गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट ६०० थान अक्सिजन सिलिन्डर ल्याइने भएको छ । यस्तै चीन सरकारको सहयोगमा ५५० सिलिन्डर र स्वास्थ्य सामग्री ल्याइने भएको छ ।
ओमनबाट प्राप्त सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ गइसकेको र शनिबार साँझसम्म जहाज त्रिभुवन विमानस्थलमा अवतरण हुने निगमले जानकारी दिएको छ ।
चीन सरकारले अनुदानमा प्राप्त अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको जहाज आजै राति बेइजिङ जाने पनि निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज ओमनको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार चीन सरकारको अनुदानमा आज ल्याइने ५५० सहित २ हजार अक्सिजन सिलिन्डर उपलब्ध हुने छन् । चीनस्थित नेपाली एनआरएन आइसिसीको सहयोगमा १ सय थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होंसी ग्रुपले २७ थान र करुणा फाउन्डेसनको सहयोगमा ११० थान गरी अतिरिक्त ३१३ अक्सिजन सिलिन्डर पनि नेपाल आउने जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय बमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री ल्याइएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।