नेपाल राष्ट्र बैंकले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि हाल देशका विभिन्न स्थानमा जारी निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने बताएको छ।
राष्ट्र बैंकले कोभिड-१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञाभर र सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको असुली वा लिलामी सम्बन्धी सूचना निकाल्न नपाउने नियम पनि लागू गरेको छ।
बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट, अक्सिजन प्लान्ट खोल्न कर्जा माग भए आधार दरमा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड र अक्सिजन प्लान्ट खोल्न २० करोडसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गरिने राष्ट्र बैंकले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।