कोटेश्वर पुगेका बादललाई नेपालले हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्
पर्सि राष्ट्रियभा उपनिर्वाचन हुँदै

गृहमन्त्री एवम् राष्ट्रियसभाका उम्मेदवार रामबहादुर थापा 'बादल'ले मंगलबार बिहान कोटेश्वर पुगेर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्। 

पुस ५ मा संसद विघटनपछि माओवादी छाडेर एमालेमा आएका बादलले बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यमा लड्दैछन्। माओवादीले राष्ट्रिय सभा सदस्य पद खोसिदिएपछि त्यही स्थानमा एमालेबाट उम्मेदवार बनेका बादलले निर्णायक मानिएका नेपाललाई भेटेर सहयोग मागेका हुन्। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चर्को विवाद चलिरहेका बेला नेता नेपालले बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि कांग्रेस र माओवादीको समर्थन लिएर आफूनिकट डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका थिए।

तर एमालेमा देखिएको विवाद एक सातायता समाधानको दिशामा जान थालेपछि महासचिव ईश्वर पोखरेलले सोमबार बादललाई भोट हाल्न भन्दै ह्वीप जारी गरिसकेका छन्। पार्टीबाट ह्वीप जारी भएको भोलिपल्ट कोटेश्वर पुगेका बादलले आफूलाई जिताउन भन्दै नेता नेपालसँग सहयोग मागेका हुन्। 

बादलका प्रेस संयोजक किरण भट्टराई का अनुसार पर्सि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनबारेमा दुई नेताबीच कुरा भएको छ। 'वरिष्ठ नेता नेपाल र  गृहमन्त्री आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ', उनले भनेका छन्, 'भेटवार्ता पार्टीको आन्तरिक  विषय र यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा केन्द्रित थियो।'

उनले  भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएको दाबी पनि भट्टराईले गरेका छन्। 'नेता नेपालले पूरा सघाउने बताउनुभएको कुरा गृहमन्त्री बादलले जानकारी दिनुभयो', उनले भने, 'भेट सकारात्मक रहेको छ।'



एमाले मिलाउन सिंहदरबारमा ३१ वैशाखमा बसेको बैठकमा उपस्थित बादललाई नेता नेपालले स्वागत गरेका थिए। एमालेमा आफूलाई स्वागतका शब्द व्यक्त गरेका नेपाललाई भेट्न पुगेका बादल उपनिर्वाचन जित्नेमा ढुक्क देखिएका छन्।

यता भेट्न आएका बादललाई नेता नेपालले मन नदुखाइ पठाएको दाबी उनीनिकट स्रोतले गरेको छ। उनका एक सहयोगीका अनुसार बादलका कुरा सुनेपछि नेता नेपालले 'हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्।'



नेता नेपाललाई भेटेर फर्किएका बादललाई जिताउने रणनीति अहिले एमालेको ओली पक्षले बनाइरहेको छ। एमाले एक भएर भोट हालेमा बादलले बागमतीबाट राष्ट्रियसभामा सजिलै चुनाव जित्ने अवस्था छ। 

  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार १६:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया