राष्ट्रिय सभाको निर्वाचनको तयारी पूरा, कोभिड संक्रमितलाई छुट्टै बुथ

हेटौंडामा जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि हेटौँडा-४ स्थित भुटनदेवी माविमा हुने मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ हुने छन् । ‘क’ बुथमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन् भने ‘ख’ बुथमा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेश सभा सदस्य तथा, स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ हुनेछ । यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरूको पनि अनिवार्य पिसिआर परीक्षण गरिएको उनले बताएका छन् । निर्वाचन शान्त र सभ्य हुने दाबी गर्दै नमुना निर्वाचनको उदाहरण दिने उनले बताए ।  

मेरो जित सुनिश्चित : बादल 

भोलिको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौँडा-४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौँडा आएका हुन् । गृहमन्त्री तथा राष्ट्रिसभा उपनिर्वाचनका उम्मेदवार थापाले भोलि हुने निर्वाचनमा आफूलाई नेकपा एमालेको माधव नेपाल पक्षका सबै सांसदले मतदान गर्ने सुनिश्चित भएको दाबी गरेका छन् ।

आज हेटौंडामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले माधव नेपाल पक्षका प्रदेश सभाका सदस्यहरू र स्थानीय तहका जनप्रतिनिधिहरूले मतदान गर्ने सुनिश्चितता रहेको बताए । नेकपा एमालेकै उमेदवार भएकाले आफूलाई मतदान गर्नेमा कुनै शंका नै नरहेको बताउँदै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पनि आफूलाई मतदान गर्ने आश्वासन दिएको गृहमन्त्री थापाले बताए । 



हेटौंडामा चहलपहल

बादल दिउँसो हेटौँडा आइपुगेका हुन् । उनी हेटौँडा-२ स्थित एभोकाडो होटलमा बसेका छन् । यसअघि अर्का उम्मेदवार डा. खिमलाल देवकोटा पनि हेटौँडा आइसकेका छन् ।



नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौँडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिह्न दिएका छ भने बादल सूर्य चिह्नबाट चुनाव लड्ने निश्चित भइसकेको छ । यस्तै नेमकिपाका उम्मेदवार कृष्ण तामाङलाई मादल चुनाव चिह्न दिइएको छ । 

भोलिको चुनावका लागि निषेधाज्ञाको बाबजुद पनि हेटौंडाका ठूला होटल तथा लजहरू खोलिएको छ । प्रदेश भरिका स्थानीय तहका प्रमुख, उपप्रमुख हेटौंडा आउने क्रम जारी छ भने प्रदेश राजधानीमा प्रदेश सभा सदस्यहरू पनि आइपुगेका छन् ।

  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १९:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया