माधव नेपालको अडान : खिमलाल छाडेर बादललाई उम्मेदवार मान्दिनँ
यस्तो छ प्रदेश र स्थानीय तहमा मतदाताको अंकगणित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवार रामबहादुर थापा बादललाई सघाउन नसक्ने बताएका छन्। आज बिहान कोटेश्वरस्थित निवासमा भेट्न आएका एमाले उम्मेदवार बादललाई उनले सघाउन नसक्ने बताएका हुन्।

माओवादी, कांग्रेस र जसपाको साथ पाएर आफूनिकट डा. खिमलाल देवकोटा राष्ट्रियसभाको उम्मेदवार रहिसकेकाले बादललाई सघाउन नसकिने जनाउ उनले दिएका हुन्। 

नेपालको तर्फबाट उनको सचिवालयका मोहन गौतमले पर्सि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा बादलले सहयोग मागेको जानकारी दिएका छन्। तर उक्त निर्वाचनमा आफ्नै समूहका खिमलाल उम्मेदवार रहेकाले एमालेका आधिकारिक उम्मेदवार बादललाई सघाउन नसकिने उत्तर नेपालले दिएका हुन्। 

'आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आएर पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भन्‍नु भयो', गौतमले नेपालसँगको भेटबारे भनेका छन्, 'पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो।'

त्यसपछि बादलले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौँ भनेर प्रस्ताव राखेको पनि गौतमले खुलाए। 'कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो', गौतमले अगाडि भनेका छन्, 'मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ। कतिपय स्थान र मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन।'

बादलको दाबी 



पुस ५ मा संसद विघटनपछि माओवादी छाडेर एमालेमा आएका बादलले बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यमा लड्ने भएपछि आज सहयोगका लागि नेपालकहाँ पुगेका थिए। माओवादीले राष्ट्रिय सभा सदस्य पद खोसिदिएपछि त्यही स्थानमा एमालेबाट उम्मेदवार बनेका बादलले निर्णायक मानिएका नेपाललाई भेटेर सहयोग मागेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चर्को विवाद चलिरहेका बेला नेता नेपालले बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि कांग्रेस र माओवादीको समर्थन लिएर आफूनिकट डा. देवकोटालाई उम्मेदवार बनाएका थिए। नेता नेपालकै निर्देशनमा देवकोटाले उम्मेदवारी फिर्ता लिएका छैनन्। 



तर एमालेको विवाद समाधानको दिशामा जान थालेपछि महासचिव ईश्वर पोखरेलले सोमबार बादललाई भोट हाल्न भन्दै ह्वीप जारी गरिसकेका छन्। पार्टीबाट ह्वीप जारी भएको भोलिपल्ट कोटेश्वर पुगेका बादलले आफूलाई जिताउन नेता नेपालसँग सहयोग मागेका थिए।

बादलका प्रेस संयोजक किरण भट्टराईका अनुसार नेता नेपालले सहयोग आश्वासन दिएका छन्। नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएको दाबी पनि भट्टराईले गरे। 'नेता नेपालले पूरा सघाउने बताउनुभएको कुरा गृहमन्त्री बादलले जानकारी दिनुभयो', उनले भने, 'भेट सकारात्मक रहेको छ।'

एमाले मिलाउन सिंहदरबारमा ३१ वैशाखमा बसेको बैठकमा उपस्थित बादललाई नेता नेपालले स्वागत गरेका थिए। एमालेमा आफूलाई स्वागतका शब्द व्यक्त गरेका नेपाललाई भेट्न पुगेका बादल उपनिर्वाचन जित्नेमा ढुक्क देखिएका छन्।

नेता नेपाललाई भेटेर फर्किएका बादललाई जिताउने रणनीति अहिले एमालेको ओली पक्षले बनाइरहेको छ। एमाले एक भएर भोट हालेमा बादलले बागमतीबाट राष्ट्रियसभामा सजिलै चुनाव जित्ने अवस्था छ। 

के छ अंक गणित ?

मतदाता संख्या

६ जेठको राष्ट्रियसभाको उपनिर्वाचनका लागि बागमती प्रदेशसभामा १ सय १० सांसदले मतदाताका रुपमा भोट हाल्ने छन् । ती सांसदमा एमालेका ५७ जना छन्। जसमा नेपाल समूहमा २२ सांसद छन् । 

प्रदेशसभामा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् । विवेकशील साझासँग ३, राप्रपा र नेमकिपासँग २ जना सांसद छन्। जसपासँग १ सांसद छन् । बागमतीमा राप्रपाले एमाले उम्मेदवार बादललाई भोट हाल्ने निर्णय लिइसकेको छ। 

मतदातालाई स्वविवेक प्रयोग गर्न दिने हो भने एमालेका उम्मेदवार बादलको पक्षमा ३५ सांसदले भोट हाल्नेछन्। विपक्षी गठबन्धन कांग्रेस, माओवादी, एमाले नेपाल समूह र जसपाका ६८ सांसदले देवकोटालाई भोट दिनेछन्। विवेकशील साझा, नेमकिपासहित ५ सांसदले कसलाई रोज्छन् अझै पक्का भएको छैन।

स्थानीय तहमा एमालेका सबै मतदाता १ सय ३३ जना छन्। यहाँ कांग्रेसका ६७, माओवादी ३३ र जसपाका १ मतदाता छन् । राप्रपा र नेमकिपाका २-२ मतदाता छन्। राप्रपाको भोट बादलले पाउनेछ। स्थानीय तहका २ सय ३८ मतदातामा एमालेका १ सय ३३ जना छन्। विपक्षी गठबन्धनमा १०१ मतदाता छन्। 

स्थानीय तहमा १३३ मतदातामा ओली पक्षमा ८७ जना छन्। उता नेपाल पक्षमा स्थानीय तहका ३८ जना छन्। यस्तोमा एमाले मिल्दै गएका बेला नेपाल समूहनिकट कति मतदाताले स्वविवेक प्रयोग गर्लान् ? त्यो निश्चित भएको छैन। 

एमालेको विवाद मिल्दै गएकाले केही मतदाता बादलको पक्षमा बढ्ने पक्का छ। तर नेपाल पक्षको यो अडानले जितको पल्ला कतातिर भारी हुने हो? अनिर्णित भएको छ। 

  • प्रकाशित मिति : जेठ ४, २०७८ मंगलबार २०:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया