राष्ट्रियसभा उपनिर्वाचन : प्रधानमन्त्रीले नै गरे मौन अवधिको उलंघन
निर्वाचन आयोगले हिजै सचेत गराइसकेको थियो

यही जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले सोमबार रातिबाट नै मौन अवधि सुरु गरिसकेको छ। उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेको अवस्थामा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार बिहान दुई पन्ने अपिल निकाले । 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन गर्दै ओलीले एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल'लाई जिताउन अपिल गरेका हुन्। निर्वाचन आयोगले हिजै विज्ञप्ति निकालेर दलहरूलाई मौन अवधि पालना गर्न गम्भीर ध्यानाकर्षण गराएको थियो।

आचारसंहिता उल्लंघन गर्दै मौन अवधिमा एमालेका उम्मेदवार बादललाई जिताउन ओलीले आग्रह गरेपछि आलोचना सुरु भएको छ। ओलीले एमालेकै माधवकुमार नेपाल पक्षले डा. खिमलाल देवकोटालाई साथ दिएपछि कडा शब्दमा अपिल निकालेका हुन्। 

निर्वाचन आचारसंहिता २०७२ अनुसार मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदाले ‘निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न हुँदैन।’ मौन अवधि सुरु भएको दुई दिनपछि प्रधानमन्त्रीले पार्टीको एमाले उम्मेदवारको पक्षमा मत मात्रै मागेनन्, यदि पार्टीको उम्मेदवारलाई मत नदिए क्षम्य नहुने चेतावनी पनि दिए।

के भने ओलीले 

'रामबहादुर थापा 'बादल' नेपाली कम्युनिष्ट आन्दोलनका एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको जितले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता बनाउन बल दिनेछ', ओलीले अपिलमा भनेका छन्, 'तसर्थ, एमालेका सबै पार्टी पंक्तिलाई एकतावद्ध भएर बादललाई जिताउन आग्रह गर्दछु।'



ओलीले उक्त दुई पन्ने अपीलमार्फत पार्टीको आधिकारिक उमेदवारविरुद्ध अर्को उम्मेदवारी दिइने कुरालाई स्वीकार्न नसकिने पनि चेतावनी दिएका छन्।



'पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइनु लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना भन्दा बाहिरको कुरा हो', ओलीले अपिलमा भनेका छन्, 'यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अपनाउने कुनै पनि पार्टीलाई स्वीकार्य या क्षम्य हुनै सक्दैन।'

आयोगको निषेध 

तर ओलीको अपिल आउनु अघिल्लो दिन नै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा प्रचार प्रसार निषेध गरेका छन्। 

मंगलबार विज्ञप्ति निकालेर मौन अवधिमा प्रचार प्रसार गर्न र भोट नमाग्न पनि दलहरूलाई आग्रह गरेका थिए। यदि मौन अवधि उलंघन गरेको पाइए कारबाही गरिने पनि उनले दलहरूलाई सचेत गराएका थिए। 

आचार संहिता

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,

३. एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,

४. उमेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,

५. उमेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

आयोगको ध्यानाकर्षण

मौन अवधिमा पनि मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चारमाध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर भनेका थिए।

उपनिर्वाचनको तयारी पूरा भएको जनाउँदै आयोगले मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ । तर मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर उलंघन गरेका छन्। 

तयारी 

बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता छन्। 

राष्ट्रिय सभा सदस्यका लागि एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस-माओवादी केन्द्रको समर्थनमा एमालेकै माधवकुमार नेपालनिकट खिमलाल देवकोटा प्रतिस्पर्धामा छन्। बादलले सूर्य चिन्हबाट लडिरहँदा एमालेकै देवकोटा स्वतन्त्र हैसियतमा कलम लिएर उठेका छन्। 

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १६:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया