दैनिक १ हजार सिलिन्डर अक्सिजन भर्ने प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन

कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले दैनिक १ हजार सिलिन्डर अक्सिजन भर्ने प्लान्ट स्थापना गर्न निर्देशन दिएको छ । समितिको शनिबारको बैठकले कोभिड १९ हटलाइन सेवा सुरु गर्न समेत निर्देशन दिएको छ । 

समितिकी सदस्य पद्मा खड्काले कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधी र मेडिकल सामग्री लगायत प्रदेश भित्र पर्याप्त मात्रामा अक्सिजन प्लान्टको तत्काल स्थापना गर्नुपर्ने, प्रदेश अस्पताल सुर्खेतमा दैनिक १ हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका बताइन् । 

प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरूमा नियमित विद्युत् आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधी र मेडिकल सामग्रीका लागि मित्र राष्ट्र तथा अन्य मुलुक लगायत गैरसरकारी संघ-संस्था, निजी क्षेत्रसँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने निर्देशन दिएका बताइन् । 

बिरामी र बिरामीका आफन्तमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकाले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिन मनोविमर्श कर्ताको व्यवस्था गरी निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने निर्णय गरिएको सांसद खड्काले बताइन् ।

बैठकले प्रदेश अस्पताल, सुर्खेतले वैशाख ३१ गते प्रकाशित कोभिड-१९ को संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने ब्यहोराको सूचनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएकाले प्रदेश सरकार महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने निर्णय गरेको समितिका अध्यक्ष देवी ओलीले बताइन् ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १९:५४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया