारी गरेको छ। यदि कार्यदलमा माओवादीबाट आएकालाई पनि राखिएमा आपत्ति जनाउन नेताहरुले नेतृत्वलाई दबाब दिएका छन्। 



  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १८:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया