वीर अस्पतालसँग चौधरी फाउन्डेसन र नबिल बैंकको सम्झौता
वीरमा नयाँ अक्सिजन प्लान्ट र कोभिड आईसियु बन्‍ने

काठमाडौं : चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे। वीरमा नै अक्सिजन प्लान्ट राख्न नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले अर्को समझदारी पत्रमा हस्ताक्षर गरे

यसअघि नै वीर केन्द्रीय कोभिड अस्पताल भइसकेको छ। तीन पक्षबीच वीरको नवनिर्मित ५ सय शय्याको भवनमा अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन समझदारी भएको हो।

अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर-प्रतिघण्टा रहने वीरले जनाएको छ। यो सम्झौतापछि तयार हुने प्लान्टबाट एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने भएको छ। 

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोना महामारीसँग जुधिरहेका बेला सहयोग गर्न पाउँदा खुसी मिलेको बताए। 'कोरोना परास्त गर्न हाम्रो संयुक्त प्रयास जरुरी छ', उनले भने, 'हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालसँग सहकार्य आवश्यक छ।'

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकप्रति आभार जनाए। 'कठिन घडीमा कोरोना संक्रमितको उपचारका लागि आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिलको निर्णयको स्वागत गर्दछौं', उनले भने, 'यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिने विश्वास लिएका छौँ।'



नबिलका सीईओ शाहले केन्द्रीय कोभिड अस्पतालमा अब अक्सिजन अभाव नहुने बताए। 'जताततै अक्सिजन हाहाकारको खबरले हामीलाई पिरोलिरहन्छ', उनले भने, 'हामी अहिले अक्सिजनकै व्यवस्थापनमा जुटेका छौँ।'



  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १३:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया