कोरोना भाइरसको महामारीका बीच वीरेन्द्रनगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ सहित अन्य वडाहरूले रोजगारीको काम अघि बढाएका छन् । वडा नम्बर ६ ले बजार क्षेत्रमा सडकको नाला सफा गर्ने, फोहोरलाई व्यवस्थापन गर्ने, ढल निकासी गर्ने, वाल लगाउने जस्ता काम सुरु गरेको छ ।
वडामा रहेका अति नै विपन्न परिवार जसले वार्षिक सय दिन पनि रोजगारी पाउँदैनन् त्यस्ता परिवारलाई प्राथमिकतामा राखेर रोजगारी दिएको वडा नम्बर ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले बताए ।
‘हामीले रोजगार कार्यक्रम वैशाखबाटै सुरु गरेका छौँ’, वडा अध्यक्ष कँडेलले भने, ‘बढीमा सय दिन रोजगारी दिन सकिन्छ कि भन्ने हाम्रो लक्ष्य हो । यो कार्यक्रममा २० देखि २५ जना सहभागी हुनुहुन्छ । वडाका सबै क्षेत्रमा उहाँहरूले काम गरिराख्नु भएको छ ।’
‘गत वर्ष लामो समयसम्म लकडाउन हुँदा राहत वितरण गरियो,’ कँडेलले भने, ‘अहिले त्यो गर्न सक्ने अवस्था छैन । काम गरेर खाने परिवारलाई कार्यक्रम सुरु भएपछि केही राहत हुन्छ भनेर हामीले निरन्तरता दिएका छौँ । ज्यालाका लागि मात्रै बजेट आएकाले पूर्वाधार निर्माणका काम गर्न सकिएको छैन ।’ ज्यालाका लागि आएको बजेट अन्य क्षेत्रमा खर्च गर्न नमिल्ने भन्दै वडा अध्यक्ष कँडेलले निर्माणको काम गर्दा चाहिने सामग्री किन्ने बजेट नहुँदा निर्माणका काम गर्न नसकिएको बताए ।
वीरेन्द्रनगर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रत्येक वडामा ८ लाख ९० हजारका दरले बजेट छुट्याएको बताएको छ । नगरपालिकाका रोजगार संयोजक खगेन्द्र केसीले १६ वटा वडामा ८ लाख ९० हजारका दरले १ करोड ४२ लाख ४० हजार बजेट छुट्याएको बताए ।
रोजगार कार्यक्रमका लागि १ करोड ५२ लाखभन्दा बढी बजेट आए पनि बाँकी बजेट नगरस्तरीय योजनाका लागि छुट्याइएको उनको भनाइ छ । साथै उनले मापदण्ड अनुसारको पारिश्रमिक प्रत्येक कामदारको खातामा पढाउने समेत बताए ।
नगरमा मुख्यमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रम दुवै सुरु भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘नगरका सबैजसो वडामा दुवै कार्यक्रम सुरु भएका छन् । केही वडाले तयारी गर्दै छन्,’ नगरप्रमुख सुवेदीले भने, ‘मुख्यमन्त्री रोजगारीका लागि झण्डै ८ करोड बजेट आएको छ ।
त्यसबाट उचित निर्माणको काम हुनेछ ।’ मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधिले ६० प्रतिशत रकम ज्यालामा भुक्तानी गर्नुपर्ने भएकाले पूर्वाधार निर्माणको सामग्री किनेर काम गर्न गाह्रो भइरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।