महन्थ-उपेन्द्र ‘वाक युद्ध’: के अब जोगिएला जसपा एकता ?
ठूला दलको सत्ताको खेलले एक वर्षमै निम्तियो संकट

देशमा देखिएको सत्ता हेरफेरको राजनीतिले मधेस केन्द्रित सबैभन्दा ठूलो जनता समाजवादी पार्टी (जसपा) को एकता संकटमा परेको छ। 

सत्ताको राजनीतिक खिचातानीले एकताको एक वर्षमै विवादको अनेक भूमरीमा मात्रै परेको जसपामा एक अर्कालाई कारबाहीको चरण सुरु भएको छ। यो भनेको अब जसपा एक रहने सम्भावना कम हुँदै गएको संकेत हो। 

लुम्बिनी प्रदेशमा पार्टी ह्वीप नमानेर चार प्रदेश सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएपछि संकट चुलिएको छ। त्यसपछि ती सांसदहरुलाई उपेन्द्र यादव समूहले कारबाही चलायो। 

उपेन्द्रको कारबाहीको पत्रले ती सांसदको पद नै गुमेको छ। ती सांसदको बचाउमा जसपा प्रथम अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोगसम्म पुगे। उता पद गुमेका सांसदहरुको रिट आइतवार बल्ल सर्वोच्च अदालतमा दर्ता भएको छ।

केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएको दिन २९ वैशाखमा जसपामा चुलिएको विवाद अब छताछुल्ल भएको छ। ओलीले सपथ लिने क्रममा ठाकुर पक्षले आफ्नो पक्षमा १९/२० सांसद भक्तपुरको एउटा रिसोर्टमा लगेर राखिदियो। यसको कारण थियो वैशाख २७ मा राष्ट्रपतिले दिएको तीन दिने समयमा कांग्रेस-माओवादी र उपेन्द्र यादवलाई कुनै हालतमा सरकार बनाउन नदिनु।



भक्तपुरको डोलेश्वर रिसोर्टमै ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाइसकेको छ। माधव नेपाल समूहको राजीनामाको आशमा बसेका माओवादी-कांग्रेसलाई ठाकुरले सांसद लुकाइदिएर झन् अफ्ठ्यारो पारिदिए। संसदको अंक गणितमा माओवादी-कांग्रेसलाई फैल खुवाइदिएका ठाकुर ३० वैशाखमा प्रधानमन्त्रीले सपथ लिँदा शीतल निवास पुगे। त्यसअघि नै उनले महतोलाई संसदीय दलको नेता बनाइसकेका थिए। 

ठाकुर पक्षको यो कदमपछि उपेन्द्र यादव पक्ष अहिले चिढिएको छ। यादव पक्षले आफ्नो बहुमत रहेको कार्यकारिणी समितिको बैठक बोलाएर ठाकुर-महतोमाथि कारबाही चेतावनी दिइरहेको छ। आधिकारिक दाबी गरिरहेका ठाकुर-यादवबीचको यो विवादले जसपामा अब एमालेमा भन्दा संकट गहिरिएको छ। एमालेका केपी शर्मा ओली  र माधवकुमार नेपाल मिलिरहँदा जसपामा भने महन्थ र उपेन्द्रबीच पानी बाराबारको अवस्था आइसकेको छ



यसको उदाहरणका रुपमा शनिबारको घटनालाई लिऊँ। जसपाको नाममा केही घण्टा अन्तरमा दुई विज्ञप्ति निस्किए । एउटा थियो-उपेन्द्र यादव समूहको, अर्को थियो महन्थ ठाकुर पक्षको।

एक पार्टी दुई वक्तव्य

ठाकुर समूहले वैशाख २९ मा पार्टी संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई चुनेपछि यादव समूह चिढिएको छ। यादव समूहले त्यसलाई पार्टीको निर्णय नै नभएको भन्दै त्यस्तो गर्नेलाई कारबाही चेतावनी दिइसकेको छ।

१ वैशाखमा यादव समूहका प्रकाश अधिकारीको नाममा निकालिएको विज्ञप्तिमा भनियो, 'जसपा संसदीय दलको विधान नबनेको, अनुमोदन नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले नेता चुनिएको खबर भ्रमपूर्ण हो।'

उपेन्द्र समूहको विज्ञप्ति आएपछि महन्थ समूहबाट पनि हिजै अर्को विज्ञप्ति निकालियो। जसमा आफ्नै समूहलाई आधिकारिक भनिएको थियो। ठाकुरको हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भनियो,‘जसपा कार्यकारिणी समितिको बैठक बसेको विभिन्‍न सञ्चार माध्यममा आइरहेको छ। त्यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। जसपा केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक डाकिएको छैन। त्यसको जानकारी समेत हामीलाई छैन।’

जसपाका दुई नेताको दुई विज्ञप्ती एकै दिन आएपछि आन्तरिक विवाद छरपस्ट भएको छ। विज्ञप्तिमार्फत ‘वाक युद्ध’ सुरु भएपछि पार्टी एकता नै संकटमा परेको भनेर चिन्ता जनाउन थालिएको छ।

पार्टी एकता जोगाउन शीर्ष नेताहरु चिन्तित त छन् तर विभाजन टार्न सक्ने अवस्थामा देखिएका छैनन्। पार्टी एकता कायम राख्न मिलनबिन्दु खोजीमा नेताहरु जुटेको बताइएको छ तर एकै पार्टीमा दुईवटा समूहको अभ्यासले फुट टार्न नसक्ने जानकारहरु बताउँछन्।

एक हातले ताली बज्दैन : उपेन्द्र

जसपाको विवादबारे फरकधारले एकजना अध्यक्ष उपेन्द्र यादवसँग सोधेको थियो। उनले पार्टी फुट्न सक्ने बलियो आधार बन्दै गरेको संकेत गरेका छन्। 

‘पार्टी विवाद उत्कर्षमा पुगको छ, फुटलाई नकार्न सकिँदैन। केही विदेशी शक्तिहरु पार्टी फुटाउन जोडतोडले लागेका छन्', फरकधारसँग कुरा गर्दै यादवले भने,‘त्यसमा  हाम्रा केही नेताहरु प्रयोग भइरहेका छन्। उनीहरु आक्रमक भए जसपा फुट्छ।'

उनले पार्टी एकता जोगाउन आफूले सबै प्रयास गर्ने बताए। 'तर त्यसअघि  पार्टी एकतालाई जोगाउन भरपूर कोसिस गर्छु', उनले सुनाए, 'अझै पनि पार्टी एक हुने ठाउँ छ, त्यो ठाउँमा गएर सहमति गर्न सक्ने सम्भावना सकिएको छैन।' 

उनले पार्टी बचाइराख्न दुई हातले ताली बज्नुपर्ने तर्क गरे। 'पार्टी एकता बचाउने हो भने दुवै हातले ताली बज्नुपर्छ, एक हातले बजाएर हुँदैन', यादवले भने। यादवको यो प्रतिक्रियाले जसपाभित्रको विवादको गहिराइ आँकलन गर्न सकिन्छ।

पार्टी फुट्दैन : महन्थ ठाकुर 

पार्टीको विवादलाई लिएर फरकधारसँग कुरा गर्दै जसपाका प्रथम अध्यक्ष ठाकुरले पार्टी कुनै हालतमा नफुट्ने प्रतिक्रिया दिए। ‘जसपा कुनै हालतमा फुट्दैन, फुट्ने केही त्यस्तो काम पनि भएको छैन', उनले भने, 'पार्टी एकता कायम रहन्छ, अहिले केही समस्या देखिएको छ, त्यो सबै २/४ दिनमै क्लियर भएर हुन्छ।’ 

विवादको जड के ?

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर २०७७ वैशाखमा जसपा बनेको थियो। तर एकताको एक वर्षमै जसपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगिसकेको छ।

यो विवादको सुरुवात भयो- २०७७ फागुन २३ बाट। यो दिन सर्वोच्च अदालतको फैसलाले नेकपालाई साबिककै दलमा फर्किने फैसला गर्‍यो। यो फैसलाको असरले नेकपा त खारेजीमै पर्यो भने संसदको अंक गणितमा पनि गम्भीर असर देखियो। नेकपा नेतृत्वको बहुमतको सरकार गठबन्धनमा परिणत हुँदा संसदमा एकाएक जसपा निर्णायक शक्तिमा परिणत भयो। 

सत्ताको खेलमा निर्णायक बनेपछि जसपामा विवादको बीजारोपण भयो। संसदको यही अंकगणितका कारण जसपाको ठाकुर समूह ओली सरकारसँग नजिकियो भने यादव समूह ओली हटाउने अभियानमा लाग्यो। 

यही तानातानबीच करिब २ महिनासम्म ठाकुर र यादवबीच कलह चलिरह्यो। जुन कुरा प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा संसदमा छताछुल्ल भयो। २७ वैशाखमा ठाकुर तत्कालीन राजपाको अवस्थामा पुगे भने यादव तत्कालीन संघीय समाजवादीको अवस्थामा फर्किए। यहाँनिर ठाकुरले ओलीको पक्ष विपक्षमा नउभिई तटस्थ बसे भने यादवले ओलीको विपक्षमा मतदान गरे। 

जसपामा प्रष्टसँग फुटको अभ्यास यही दिनबाट सुरु भयो। दुवै समूहले सांसदहरुलाई ह्वीप त नलगाउने निर्णय लिए तर आन्तरिक रुपमा आफ्नो पक्षका सांसदलाई कडा निर्देशन दिएर तटस्थ र विपक्षमा उभ्याए।

त्यो दिन दुवै पक्षमा १५/१५ जना सांसद देखिएका थिए। तर त्यसपछि ठाकुरले कांग्रेस-माओवादीलाई फेल खुवाउन यादव समूहका समेत सांसद तान्न सफल भए। उनले यादव समूहका सांसद तानेर २० जनाको उपस्थितिमा बहुमतसहित राजेन्द्र महतोलाई दलको नेता बनाए। 

वैशाख २७ देखि नयाँ सरकारको खेलमा लागेका उपेन्द्र यादवलाई फेल खुवाउन ठाकुरले उनको समूहका पनि सांसद तान्न सफल भएका थिए। यही तानातानबीच वैशाख २७ गते माओवादी र कांग्रेससँग मिलेर सरकार बनाउन खोजेपछि ठाकुरले ओलीसँग मिलेर त्यसलाई फेल बनाइदिए। 

यादव समूहले नयाँ सरकार बनाउने कोसिस गरेपछि २८ वैशाखमा ठाकुरले विज्ञप्ति निकाल्दै भने, 'हाम्रो पार्टी अहिले सरकार निर्माणको खेलमा लाग्दैन।' ठाकुरले विज्ञप्ति मात्रै निकालेनन् २९ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दलको नेताको हैसियतमा चिठ्ठी लेखेर यादवलाई आधिकारिकता नदिन अपिल नै गरे। 

ठाकुर समूह ओलीसँग मिलेर सरकारको निर्माणको खेलमा तटस्थ बसिदिएपछि उपेन्द्र समूहको योजना तुहियो। ठाकुर समूहको बलियो साथ र माधव नेपालका सांसदहरु राजीनामाबाट ब्याक भएपछि ओलीले तेस्रो कार्यकालका लागि अल्पमतको सरकारको नेतृत्व सम्हाले।

ओलीलाई सघाएका ठाकुरविरुद्ध बदला लिन यादव समूहले कार्यकारिणी समितिको बैठक बोलाएका छन्। आफ्नो बहुमत रहेको कार्यकारिणी समितिबाट ठाकुर-महतोलाई कारबाही गर्ने गरी यादवले तयारी थालेका छन्। दुवै पक्ष एकअर्कालाई असफल  बनाउन लागिरहेका बेला जसपा भने फेरि फुटको मुखमा पुगेको छ।

  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार १८:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया