आफन्तले दिए अपहरणको खबर तर प्रहरीले सुनेन, बालक दाजुभाइकै हत्या
राति नै खबर पाउँदा पनि निस्किएन प्रहरी

बारामा अन्सारी दाजुभाइको हत्या भएको २४ घण्टा भन्दा बितिसकेको छ। तर प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन।

बालक अन्सारी दाजुभाइको मंगलबार हत्या भएको थियो । कलैया उपमहानगरपालिका वडा नम्बर-७ रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको हो ।  

सोमबार साँझ साढे ७ बजे घरबाट निस्किएका दाजुभाइको शव मंगलवार बिहान घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले नै जानकारी दिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्या भएका ती दाजुभाइको उमेर ९ र ७ वर्ष रहेको खुलेको छ। 

बारा प्रहरीका अनुसार ९ वर्षीय आमान अन्सारी र ७ वर्षीय उसमान अन्सारीको शव भेटिएको हो। मृतकका काका नेजारुल अन्सारीका अनुसार उनीहरु खेल्न घर नजिकैको स्कुलमा गएका थिए । त्यही बेलादेखि उनीहरु बेपत्ता थिए।

राती अबेरसम्म घर नफर्केपछि उनीहरुको खोजबिनका लागि सहयोग माग्दै मृतकका काका नेजारुल अन्सारी राति नै जिल्ला प्रहरी कार्यालय पुगे । प्रहरी कार्यालयको कन्ट्रोल रुममा उनले भने,‘हाम्रा भतिजा साँझदेखि हराएका छन्, अहिलेसम्म घर आएका छैनन्, खोजीदिनुस।’ 

यस्तो समस्या सुनाएका उनलाई ड्युटीका प्रहरी अधिकारीले भने,‘हुन्छ, तपाईँ जानुस्। हामीले प्रहरी खटाइसक्यौ। तर भोलि बिहान निवेदन र केटाहरुको फोटो लिएर आउनुहोला।’ 



अन्सारी दाजुभाइका परिवारमा आमाबुबासहित ६ जना छन्। जसमध्ये बुवा अब्दुल गफार अन्सारी वैदेशिक रोजगारको सिलसिलामा अढाई वर्षदेखि कतारमा छन् । कोरोनाले आफन्तको मृत्यु भएपछि आमा मीना खातुन पनि जीतपुर नजिकै हिजै माइती टेडा पुगेकी थिइन्। 

आमा बेहोस



आफन्तको दाहसंस्कारपछि सोमवार राति नै आमा घर फर्किइन्। तर घरमा उनको होस उड्ने घटना भइसकेको थियो। राति अबेरसम्म घरमा छोराहरु नआएपछि उनको मनमा चिसो मात्रै पसेन, डर पनि उत्तिकै लागिरहेको थियो।

हराएको खबर सुन्‍नासाथ आमासहित सबै परिवार छोरा भेटिने आशामा रातभर खोजीमा जुटे। तर मीनालाई के थाहा उनको त्यो प्रयास सधैँका लागि घाउमा परिणत हुँदै गरेको कुरा। उनको जीवनमा बज्रपात भयो, दुवै छोरा जीवित भेटिएनन्। 

बिहान प्रहरी कार्यालयमा दाजुभाइको हत्याबारे खबर आयो। त्यसपछि सुरु गर्‍यो प्रहरीले अनुसन्धानसहितको अन्य प्रक्रिया, जुन अहिले पनि निरन्तर छ।

रहस्यमय घटना !

बारा सदरमुकाम कलैयास्थित प्रहरी कार्यालयबाट मृतक दाजुभाइको घर करिब ३/४ किलोमिटर दूरीमा छ । जहाँ प्रहरी कार्यालयबाट गाडीमा पुग्न कम्तीमा ३ र बढीमा ५ मिनेट  लाग्छ। 

कोरोनाका कारण बारामा निषेधाज्ञा लगाइएकाले सडक खाली हुँदा यो समय अगावै पुग्न सकिन्छ । राति त झन् प्रहरीले अनावश्यक मान्छेलाई हिँडडुल गर्न दिएको छैन। 

तापनि प्रहरीको कमजोरीले रातिमा अपहरणमा परेका बालकहरूको हत्या नै भएको छ। यदि प्रहरी सडकमा निस्किएको भए पनि अपराधीहरूले यति क्रुर घटना गर्न सक्दैन थिए।

बालकहरू हराएको केही घण्टामा दुवै बालकको हत्याको घटना अहिले पेचिलो बनेको छ। यो घटनाको अनुसन्धानको सुई अब प्रहरीतर्फ पनि तेर्सिएको छ। 

कारण : पीडितले दिएको सूचनाअनुसार प्रहरी तत्कालै हर्कतमा नआउँदा एउटा गम्भीर घटनामा दुई बालकको ज्यान गएको छ। प्रहरीको लापरबाहीले हुर्किँदै गरेका बालकले ज्यान गुमाए। यदि अभिभावकले भनेकै समयमा प्रहरी सक्रिय भएको भए घटना टर्न पनि सक्थ्यो। 

प्रहरीको गम्भीर लापरबाही

अन्सारी दाजुभाइ सोमवार साँझदेखि बेपत्ता भए । जसको खबर प्रहरीलाई २ घण्टा ढिलो गयो । अर्थात् करिब साढे ९ बजे प्रहरीलाई घटनाको बेलीविस्तार सुनाइयो । प्रहरी अधिकारी कोही नभएकाले पीडितले ‘कन्ट्रोल रुम’ मा जानकारी गराए।

संवेदनशील घटना सुनेपछि प्रहरी तुरुन्त ‘एक्सन’ मा जानुपर्ने हो तर त्यो गतिमा प्रहरी निस्किएन। जुन कुरा घटनाले मात्रै पुष्टि गरिरहेको छैन, उनीहरुको घर परिवारले बताइरहेका छन्।

‘भतिजाहरूको खोजबिनमा जसरी प्रहरी सिरियस हुनुपर्थ्यो, त्यसरी हुँदै भएन, हामीले हराएको खबर गर्‍यौँ । प्रहरीले टिपोट मात्रै गर्‍यो', मृतकका काका नेजारुलले भने,‘हाम्रो सूचनापछि न कुनै प्रहरी खटाइयो, न कुनै खोजबिन नै भयो। यदि प्रहरी ‘सिरियस’ भएको भए यो घटना नहुन पनि सक्थ्यो।'

नेपाल प्रहरीका पूर्व अधिकारीहरु खबर हुँदा हुँदै पनि प्रहरीले बेवास्ता गर्दा हत्या जस्ता अपराध हुनु गम्भीर लापरबाही हो। 

'एक त यस्तो घटना नै हुनु नै हुँदैन। यस्तै घटना रोकथाम गर्ने मुख्य जिम्मेवारी प्रहरी को हो', एक अधिकारीले भने, 'घटनाबारे खबर आउँदा पनि प्रहरी संवेदनशील भएर नलाग्दा ज्यान गएको छ, यसको दोष प्रहरीमाथि पनि आउँछ।’ जिम्मेवार निकायले छानबिन गरेर प्रहरी कमान्डरलाई कारबाही गर्नुपर्ने उनीहरुको मत छ।

ढाकछोप गर्दै एसपी शाही

बाराका एसपी दीपेन्द्र शाही भने घटनाबारे अनुसन्धान भइरहेको भन्दै पन्छिन खोजे। फरकधारसँग कुरा गर्दै उनले भने, 'घटनाको खबर आउनासाथ खोजबिनमा लाग्यौँ, तर नतिजा प्राप्त हुन सकेन', उनले भने, 'तैपनि अझै अनुसन्धान गर्दैछौँ, चाँडै नतिजा पनि आउने सम्भावना छ।’ 

खोजबिनका लागि भएका प्रयासबारेमा उनले गोलमटोल जवाफ दिए तर विस्तृत बताउन मानेनन्। एसपी शाहीले पीडित परिवारसँग मिलेर खोजबिन गरेको बताए पनि मृतकका काकाले खबर गर्दा पनि प्रहरी नै नआएको बताएका छन्। 

तीन महिनामा ५ हत्या

बारामा पछिल्लो तीन महिनामा ५ वटा हत्याका घटना भएका छन्। बारामा अन्सारी दाजुभाइसहित, निजगढ, भलुही, सिमरा र बरियापुरमा हत्याका घटना भएका छन्। 
यी घटनाले जिल्लाको शान्ति सुरक्षामा शाहीको कमाण्डमाथि पनि प्रश्न उठाएका छन्। 'प्रहरी कमाण्डर चुस्त हुने बित्तिकै यस्ता घटना स्वत: घट्छन्', एक अधिकारी भन्छन्, 'प्रहरीलाई सुव्यवस्थित रुपमा परिचालित गरिनुर्छ।'

एसपी शाही यसअघि कुनै जिल्लामा कमाण्डका रुपमा नबसेकोले बारामा उनीमाथि सुरक्षा कायम गर्ने चुनौती थपिएको छ। भारतीय सीमा क्षेत्रमा पर्ने बारामा शान्ति व्यवस्था कायम गर्नु कठिन मानिन्छ। 

प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले घटनाको गहन रुपमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले पनि प्रहरीमा खबर आउनेबित्तिकै अनुसन्धानमा प्रहरी सक्रिय बनेको दाबी गरे।

तर हत्या जस्तो घटनाले आफूलाई पनि गम्भीर बनाएको उनले बताए। 'तर अब चाँडै दोषीलाई समाउँदैछौँ, त्यसपछि सबै कुरा बाहिर आउनेछ,’ उनले भने।  

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १५:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया