वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।
पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शवदाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन्।
कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेका बेला वन मन्त्रीको यस्तो निर्देशन आएको हो। त्यस क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउन कम्तिमा एक महिनालाई दाउरा पुग्ने बताए।
'रौतहट र बाराबाट दाउरा ढुवानी भएर आउँदैछ, आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्छ', उनले भने। अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउन पहल भइरहेको महाप्रबन्धक पौडेलले बताए।
पछिल्लो दुई/तीन यता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।
पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको बताए।
'कोभिड नभएकाको शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेको थियो', उनले भने, 'अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ।'
उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउरा ल्याउन पहल गरिरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।