एक हजार पर्ने इन्जेक्सन दुई हजारमा बेच्दै रामजानकी अस्पताल

कोराना संक्रमितको उपचारमा आवश्यक पर्ने ‘एनोक्सापारिन ६० एमजी’ इन्जेक्सनको जनकपुरधामस्थित रामजानकी हस्पिटलले कालोबजारी गरिरहेको पाइएको छ ।

बिरामीका आफन्तले हस्पिटलबाट एक पिस इन्जेक्सन २ हजारमा किन्नुपर्ने बाध्यता रहेको दुःखेसो सुनाए । जबकि सो इन्जेक्सनको बजार मूल्य १ हजार रुपैयाँ मात्रै  छ ।

जनकपुरधाम बजारमा अहिले उक्त इन्जेक्सन संक्रमितका आफन्तलाई पाउन सकस भएको छ । तर, केही अस्पतालहरूले भने यसको कालोबजारी जारी राखेका छन् ।

‘डाक्टरले एनोक्सापारिन ६० एमजी ल्याउन आग्रह गर्नुभयो,’ एक संक्रमितका आफन्तले भने, ‘सोही हस्पिटलमा भर्ना रहेका संक्रमितका लागि आफूले फार्मेसीमा जाँदा २ हजार रुपैयाँ माग्यो । संक्रमितको जीवन रक्षाका लागि भए पनि सो इन्जेक्सन २ हजारमा किन्न बाध्य भएको छु ।’

यस सम्बन्धमा फोनमार्फत् हस्पिटलसँग बुझ्न खोज्दा फार्मेसीका कर्मचारी सुजित यादवले सुरुमा आफ्नो फार्मेसीमा सो इन्जेक्सन उपलब्ध नरहेको प्रतिक्रिया दिए ।

तर, जब उनलाई जति पैसा लाग्छ त्यति दिन तयार रहेको बताएपछि उनले तपाईंले २ हजार तिरेर इन्जेक्सन लिनसक्नुहुन्छ भन्दै जवाफ फर्काए ।



उनले भने,  ‘बजारमा यस इन्जेक्सनको चरम अभाव रहेकाले हाम्रो हस्पिटलमा भर्ना भएका संक्रमितका आफन्तसँग १ हजार ५ सयदेखि २ हजारसम्म मूल्य लिइरहेका छौं ।’

यता, औषधी व्यवसायी समेत रहेका जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार साहले औषधीमा कसैले कालोबजारी गरिरहेको भए त्यो अक्षम्य अपराध रहेको बताए ।



उनले कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । ‘यस्तो कठिन स्थितिमा सबैले एकअर्कालाई सहयोगको भावना राख्नुपर्दछ,’ उनी भन्छन्, ‘बजारमा अभाव रहेको अवस्थामा पनि कसैले औषधीको निर्धारित मूल्यभन्दा बढी लिएर कालोबजारी गर्न पाउँदैन ।’

  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १४:२२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया